14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अचम्मको अमेरिका !

नियात्रा शरच्चन्द्र भण्डारी June 13, 2010, 8:01 am

विश्वको महाशक्ति मुलुक अमेरिकाको राजधानी वासिङ्टन डिसी पुग्दा साँझ झमक्कै परेको थियो । काठमाडौँ- व्याङ्कक-टोक्यो-अमेरिकी सहर डेट्रोइट हुँदै वासिङ्टन पुग्न २५ घन्टाभन्दा बढी लागेको थियो । यद्यपि थकाइ भने पटक्कै लागेको थिएन । सायद सपनाको मुलुकमा पहिलोपटक पाइला टेकेकोमा त्यसैत्यसै पुलकित एवम् रोमाञ्चित थिएँ ।

अमेरिका यात्रामा एकदिन एक रात विमानमा नै वितेको भएपनि पूर्वबाट पश्चिमतर्फ गएकाले त्यो दिन अँध्यारो अनुभव गर्नुपरेन । उज्यालोका कारण क्यानाडा र अमेरिकाको आकाशमा उडिरहँदा देखिएको जमिनको दृश्य साँच्चै मनमोहक थियो । समथर जमिन, हरिया जङ्गल कुनै कलाकारले वर्षौं लगाएर बनाएका चित्र जस्ता । तहतह र खण्डखण्डमा विभाजित खेतका गराझै लाग्ने भूवनोट । विमानबाट फुच्चे देखिएका गगनचुम्बी भवन अनि कमिलाको भन्दा कम थिएनन् मोटरहरूका लर्का ।

'अमेरिकी सञ्चार क्षेत्र, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारकर्मीको दायित्व' विषयक अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रमअन्तर्गत अध्ययन भ्रमणका सिलसिलामा अमेरिका पुग्दा मन फुरुङ्ग भएको थियो । केटाकेटी छँदा पिताजीले नयाँ कपडा र मीठामीठा खानेकुरा दिँदा खुशीले बुरुक्क उप|mेर हर्ष व्यक्त गरेको झल्झल्ती याद आयो तर त्यसो गर्न सकिन । डेट्रोइट अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेर अध्यागमनको प्रक्रिया सजिलै पूरा गर्न सफल हुँदा आफूलाई विश्वविजेता नै ठानेको थिएँ किनभने सन् २००४ मा न्यूयोर्क महानगरस्थित जुम्ल्याहा भवनमा भएको आतङ्कवादी आक्रमणपछि गैरअमेरिकीलाई घन्टौँ केरकार गरेर हैरान पार्ने रहेछन् अध्यागमन अधिकारीहरुले । झन् इस्लामिक मुलुकबाट आएकाहरूलाई त 'शङ्कास्पद, निगरानी गर्नुपर्ने' जस्ता बिल्ला उनीहरूका झोला र सुटकेसमा लगाई दिएर उनीहरूका सामान आˆनो नियन्त्रणमा लिदा रहेछन् ।

यात्री भलाद्यमी भएको र झोलामा केही नभएको सुनिश्चित गरेरमात्र हप्तौँपछि उनीहरूका सामान उनीहरूको ठेगानमा पठाइदिँदा रहेछन् । कस्तो अचम्म मान्छेलाई आˆनो भूमिमा प्रवेशको अनुमति दिने तर सामान नियन्त्रणमा लिने Ûत्यसरी परीक्षणका लागि लिइएका सामग्री हप्तौँपछि हातपर्दा पनि कुनै सामान तलमाथि नहुनुले चाहिँ अमेरिकीहरू साँच्चै इमान्दार हुँदा रहेछन् भन्ने प्रमाणित गर्दछ ।

एटलाण्टा विमानस्थलमा आˆना सबै सामान अमेरिकी अध्यागमन अधिकारीलाई बुझाएर एउटा सानो चिर्कटो लिएर वासिङ्टन आएका पाकिस्तानी मित्र अहमद खान एक हप्तासम्म एउटै कपडामा बस्नुपर्दा नराम्ररी झोक्किएका थिए -अमेरिकी सुरक्षा व्यवस्थाप्रति । अझ उनको राहदानीमा पनि 'निगरानी गर्नुपर्ने' छाप लाग्नाले भ्रमणको क्रममा न्यूयोर्कको जोनएफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै झन्भन्ट बेहोर्नु परेको थियो ।

'सरकारी पाहुना हुन् उनको जिम्मा हामी लिन्छौँ' विदेश मन्त्रालयका अधिकृतले बारम्बार भन्दा पनि अध्यागमन र सुरक्षा अधिकृतहरूले ज्यान गए छोडेनन् ,उनीहरूले आˆनो जिम्मेवारी निर्वाह गरेरै छाडे । विदेश मन्त्रालयका अधिकृतको अनुनयविनय बेकार भयो ।

शिशिर ऋतुको प्रारम्भमा अमेरिकालाई प्रकृतिले असाध्यै सुन्दर पार्दो रहेछ । सप्तरङ्गी जङ्गलले कसको हृदय आल्हादित नहोला ? केटाकेटीमा हरियो वन नेपालको धन पढेको सम्झे तर अहिले लाग्यो सप्तरङ्गी वन अमेरिकी धन !

शिशिर ऋतुको प्रारम्भ अगावै जङ्गलमा भएका थरीथरी रुख विरुवाका पात नीला, पहेँला, हरिया, राता हुँदा रहेछन् । मध्यशिशिरमा अस्थिपञ्जरको रूपमा परिवर्तन हुने ती बोटबिरुवा ।

अमेरिकी सरकारको निम्तोमा घुमफिर र अध्ययन भ्रमण गर्न पाएका वासिङ्टन न्यूयोर्क, डेट्रोइट, सानप|mानसिस्को, सिकागो, म्याडिसन, सेक्रेमेन्टोजस्ता महानगरहरूमात्र होइन मिलवाकी, मिजौरी, सेन्ट लुइस, ओकल्याण्ड जस्ता मध्यम सहर र आसपासका क्षेत्रमा पनि घना जङ्गल र गगनचुम्बी भवनको कमी रहेनछ ।

जमिनमुनिको सम्पूर्ण भूभागमा भूमिगत रेलमार्ग अनि त्यसैमाथि अति अग्ला र ठूला भवनलाई न्यूयोर्क सहरले आˆनो छातीमा सजिलै राखेको देख्दा जो कोहिलाई पनि अचम्म लाग्छ । संयुक्तराष्ट्रसङ्घको प्रधानकार्यालय र हडसन नदीको मुखमा रहेको स्वतन्त्रताकी प्रतिमूर्तिको मूर्तिले न्यूयोर्क पुग्ने जोकोहीलाई चुम्बकले झँै आकषिर्त गर्दछ ।

सर्वाधिक गगनचुम्बी भवनहरू भएको सहरको रूपमा चिनिने न्यूयोर्क महानगरमा मात्र होइन सानप|mानसिस्कोमा पनि चिनियाँहरूको बाहुल्य रहेछ । स्वयम्भू र बौद्धमा पाइने ससाना बुद्धका मूर्ति, सिन्केधुप र लामालामा ड्रागनले सजिएका प्रवेशद्वार देख्दा आश्चर्यको सीमा रहेन । अझ रोचक कुरा त के छ भने न्यूयोर्कको अतिव्यस्त एवम् व्यापारिक केन्द्र म्यानहृयाटन र वालस्टि्रटमा बलिष्ठ घोडाले लतत लिदी खसाल्दै टाँगा तानेकामात्र देखिएन कहीँकहीँ त ढल फुटेर फैलिएको दुर्गन्धबाट मुक्ति पाउन मानिसहरू नाक थुनेर आˆनो गन्तव्यतर्फ लम्कदैँ गरेका भेटिन्थे ।

सवारी साधनलाई निर्देश गर्न सडकका चोकचोकमा राखिएका 'ट्राफिक लाइट' राता हुन् वा हरिया तँछाडमछाड गर्दै सडक पार गरेको देख्दा काठमाडौँका आकाशेपुल मुनिबाट हिँड्नेहरूको ताँतीलाई बिस्र्याउँथ्यो ।

विश्वशक्तिकेन्द्रको रुपमासमेत आˆनो परिचय बनाएको अमेरिकासँग तिनै सप्तरङ्गी जङ्गल, ढुङ्गा, माटो, पोटम्याक, हडसन, मिसिसीपीलगायत नदीको पानी अनि त्यसमा जीवन पाइरहेको जलचर, कोलोराडोदेखि क्यालिफोर्नियासम्म फैलिएका बुथुरे पर्वत शृङ्खला, सहरैपिच्छे बनेका थरीथरीका अत्याधुनिक गगनचुम्बी भवनबाहेक केही भएजस्तो लागेन ।

पाँचतारेदेखि सामान्य होटल र मोटेलका स्नानागारमा राखेएका तौलिया 'मेड इन इजरायल', खुम्चेका कपडा मिलाउन राखिएको 'ईस्त्री' मनोरञ्जनका लागि बनाइएको बाकस -टिभी) कोरियामा निर्मित, सभासम्मेलन र गोष्ठीमा प्रयोग गरिने साउण्ड सिष्टम 'मेड इन थाइल्याण्ड' स्थिर र चलायमान क्यामराजस्ता विद्युतीय उपकरण मेड इन चाइना, जेट अवतरण गर्न नसक्ने साना विमानस्थलमा सञ्चालन हुने हवाइजहाज तथा तिनका पार्टपूर्जा ब्राजिलमा बनेका स्टिकर देखेपछि मलाई अचम्मको अमेरिका भन्न मनलाग्यो ।

अमेरिका यसकारण पनि अचम्मको लाग्यो किनभने ६० वर्ष नाघेका नागरिक सक्रिय जीवन बिताइरहका छन् । उनीहरु २० वर्षे लक्का जवान जस्तो खटिएर काम गरिरहेका भेटिन्छन् । त्यहाँ पुरुष कम महिला ज्यादा व्यस्त भेटिनुले हाम्रो पुरुषप्रधान समाजको दबदबा मेरो मानसपटलमा त्यसै घुमिरहेको थियो कहिले नेपाली नारी पनि पुरुषसरह सबै क्षेत्रमा स्थापित हुने भनेर । त्यसरी घोटिएर काम गरिरहेकाहरू अमेरिकी नभएर आप्रबासी हुन्भन्ने जानकारी विदेशमन्त्रालयका अधिकारीहरूबाट पाउँदा अझ चकित भएँ ।

संसारका सबै मुलुकका मानिसलाई स्वागत र सम्मान गरिरहेको अमेरिकामा ज्याला मजदूरी तथा सानातिना काम यिनै आप्रवासीले गर्दा रहेछन् । साँच्चै अमेरिकी त विरलै भेटिए मेरो एक महिने अमेरिका भ्रमणका क्रममा । 'ए ! उ त फलानो स्थानमा व्यापार पो गर्दै छ' यस्तै यस्तै जवाफ दिन्थे घरमुलीबारे सोधखोज गर्दा आप्रवासीहरू ।

आप्रवासी र करले धानेको अमेरिका ज्ञान र सीप आर्जनका लागि उपयुक्त भएपनि त्यहाँ जान मरिहत्ते गर्नेहरूले केही कुरा बुझ्नैपर्छ । सपनाको देश अमेरिकामा चुलो र शौचालययुक्त एउटामात्र कोठालाई 'स्टुडियो' भनिदो रहेछ जहाँ पाँचदेखि सातजना अति दुःख र कष्टका साथ रात बिताउँदा रहेछन् । विश्वका अधिकांश अविकसित मुलुकबाट गएका आप्रवासी त्यस्तै स्टुडियोमा गुजार चलाएर केही डलर बचाउँदा रहेछन् । अमेरिकाको स्टुडियो जीवन धन कमाउनेहरूका लागि सुविधाजनक भएपनि कतिका लागि स्वाभिमान बेच्नुसरह पनि त हो ।

गोरखापत्रबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।