19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिम्माको नाममा नयाँ चिठ्ठी

कविता इन्द्र नारथुङे June 14, 2010, 2:47 pm

तुँवालोको खास्टो ओढेर

सँधै गजधम्म बस्ने निनाम्मा

एक्कासी आधा उधारिएको देखेर

म अलिकति परिवर्तन भएको छु सिम्मा

सायद,

उज्यालोको क्यानभासमा

प्रतिविम्ब उतार्न थालेको छु

तिम्रो र मेरो ।

चौबन्दीको तुनामा तिमीले भिर्ने त्यो बिनायो

म पनि बजाउन चाहन्छु आज

सिम्मा,

भाका तिम्रै भए पनि

शब्द मेरो हुने छ त्यहाँ

आमाले सुनाउने मूलखाँबोको कथा

नक्छुङले फलाक्ने मुन्धुमहरु

थिविया चरीले बोहोरीको रुखमा बसेर कराउने

विरही स्वर

मेरो शब्दभित्र पक्कै हुने छैनन्

विश्वास गर सिम्मा

मेरो गीत तुवाँलो हटेको निनाम्मा जस्तै

सागर पोतिएको हुनेछ,

निराकार, निरामय, निरावृत,

निरालस्य, निरापद्, निराकुल.....

जहाँ हामी,

घाम सँगसँगै उदाउने छौं

घाम सँगसँगै अस्ताउने छौं ।

सिम्मा,

हामीले धेरै पुज्यौं दायलुङलाई

र,

थकाई मेट्न वालाखा पुग्यौं ।

साकेलामा नाच्यौं अनगिन्ती सिलीहरु

हुनसक्छ,

खर्कभरि बुकी फुल्दा

रहरहरु फुले होलान् तिम्रो र मेरो

तर एकदिन

गोठालाको खस्रो हातले निमोठियौं र,

दर्शनढुङ्गामा चकमकको ठ्याक्कसँगै बल्यौं झुलो बनेर ।

हो,

निनाम्मा उघ्रिएको बेला

मन उघार्नु पर्छ अब ।

के छैन हामीसँग

सबथोक छ

पूर्खाको विरासत

तोयामाखियामाको तान

र, घु¥यानमा सिस्नोको झाडी लुटिएको छैन अझै

यति हो,।

अरुको सुरक्षार्थ बुट बजार्दाबजार्दा दिमाग भुत्तिएको छ

सेहें मनहरुको मान राख्दाराख्दै सपना लुटिएको छ

त्यसैले त सिम्मा,

साकेला गीतको भाकाहरुमा

म नयाँ शब्दहरु थप्दै छु,

“सेल्मे र ट्याम्के हाराहार

अधिकार सबैको बराबर

सैसैला हो हुर्रा हाहा” ।

सिम्मा,

निनाम्मा उघ्रिएको बेला

सँघार नाघेर आँगनमा निस्कनु पर्छ आज

पाखाभरी राताम्य फुलेका गुराँशहरुसँग

हामी लिम्चिङबुङ दाँजिनु पर्छ

भत्काएर संस्कारका पर्खालहरु

ढलाएर शासकका शालिकहरु

च्यातेर नाटकका पर्दाहरु

रोकेर निरन्तरताका गतिहरु

एउटा नयाँ बिहानको संखघोष गर्नुपर्छ

सबैले छुन सक्ने

सबैको हुन सक्ने

त्यो विहान

बादल फाटेको निनाम्मा जस्तै

सागर पोतिएको हुनेछ

नराकार, निरामय, निरावृत

निरालस्य, निरापद्, निराकुल.....

जहाँ हामी

घाम सँगसँगै उदाउने छौं

घाम सँगसँगै अस्ताउने छौं ।

*****

किरात चाम्लिङ राई भाषाका शब्द र मिथकहरुको अर्थ

सिम्मा ---खुसे, कान्छी छोरी

निनाम्मा--आकाश

लिम्चिङबुङ--लेकमा फुल्ने एक प्रकारको वास्नादार फूल

वालाखा ----पानी भर्ने पँधेरो (किरात राईका बिजुवाहरुले मुन्धुम फलाक्दै

जाँदा पहिलो पल्ट बिसाउने ठाउँ)

मुन्धुम------किरातहरुको धर्म शास्त्र

तोयामाखियामा---एक किरात लोककथा भित्रका किराती दिदीबहिनी, छोरीचेली

साकेला------किरात राईहरुको बिजुवाले जमिन खोस्रेर निकाल्ने अण्डा आकारको ढुङ्गा, (जुन ढुङ्गाको रङ हेरेर शुभ अशुभ छुट्याईने गरिन्छ) ।

सिली-------साकेला नाच नाच्ने विधी

दायलुङ------चुल्हा, अगेना

नक्छुङ------किरात राई जातिको बिजुवा

मूल खाँबोको कथा---किरात राईहरुमा प्रचलित एक मिथक

थविया चरा र बोहोरीको रुख---किरात राईहरुमा प्रचलित एक मिथक

सेहें -----तलबितल परेर मृत्यु भएकाहरुको आत्मा, जसले बाँच्नेहरुलाई दुःख दिन्छ भन्ने भनाई छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।