19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्रासदी त्रासदी त्रासदी

कविता सुधीर छेत्री June 15, 2010, 12:52 pm

आज भर्जिनियाको समाचार-सारांश छ:

अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा तिस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु ।

कम्युनिष्ट मेनिफेष्टो काखि च्यापेर

सुदामा

इतिहासमा आफ्नो नाम हाइलाइट गरेर

हातमा स्केचपेन खेलाउँदै फर्केको स्वाभिमानी

राजा पुरुहरू

यो कालको बङ्करमा बसेर

आफ्नो प्राप्तिको एक्सरे-प्लेट हेरिरहेछन्

अनि च्यापिएको अरण्यकान्डले बेरेर

पिज्जा निलिरहेछन् ।

यो सहस्राब्दीले

मुखमा

बन्दुकको सिग्रेट झोसेर

मृत्युको धुवाँ फुकिरहेछ ।

शान्तिले आफ्नो कालो बुट सडकछेऊको कलिलो बालकलाई पालिस गर्न लाउँछ । विद्रोह पनि आदिवासी बालिकाले ढकढकाएको यौवनको दैलोमा ठूलो ताला भाषणको निम्ती स्क्रिप्ट तयार गर्दै तातो चियाको तलतल मेट्न चाहान्छ । काठे गुडियाको अनुहार भावशून्य रहिरहन्छ । पोस्टरका परेवाहरु चल्मलाउँदैनन् ।

मायाको दस्तावेजसित

एन्थ्र्या्क्स जान्छ दाह्राको एम्बुस बोकेर

अनि

सिनो गन्हाउँछ लाश बोकेर

इराकबाट

आउँछ

एयरपोर्टमा एउटा त्रासदी ।

भिडियो गेमको पर्दाबाट

कुनै बालकलाई

काउण्टर स्ट्राइकले

आधुनिकतम पिस्तोल थमाउँदै

बीभत्सरसको तातो जुस पिलाइरहेछ ।

स्कुलबाट

खेतबारीहरूबाट

थुर्रिएको गोलीको आवाजले

हावालाई मृत्युमय

रङ्ग दिएकोछ ।

जलेको बस

रगत पोतिएको सडक

चप्पलहरू र आरडीएक्स

फुटेको मादल र टीएनटी

कारगिल र सताइस जुलाई

११ सितम्बर

कलिङ्गसितै शहीद अशोक ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।