19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म जे छु

कविता खुसी मैनाली June 17, 2010, 1:27 pm

ओइलाई सकेको फूललाई भमराको के नै अर्थ र

सुगन्ध केवल फक्रन लागेको कोपिलामा मात्र हुन्छ

मखमली फूलको महत्व बुझ्दैनन् यहाँ कसैले अब

जुन युगौं युगसम्म सदाबहार रहिरहेको हुन्छ ।

त्यसैले ,

भो पर्दैन अब नयाँ माली मलाई

चाहिँदैन उजाडिएको सिन्दुर भर्न

डोलीमा सजिएर जानु छैन मलाई

सुन्दर बगैँचाको हरियालीमा आगो छर्न

पिंजडाको जन्जीरले कसीएको छु

हिँड्ने बाटाहरुमा बिछ्याइएका छन् काँडा

खर्चनु पर्दैन ब्यर्थ समय मेरो लागि

चाहिँदैन तिमीले सजाएर राखेको सयपत्रीको माला

जे छु ठिकै छु ,

प्यारो छ मलाई आप्नै एक्लो संसार

जस्तो छु बाँचिरहेकै छु ,

चाहिदैन कसैको आधार

छोडीदेऊ यदि कल्पनामा हराएका छौ भने

बिर्सीदेऊ यदि सपनामा सजाएका छौ भने

अथाह हिम्मतको पहाड छ ममा

संसारसँग लड्ने क्षमता बनाएको छु

स्वार्थि र पापीहरुप्रति घृणा छ ममा

उनीहरुसँग युद्ध लड्न फेरी जन्मेको छु ।

धरान १६, जनपथ टोल, हाल: इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।