14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

ढाकामा जे देखियो

नियात्रा तारानिधि पोखरेल June 17, 2010, 3:12 pm

गत मंसिरमा भएको घरेलु उद्योग महोत्सवमा उत्कृष्ट हुने घरेलु तथा साना उद्यमीहरूलाई औद्योगिक भ्रमणका लागि बंगलादेश लैजाने चाँजोपाँजो नेपाल घरेलु तथा साना उद्योग महासंघले मिलाएको थियो ।

सो टोलीमा जाने अवसर मलार्इृ पनि मिल्यो । नेपाल र भारतबाहेक तेस्रो मुलुकको भ्रमण गर्ने अवसर प्राप्त नभएको स्थितिमा बंगलादेश भ्रमण पनि मेरा लागि विदेशकको अनुभव पाउने मौका नै हो भन्ने लाग्यो । तर, बंगलादेशको ढाकासम्म पुग्न पूरै हवाई मार्ग नभएर हवाई र स्थल दुवै मार्गको रुट तय भएको थियो । १३ जनाको टोली थियो । कोही पूर्व इलाम झापातिरका, कोही सुदूरपश्चिम दार्चुलासम्मका उद्यमी टोलीमा सामेल थिए । त्यो पनि महिला, आदिवासी, जनजाति, मधेसी, दलित सबै समेटिएको समावेशी किसिमकै थियो ।

पहिलो दिन बिहान काठमाडौं एअरपोर्टबाट नेपालको पूर्वी जिल्ला झापाको भद्रपुर एअरपोर्टमा हाम्रो टोली अवतरण ग¥यो । एअरपोर्टबाट हामीलाई लिन टाटा सुमो ठिक्क बसिरहेको रहेछ । भद्रपुरबाट करिब आधा घन्टाको यात्रापछि पूर्वी नाका काँकरभित्ता पुगियो ।

त्यस दिनका लागि हामीलाई बस्ने व्यवस्था होटल मुनलाइटमा मिलाइएको रहेछ । होटल मालिक गौतमजी निक्कै सहयोगी र मिजासिला रहेछन् । हुन त उनको पेसाले पनि हो । त्यस रात नेपाली भूमिमै रात काट्ने निधो भयो । बेलुका बजार घुम्ने र मेची पुल निरीक्षण ग¥यौं ।

मेची पुलको बीचमा बसेर केही रमाइलो अनुभूति ग¥यौं । भारततिरबाट ल्याएका सामान कोही पुलमुनिबाट, कोही आँखा छलेर भन्सार कटाउने गर्ने रहेछन् । कतिपयको पेसा नै सामान वारपार गर्ने हुँदो रहेछ । बजार घुम्ने क्रममा उपहार दिनका लागि केही ढाका टोपी पनि किन्यौं । भोलि बिहान मेची पुल तरेर विदेशी भूमिमा प्रवेश गर्ने उत्सुकतासँगै मुनलाइट होटलमा नै रात काटियो ।

हाम्रो टोलीका नेता थिए महासंघका केन्द्रीय सदस्य सत्यनारायण प्रजापति । दोस्रो दिन बिहानै काँकरभित्ता अध्यागमनमा पासपोर्टमा छाप हान्ने काम र मेची पुलपारि भारततिर छाप हान्ने काम सकेपछि हाम्रो यात्रा सिलिगुडीतर्फ बढ्यो । भारतीय भूमि भए पनि नेपाली भाषा, नेपाली होटल, नेपाली रहनसहन भएकाले विदेशी भूमिमा छौं भन्ने अनुभूति सिलिगुडीसम्म हामीलाई भएन ।

सिलिगुडीमा नेपालीको होटलमा नै खाने खाने कार्यक्रम तय भयो । सिलिगुडीबाट ढाकासम्म पुग्ने ज्वाइन्ट भेन्चरमा चलेको ‘श्यामली’ भन्ने सुविधासम्पन्न बस पाइने रहेछ । सिलिगुडीबाट ढाकासम्मको भाडा भारु सात सय पर्ने रहेछ । नियमित रूपमा गइरहनु पर्ने विद्यार्थीहरू भने त्यो भन्दा पनि सस्तो बसमा जाने रहेछन् ।

बंगलादेशको रंगपुरमा भेटनरी डाक्टर पढिरहेका कुन्दन यादव भने, हामी अरु बेल सस्तो बसमा जान्छौं, आज तपाईंहरू भेट भएकाले गर्दा यो महँगो बसमा जान लागेको हो, सधैंभरि कहाँ सकिन्छ र ?’ कुन्दन यादव पनि हामीसँगै बढी भाडा तिरेर भए पनि जाने भए । उनले भने, ‘नेपालमा हुँदा मात्र हामी पहाडे, मधिसे, यो भाषा, त्यो भाषा भन्छौं तर विदेशमा भने हामी सबैलाई नेपालीपन खटकिन्छ र नेपाली मान्छे देख्यो भने पनि खुसी लाग्छ, न्यास्रो मेटिन्छ ।’

सिलिगुडीबाट २ बजे बस हिँड्यो । टिस्टा नदी बीचमा पर्ने रहेछ । सुगौली सन्धि हुनभन्दा अघि टिस्टा नदीसम्म नेपाल थियो भन्ने गर्व गर्दै साथीहरूबीच कुरा भयो । ब्रिटिस कम्पनी सरकारले भारत छोड्ने बेला सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता लिन राणा सरकारलाई भनेको तर राणाहरूले आफ्नो शासन सत्ता ढल्छ भन्ने पिरले फिर्ता लिन नमानेको अपुष्ट इतिहासलाई सम्झँदै राणाहरूलाई धिक्कार्दै अघि बढ्यौं ।

टिस्टा नदी निक्कै ठूलो र फराकिलो रहेछ । सप्तकोसी जत्रो चैं होइन तर ठूलो रहेछ । बेलुका ५ बजेतिर हाम्रो बस भारत र बंगलादेशको सीमा च्यांग्राबन्द पुग्यो ।

च्यांग्राबन्द र महादेव कानु

भारत र बंगलादेशको सिमाना अत्यन्त कडा रहेछ । खासमा च्यांग्राबन्द नाका नेपालको लागि भन्दा पनि भुटानको लागि खुलेको रहेछ । नेपालको लागि नजिक पर्ने नाका बंगलाबन्द चालू नभइसकेको र ट्रकहरू मात्र जाने रहेछन् । मान्छे जानका लागि च्यांग्राबन्द नै एक मात्र विकल्प रहेछ ।

त्यो नाका भएर भुटानी र नेपाली विद्यार्थी धेरै ओहोरदोहोर गर्ने रहेछन् ।

भुटानीलाई बंगलादेश प्रवेशका लागि भिसा नलाग्ने तर पासपोर्टमा छाप लाउनु पर्ने रहेछ । नेपाली विद्यार्थी र भुटानीले नेपाली भाषा बोल्ने भएको हुनाले च्यांग्राबन्दमा प्रहरी, कर्मचारी, व्यापारी सबैले नेपाली बोल्ने रहेछन् ।

त्यसमध्ये एकजना महादेव निक्कै सहयोगी देखिए । नेपाली विद्यार्थीहरूले उनैलाई मन पराउँदा रहेछन् । खासमा उनको काम चैं पैसा साट्ने भए पनि पासपोर्टमा छाप लाउने, भन्सार पासलगायतमा सघाउँने रहेछन् । उनले भने, ‘बंगलादेशमा पढेर गएका डाक्टर वीर अस्पतालमा १५ जना छन्, मेरो नाम लिनोस् खुसीले तपाईंलाई बोक्छन् ।’

उनी नेपाल घुम्न जान मन लागे पनि कामको व्यस्तताले जान नपाएको बताउन । उनलाई काठमाडौंका गल्ली–गल्लीको नाममात्र होइन, ठुला साना सहर, गाउँ सबैको नाम थाहा रहेछ । २५ वर्षदेखि नेपाली विद्यार्थीसँगको संगतले नेपाल नगए पनि नेपालको बारेमा सबै थाहा भएको बताउँछन् ।

सिलिगुडीबाट आएको श्यामली बसलाई च्यांग्राबन्दमै छोडेर बंगलादेशतर्फ उस्तै बसमा चढेर हामी ८ बजेतिर हिँड्यौं । मध्यरातमा जमुना नदीको सात किलोमिटर लामो पुल पार ग¥यौं । हाम्रा लागि त्यो अनौठो विषय थियो । दिउँसो भएको भए अझ राम्रोसँग हेर्न पाइने थियो । वास्तवमा मानसरोवर उद्गमस्थल भएर चीनको तिब्बत र भारतको अरुणचल हँुदै बंगलादेश प्रवेश गर्ने, सो नदीलाई भारतमा ब्रह्मपुत्र र बंगलादेशमा जमुना नदी भनिन्छ ।

रंगपुरमा भेटनेरी डाक्टर पढ्ने कुन्दन यादव मध्यरातमै हामीबाट बिदा भए । राति १ बजेतिर फुड भिलेजमा खाना खानको लागि बस रोक्यो । रात्री बसले पनि भव्य होटलमा खाना खुवाउने रहेछ । हामी हिँडेको तेस्रो दिन बिहान सबेरै ५ बजेतिर हामी बंगलादेशको राजधानी ढाका पुग्यौं ।

होटलको गाडी लिन आयो । हामी बस्ने होटल बरिधारा भन्ने ठाउँमा रहेछ । विदेशी राजदुतावासहरू भएको क्षेत्र रहेछ । तीन दिन हामी ढाका सहर आफ्नो उद्देश्यबमोजिम घुम्यौं ।

ट्राफिकजाम

ढाकामा ट्राफिकजामको समस्या रहेछ । काठमाडौंमा भन्दा धेरै ट्राफिकजाम हुने । सडकहरू फराकिला भए पनि धेरै गाडी भएर होला घन्टौंसम्म ट्राफिकजाम हुने रहेछ । जहाँसुकै जाँदा पनि एक–दुई घन्टाअगाडि हिँड्नुपर्ने ।

बस, अटो रिक्सा, कार, दुईतले बसलगायतका साधनले जाम गर्ने रहेछन् । सडक नियम पनि त्यति कडा देखिएन । अनौठो कुरा काठमाडौंमा सबैभन्दा धेरै चल्ती मोटरसाइकलको छ तर ढाकामा मोटरसाइकल चढेको विरलै देखियो । फाट्टफुट्ट कलेजको छेउछाउ मात्रै देखियो ।

महिलालाई कडा

सडकमा महिला एकदमै कम मात्र देखिने, पुरुषको तुलनामा करिब १० प्रतिशत । होटल, कार्यालय, पसलहरूमा पनि महिला कर्मचारी देखिएन । यो विषयमा हाम्रो टोलीका सहयोगी अराफतलाई सोध्दा उनले महिलाहरू ठुलोठुलो पदमा मात्र काम गर्छन्, हाम्रो देशमा प्रधानमन्त्री पनि महिला छन् भनेर टार्ने जवाफ दिए ।

तर, मुस्लिम देश भएको हुनाले महिलालाई बाहिरी काम कमै लगाउने रहेछन् । पार्क, सपिङ मल, म्युजियम, खाजाघरमा भने महिला देखिए । महिलाको फेसन पनि नेपालमा जस्तो धेरै किसिमका होइनन्, केटीहरू सबैले कुर्था सुरुवाल र बिहे भएका महिलाहरूले टाउकोदेखि पैतालासम्म ढाक्ने एउटै कपडा र बुर्का लगाउने र कसैले सारी चोलो लगाउने । ढाका सहरमा टिसर्ट पाइन्ट लगाएका केटी देखिएनन् । हाम्रो टोलीमा सावित्रीदेवी थरुनी थारु पहिरनमा, शीला नेपाली र बुद्धिमाया सुनार रातो मगरको पहिरनमा ढाकाको सडकमा हिँड्दा सबैजना छक्क परेर हेरेका थिए ।

सस्तो सहर

काठमाडौंको तुलनामा ढाका निक्कै सस्तो सहर रहेछ । नेपाली विद्यार्थी ढाकामा पढ्न जानुको कारण एउटा त्यो पनि रहेछ । चिटगाउँमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी सुजन निरौलाले बताए, ‘होस्टेलमा मासुभात २० रूपैयाँमा खान पाइन्छ, नेपाली रूपैयाँ र बंगाली टाका एउटै रेट छ, सबैथोक सस्तो पाइन्छ । हामीले पनि ढाका सहर सस्तो रहेको अनुभव ग¥यौं । हाम्रो टोलीमा रहेका एक जना विद्यार्थी संजीव रन्जितकारले ढाकामा पढ्ने विचार गरे ।

बंको बजार आठतले सपिङ मल

ढाका सहर घुमेपछि बंकोबजार जान नछुटाउनु है भनेर काँकरभित्ताका गौतमजीले भनेका थिए । हामी बंकोबजार गयौं । वस्तवमै बंकोबजार धेरै सस्तो रहेछ । हाम्रो टोलीका साथीहरू सबैले सामान किने । जुन सामान पनि किन्न मन लाग्ने, नेपालको तुलनामा धेरै सस्तो । बंगलादेशमा बनेका तयारी पोसाक सस्तो पर्ने रहेछ ।

डलर नचल्ने र टाका सकिएको हुनाले अझ बढी सामान किन्ने धोको हँुदाहँुदै पनि मन लागे जति सामान किन्न पाइएन । भुटानी कपडा व्यापारी पनि त्यही बजारबाट सामान भुटान लाने रहेछन् ।

मध्यम वर्गविहीन

ढाकामा दुई वर्ग मात्र रहेछ । धनी धेरै धनी, गरिब धेरै गरिब, मध्यम वर्ग थोरै । बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेको बंगलादेशका लागि नेपाली राजदुत प्रदीपकुमार खतिवडाले बताए ।

उनले भने, बहुसंख्यक जनता बिहान ८ बजे टिफिनमा भात बोकेर काम गर्न कारखाना जान्छन्, सस्तो ज्यालामा काम गर्छन्, बासीभात खान्छन्, राति १०–११ बजे घर फर्किन्छन् ।’ बालमजदुर, सस्तो ज्याला र बढी घन्टा काम लगाउने रहेछन् । ढाकामा मध्यम वर्ग नभएको हुनाले मोटरसाइकल चढ्ने पनि नभएका हुन् कि भन्ने लाग्यो ।

नेपाली दुतावास गफ गर्ने अखडा

बंगलादेशको नेपाली दुतावास भवन भव्य रहेछ । नेपालबाट झ्याल ढोका लगेर बनाइएको हुनाले राम्रो र आकर्षक रहेछ । ढाका सहरका लागि नेपालीपनको भवन अनौठो भएर होला त्यहाँ फिल्म सुटिङ पनि गर्न आउने रहेछन् ।

हाम्रो टोली बारिधारास्थित भव्य नेपाली दुतावासमा पुग्दा राजदुत प्रदीपकुमार खतिवडा, पर्वततिरका फणिन्द आचार्य र सैनिक सहचारी गरी तीनजना थिए । अरु स्थानीय बंगाली कर्मचारी थिए । नेपाली राजदुतले हामीलाई भने, ‘काम हँुदैन, तपाईंहरू जस्तै कोही आए गफ गरेर दिन काट्यो, नभए त दिन काट्न पनि गारो हुन्छ ।’

तर, हामीले हाम्रो उद्यमीहरूको टोलीलाई नौलो ठाउँ हो घुमाइदिनुहोस न भनेर सहयोग माग्दा भने नभ्याउने बताए । राजदुतमा सहयोगी भावना रहेनछ नकरात्मक कुरा मात्रै धेरै गर्ने रहेछन् । उनका कुरा दार्चुलादेखि उत्कृट भएर अझै केही गरौं भनेर गएका वृद्ध उद्यमीलाई समेत कृष्णानन्द जोशीलाई पनि चित्त बुझेन, निराश पा¥यो ।

मदिरा निषेध

ढाकामा मदिरापान निषेध रहेछ । सिलप्याक रक्सी बेच्ने पसल पनि छैनन्, विदेशीहरूका लागि होटलमा व्यवस्था हुन्छ । रक्सी मात्र होइन, ढाकामा दही दुध पनि सर्वसुलभ रहेनछ । माछा मासु भने सर्वसुलभ । मुख्य खाना भात । दाल, तरकारी पनि हुने तर हाम्रोजस्तो सबै मिलाएर होइन । पानीमा भिजाएर राखेको बासीभात खाने चाडपर्व पनि हुने रहेछ ।

ढाका टोपीको शान

हामीले उपहारका लागि काँकरभित्ताबाट लगेको ढाकाको नेपाली टोपी बंगलादेशको घरेलु तथा साना उद्योग महासंघ (नासिब) का पदाधिकारीलाई कार्यक्रममा लगाइदिँदा उनीहरू निक्कै खुसी भए ।

टोपी लगायो कि टाउको सकसकाउने मलाई पनि टोपी लगाउन मन लाग्यो । कहिल्यै टोपी नलगाएका जनकपुरका दयशंकर लालकर्णले पनि मागीकन टोपी लागए । उनले भने, ‘नेपालमा हँुदामात्र धोती र टोपीको कुरा आउँछ, विदेशमा जाँदा त हाम्रो पहिचान भनेकै टोपी रहेछ । मैले नेपालमा हँुदा कहिल्यै टोपी लगाएको थिइन तर बंगलादेशमा जाँदा भने साथीको टोपी खोसेर पनि लाउन मन लाग्यो ।’ नेपाली राजदुत खतिवडाले पनि ढाकामा ढाकाटोपी लगाएको मन पराउने बताए ।

उनले भने, ‘औपचारिक कार्यक्रममा म भादगाउँले टोपी लगाएर गएको थिएँ उनीहरूले ढाका टोपी किन नलगाएको भनेर सोधे । त्यसपछि म पनि ढाका टोपी लगाउने गर्छु । बाटोमा हिँड्दा पनि ढाकाटोपी लगाएर हिँड्यो भने सीधै नेपाली भनेर चिन्छन्, टोपी नलगाउँदा इन्डियन हो ? भनेर सोध्छन् । ढाकाटोपी ढाका सहरको नामसँग गाँसिएर पनि होला उनीहरूमा त्यो मोह भएको ।

मगन्ते धेरै

सडकमा र जाममा गाडी रोकिएको ठाउँमा गाडीमा ट्यक–ट्याक पार्दै मगन्तेको लाइन लाग्ने । एक–दुई टाकाले नमान्ने, कमसेकम पनि पाँच टाका घटी मगन्तेले पनि नलिने रहेछन् । हाम्रो साथी टंक दाहालले इलामबाट लगेको छुर्पी खान दिएको खान मानेनन् ।

तीन दिनको ढाका सहर अवलोकनपछि भ्रमणको पाँचौं दिन बेलुका ९ बजेतिर ढाका सहरलाई बाइबाइ गर्दै श्यामली बसमा चढेर फर्किऊँ । राति १०–११ बजेसम्म पनि ढाका सहरमा ट्राफिकजाम थियो । नवराज पाण्डे र म रातिको ढाका सहरलाई नियाल्दै र क्यामरामा कैद गर्दै अघि बढ्यौं ।

बिहान ७ बजेतिर बंगलादेश र भारतको बोर्डर बुरिमारा (भारततिर च्यांग्राबन्द) आइपुगियो । साढे ९ बजमात्र ढाट खुल्ने रहेछ । ढाट खुल्नेबित्तिकै हामी सीमा पार ग¥यौं । भारततर्फ हामीलाई महादेव कानु र काँकरभित्ताको गौतम सर पर्खिरहनु भएको थियो । त्यहाँबाट हामी टाटा सुमोमा जाने भयौं । टाटा सुमोबाट गलगलिया नाकासम्म पुग्यौं । टोलीका सदस्य गोविन्द, गुन्जबहादुर कार्की, दयाशंकर लालकर्ण, टंक दाहाल र हेमचन्द्र नाम्चु काँकरभित्तातिर लागे भने हामी त्यहाँबाट रिक्सामा मेची नदी तरेर भद्रपुर एअरपोर्ट आइपुग्यौं ।

यात्राको अन्तिम दिन भद्रपुरबाट हवाईजहाजबाट काठमाडौं विमानस्थल अवतरण भयौं । आधा हवाई र आधा स्थल मार्गको रोमाञ्चक र शिक्षाप्रद ६ दिने बंगलादेश भ्रमण सम्पन्न भयो ।

‘राजधानी’ ५ असार २०६७

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।