19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिम्माको नाममा नयाँ चिठ्ठी—२

कविता इन्द्र नारथुङे June 20, 2010, 6:01 pm

अर्थहरु अनर्थ बन्दै गएपछि

अनर्थहरुले अर्थको रुप लिएपछि

हामी ब्यर्थ हुँदैछौं सिम्मा

त्यसैले त तिम्रो नाममा

अर्को नयाँ चिठ्ठी

लेखिरहेको छु

यतिबेला ।

निनाम्मा आधा उधारिए पनि

चेतनाको ढोका उधारिएन मूलीहरुको

र,

हामीले पनि खोल्न सकेनौ भविश्यलाई

वर्तमानकोे सँघारमा टेकेर

साँच्चै सिम्मा

अरुलाई घृणा गरेर

सम्मानित हुन चाहने

मेरा येंतोहरु

खुट्टा लम्पसार पारेर

दायलुङ ओगटीरहन चाहने

लिङ्पाहरु भन्दा के फरक भए र ?

एकदिन यस्तो समय आउने छ सिम्मा

जहाँ हामी खोजेर पनि भेट्ने छैनौं

धर्म र जातका यी कुरुप सीमाहरुलाई

र, अन्ध राष्ट्रियताले ठडिएका

जङ्गे पिलरहरु

हो

त्यही दिनको लागि

समानताको कुरा उठाएको हुँ मैले ।

मानिलिऔं,

तिमी तिर्खाएकी छ्यौ धेरैधेरै

र, म पानी पिलाउँछु तिमीलाई थोपाथोपा

तिमीले बाएको मुखमा

हरेक पल्ट खस्ने जलविन्दुले

के तिम्रो तिर्खा मेट्ला ?

जरुर तिर्खा मेटिने छैन

केहीक्षण बिचार गरेर हेर

तिर्खा अझ बढेको पाउने छौ तिमीले

हो सिम्मा

अहिले यस्तै भएको छ यहाँ

बिलकुल तिम्रो तिर्खा जस्तै—समानताको

त्यसैले त अधिकारको नाममा प्राप्त हुने

पानीको सानो थोपाले

हाम्रा येंतोहरुको प्यास बढिरहेको छ धेरैधेरै

तर गल्ती यही हुँदैछ

येंतोहरु

तिर्खा मेटिएपछिको दिनलाई

ठिम्याउन सकिरहेका छैनन्

भान्छेहरुले जस्तै ।

सिम्मा

जुन दिनदेखि

साकेला प्यारो भो मलाई

त्यही दिनदेखि

दशैं होस् या होली

रमादान या क्रिसमस

सबैसबै मेरोनिम्ती

प्रिय बनेको छ

गर्भैबाट सिकेर आएको

रोदुङ इला होस् वा पर्वते कुरा

अथवा भोजपुरी, मैथिली, अवधी र हिन्दी

अथवा अंग्रेजी, चाइनिज र स्पेनिस

वा

हाल म जहाँ छु

त्यहाँको राष्ट्रिय भाषा मलायु

अँह

घृणा गर्न लायक मैले कुनैलाई पनि देखिन

साँच्चै सिम्मा

आफ्नालाई माया गर्न जानेपछि

परकाहरु स्वतः प्रिय हुँदारहेछन्

तर सिम्मा

परकाहरुलाई घृणा गरेर मात्र

आफ्नालाई माया गर्न सकिन्छ भन्ने भ्रममा

अल्झिरहेका मेरा येंतोहरु

कसरी फरक भए

आफ्नै मात्र गतिलो देख्ने

लिङ्पाहरु भन्दा ?

सिम्मा

हाँगा भाँचेर लिम्चिङबुङ टिपी

तिम्रो चुल्ठो सजाउन

म कसरी सक्छु यो बेला

हो

तिमी उजाडिएकी छ्यौ युगांैदेखि

सभ्यताले ठगेको छ तिमीलाई धेरैधेरै

परन्तु

वासन्ती रङ्गले लछप्पै भिजाएर

राष्ट्रको क्यानभासमा तिम्रो विम्ब उतार्न

अरु कसैको जीवनमा

शिशिर पठाई दिऊँ.....?

कसम सिम्मा

म,

यो पनि चाहन्न

यदि मैले यसो गरें भने

नफुल्दै मुर्झाएका

तिम्रा रहरहरुलाई

जात र धर्मको कुरुप सीमामा

भन्सारकर लगाउने

लिङ्पाहरु भन्दा म फरक हुन्छु र ?

सिम्मा

निनाम्मा आधा उधारिएको बेला

चेतना पूरै उर्धानु पर्छ हामीले ।

ता कि,

हाम्रो चेतनाको उज्यालोमा

बाटो पहिल्याउन सकुन्

अस्तित्वको संघर्षमा

अस्तित्व दाउ थापिरहेका येंतोहरुले

र,

अरुको अस्तित्वमा ताण्डब नाचेर

आफैलाई अस्तित्व बिहिन बनाई रहेका लिङ्पाहरुले ।

हो सिम्मा

एकदिन यस्तो समय आउने छ

जहाँ हामी खोजेर पनि भेट्ने छैनौं

धर्म र जातका यी कुरुप सीमाहरुलाई

र, अन्ध राष्ट्रियताले ठडिएका

जङ्गे पिलरहरु

हो

त्यही दिनको लागि

समानताको कुरा उठाएको हुँ मैले ।

****

चाम्लिङ राई भाषाको शब्दका अर्थहरु

येंतो: एकै गोत्र वा थरका दाजुभाइ ।

लिङ्पा: आर्य समुदायका उच्च जातीय मानिसहरु ।

रोदुङ इला: राई भाषा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।