माथि गुराँस लिगलिगकोटमा तल चेपेखोला,
घरमुनिको एक्ले बर त अझै उस्तै होला
रिपको पाखा, गीतको भाखा, सान्नानीका आँखा
‘लुकी लुकी माया लाउनु’ भन्थे मधु काका
डण्डीबियो, खेतको सियो, लसुनेको पानी
भोक-तिर्खा लागे नि पिउन्थ्यौ मीठो मानी
उबेलाका साथी काँहा छन्, फेर्दै कति चोला
घरमुनिको एक्ले बर त अझै उस्तै होला
दशैं तिहार बूढाबुढी; छैनन् गाउँमा युवा
देउसी-भैलो पिंग खेल्ला को, कसले लाउला टौवा
देश हेरियो, युग फेरियो, गाउँको रुप उस्तै
जे खाउँ जहाँ जाउँ, गाउँ सम्झे लाग्छ निस्तै निस्तै
थाक्लान आँखा बाआमाका हेर्दै घडी पोला
घरमुनिको एक्ले बर त अझै उस्तै होला
भ्याँकुवर, क्यानाडा