19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आरन

कविता कृष्णदेव रिमाल June 22, 2010, 12:04 pm

हो आमा !

अब म चाँडो फर्कन्न

अचेल मैले टुँडीखेलमा

एउटा आरन थापेको छु

यहाँका थुप्रै बोधाहरुलाई

अर्जाप्न थालेको छु ।

पहेंला पत्रकारहरु

काला पसलेहरु

समय चोर अगुवाहरु

थुप्रै देखिरहेछु म

अर्जाप्न बाँकी मेरा

अनुमानका सूचीहरुमा ।

क्रान्तिले नफोरेका गाँठाहरु

मतको इज्जत लुट्ने स्वाँठहरु

रक्षकभेषी भक्षकहरु

यी सबका सबलाई

मैले नै अर्जाप्ने हो आमा

अब म चाँडो फर्कन्न ।

सासलाई बेस्करी सरापेर

लाशको प्रार्थना गर्नेहरु

यी सारा बोधा मष्तिष्कहरु

पक्तिबद्घ देख्छु यही वरिपरि

धेरै अर्जाप्नु छ आमा

अब म चाँडो फर्कन्न ।

गरीवीका बाध्यतालाई

दुखीका आँसुलाई

अन्यायका चोटहरुलाई

सर्पझैंं चिप्ला हातहरुले

सुम्सुम्याएर

बोधोपन बिस्कुन्याउने

यहाँ यथेष्ट छन्

यी अविवेकीहरु अझै

अर्जाप्न बाँकी छ आमा

अब म चाँडो फर्कन्न ।

चोइट्याएर मातृचेतहरु

चपाएर भातृचेतहरु

तपाईको मुटुमै हात हुल्ने

हुँडारहरु अझै

अर्जाप्न बाँकी छ आमा

अब म चाँडो फर्कन्न ।

चरित्रका सगरमाथाबाट

हर्दम हिउँ पगाल्नेहरु

स्वार्थतिर शिखरिनेहरु

फूललाई धूलो ठान्नेहरु

नेपाली निश्छलताको

व्यापार गर्नेहरु

देखिइसके टुँडीखेलतिर

अझै अर्जाप्न बाँकी

कति कति आमा

अब म चाँडो फर्कन्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।