19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाउँमा परम्पराहरू

कविता रुपेश राई June 30, 2010, 11:27 am

बसेका छन्: ‘गाउँ’मा ‘परम्परा’हरू ।

‘गाउँ’

यस्तै हो,

दु:खी पनि छन्/सुखी पनि

कसैको चुल्हा ‘हुरूरू’ बल्छ/कसैको ‘धुँवा’

कसैको भाँड़ामा ‘नुनिया’ पाक्छ/कसैको ‘अलुवा’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘खुट्टा’ तान्ने/ ‘लङ्की’ लाउने

‘गाउँ’

यस्तै हो,

पीड़ित पनि छन्/कुण्ठित पनि

कसैको घर ‘स्वर्ग’ हुन्छ/कसैको ‘नर्क’

कसैको करममा ‘कलम’ हुन्छ/कसैको ‘हतियार’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘पोलजस’ गर्ने/ ‘आगो’ लाउने

‘गाउँ’

यस्तै हो,

तिरस्कृत पनि छन्/वञ्चित पनि

कसैको मन ‘अन्धकार’/ कसैको ‘उज्यालो’

कसैको आगनमा ‘उन्नति’/कसैको ‘अवन्नति’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

मान्छे ‘भड़काउने’/ ‘आँखा’ लगाउने

‘गाउँ’

यस्तै हो,

शिक्षित पनि छन्/शाक्षर पनि

कसैको कर्म ‘ज्योतिर्मय’/कसैको ‘खोटो’

कसैको थाप्लोमा ‘गाउँ’ छ/कसैको ‘कर’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘डोको’ बोकाउने/ ‘हँसिया’ थमाउने

‘गाउँ’

यस्तै हो,

व्यवस्थित पनि छन्/अव्यवस्थित पनि

कसैको ‘महल’/कसैको ‘झोपड़ी’

कसैको ‘आधुनिक्ता’ जल्छ/कसैको ‘प्राचिन्ता’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘गधा’ बनाउने/ ‘गोरू’ बनाउने

‘गाउँ’

यस्तै हो,

आस्तिक पनि छन्/नास्तिक पनि

कसैको ‘आमिष’ पाक्छ/कसैको ‘निरामिष’

कसैको खाटमा ‘धुपौरे’ बस्छ/कसैको ‘मतौरे’

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘धर्म’ साट्ने/ ‘इमान’ बेच्ने

‘गाउँ’

यस्तै हो, यसै र ! त !!

धुलैधुलो छ/हिलैहिलो

फुस्रैफस्रो/अन्धकारै-अन्धकार !!

धर्सैधर्सा/कोत्रैकोत्रा - विश्रृङ्खलित

तर

यहाँ बसेका छन् ‘परम्परा’हरू

‘कान’ थुन्ने ‘आँखा’ चिम्लने…

(यसै र त ‘गाउँ’ ‘शहर’देखि भिन्न छ)

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।