यो वर्षमासको उर्लिदो भेल
कहाँबाट आयौ हे मेरा भाइ
बाआमा कस्ता छन् ?
यो वर्षमासको उर्लिदो भेल
भेटघाट गर्न आएको दिदी
बाआमा निकै छन्...।
सधैं त भाइ नि शिरैमा टोपी
आज त खै छैन मेरा भाइ
बाआमा कस्ता छन् ?
सधैं त भाइ नि दोबरी दौरा
आज त एकसरो मेरा भाइ
बाबा र खसेको तीन महिना भयो
आमा त दुई महिना मेरी दिदी
गैगए परलोक...
नरोउ दिदी नि ती आँसु पुछ
तिम्रो त माइती म छँदैछु नि
मेरो पो को छ र...?
आमाले लाएको शिरैको फूल
त्यो पनि तिमीलाई मेरी दिदी
त्यो पनि तिमीलाई ।
शिरैकी फूल नि मै सके पाउँला
बाआमा काँ पाउँला मेरा भाइ
बाआमा काँ पाउँला...।
आज त भाइ नि म छु त भन्छ्यौ
भोलि नै ल्याउँछौ पराइकी छोरी
भैजान्छै बिरानो ।
पराइकी छोरी नि बिरानो भए
मै हुन्न बिरानो मेरी दिदी
मै हुन्न बिरानो...।
(पूर्वि पहाडी क्षेत्रमा प्रचलित संगिनी गीत)
फिदिम १, पाँचथर