19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटी नगरवधुको डायरी

कविता विवश पोखरेल July 12, 2010, 9:51 pm

प्रत्येक साँझसँगै सुरू हुन्छ

मेरो जीवनको दिनचर्या

जब सहर बल्छ/म निभ्छु

जब झलमल्ल रात फुल्छ

म ओइलिन्छु

मोलमोलाइको बजारमा

जोसँग जे छ, त्यही बेच्ने त हो

किन्नेहरू किन्छन् त म के गरूँ ?

यो नगरमा–

सधैं बेइमानहरूको स्वागतार्थ

अधिकांश इमान्दारहरू

माला लिएर ठिङ्ग उभिएको देख्छु

प्रशंसाका लोरीसँगै–

स्तुति र भजन गाएको देख्छु ।

यहाँ इमान बेच्नेहरूको

कुनै चर्चा हुँदैन ।

पापी भुँडीका लागि मैले अलिकति

लाजसम्म बेचेको न हुँ

जसरी मान्छेहरू ठेक्कामा

माटो बेच्छन् /कुर्सी बेच्छन्

त्यसरी नै–

क्षणिक भोगाधिकारका लागि

मैले अलिकति शरीर बेचेको न हुँ ।

ससाना कुरामा ठूलाठूला आन्दोलन र

बन्द हडताल हुने यो देशमा

किन मेरो शरीरको मात्र चर्चा हुन्छ

मेरो विवशताको किन चर्चा हुँदैन ?

मेरो भोकको किन चर्चा हुँदैन ?

मेरो अभाव र गरिबीको किन चर्चा हुँदैन ?

यो देशको अभागी नागरिक म

मनभरि अनगिन्ती पीरको भारी बोकेर

निदाऊँ भन्छु सक्दिनँ ।

सधैं समानता आरक्षण र अधिकारका कुरा

उठिरहेका बेला

आफ्ना सम्पूर्ण पीडा बिर्सेर

जीवनको चौतारीमा केही क्षण

सुस्ताऊँ भन्छु सक्दिनँ ।

यसो सोच्छु –सोचको धरातल

अझ फैलिन्छ / अग्लिन्छ

किन महाशय यो शहरमा

नगरवधुको मात्र चर्चा हुन्छ

अनुहारमा भलाद्मीको खास्टो ओढेर

हामीसँगै समागममा लिप्त

नगरवरहरूको किन चर्चा हुँदैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।