16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डिजिटल वार्तामा स्रष्टा

कृति/समीक्षा वन्दना ढकाल July 15, 2010, 1:22 am

हिजोआज साहित्यमा केही न केही नयाँ प्रयोग गरेर चर्चामा आउने चलन निक्कै बढेको छ । वस्तु, शिल्प, शैली, कला र प्रविधिका माध्यमबाट नेपाली साहित्यजगत्मा नौलोपन ल्याउनका निम्ति विविध क्षेत्रका साहित्यकारले नौला-नौला प्रयास गरिरहेका छन् । त्यहीमध्ये एक हो- कृष्ण बजगाईंको 'स्रष्टा र डिजिटल वार्ता' । विविध बाध्यतावश वा कामको सिलसिलामा नेपालभूमि छाडेर विश्वका विभिन्न कुनाकाप्चामा बसेका नेपालीले नेपाली भाषा र नेपाली साहित्यलाई माया मार्न सक्दैनन् भन्ने गतिलो साक्ष्यका रूपमा बजगाइंले प्रस्तुत पुस्तक पेस गरेका छन् ।

विद्युतीय वार्ता अर्थात् इमेलमा २३ स्रष्टासँग कुराकानी गरेर सम्पादकले पुस्तकाकार स्वरूप दिएका छन् । अनुसन्धाता, उपन्यासकार, पत्रकार, कथाकार, कवि, समालोचक आदि सबैलाई उनले एउटै पुस्तकमा अटाएका छन् । पुराना पुस्ताका कमलमणि दीक्षितदेखि नयाँ पुस्ताका युवराज नयाँघरेसम्मका व्यक्तित्वका विचार यसमा समेटिएका छन्, यसले पुस्तकको स्वादमा फरकपन थपेको छ । कृतिको महत्त्वपूर्ण पक्ष भन्नु साहित्यकारका व्यक्तिगत जीवनका विभिन्न पाटा र उनीहरूको साहित्यिक योगदानबारे उनीहरूकै शब्दमा पाठकले थाहा पाउनु हो । यसर्थ, पुस्तक सम्बन्धित स्रष्टाका बारेमा जान्न चाहनेका लागि अलिकति सूचनामूलक र जानकारीमूलक पनि छ । विभिन्न विधा र विचारका स्रष्टा भएकाले एउटै विषयमा पनि उनीहरूका फरक-फरक अभिव्यक्ति आएका छन् । पुस्तकमा समेटिएका स्रष्टाका त्यस्ता विचार र अभिव्यक्तिले नेपाली साहित्यका विभिन्न प्रवृत्तिबारे पनि बताउँछन् ।

इमेल अन्तर्वार्ताको पहिलो प्रयास भएकाले पुस्तकमा प्रशस्त कमीकमजोरी फेला पर्छन् । पूरक प्रश्न सोध्न नसक्नु ठूलो विडम्बना भएको छ । शीर्षक निकै लामा, बोझिला र दिक्क लाग्नेखालका छन् । 'मलाई कसैले केका लागि साहित्य लेख्नुहुन्छ भनेर सोधे भने म भन्छु- साहित्य नलेखेको दिन मेरो मृत्यु हुन्छ (विमल भौकाजी) जस्ता वाहियात र चिडचिडाहट लाग्ने शीर्षकले पाठकलाई विकर्षित मात्रै गरेका छन् । कतिपय वार्तामा स्रष्टाका स्वभजन र आत्मप्रशंसा पाइन्छ, जसले अन्तर्वार्तालाई वस्तुपरक हुन दिएको छैन । गोविन्दराज भट्टराईले ६ सय ७५ पृष्ठको आफ्नो कृति 'उत्तरआधुनिक विमर्श' -२०६४) लाई अहिलेसम्मको सबैभन्दा ठूलो समालोचना कृति भनेर आत्मप्रचार गरेका छन् । यसो भनेर, डायस्पोरा साहित्यसम्मको सूचना र ज्ञान राख्ने भट्टराईले घनश्याम ढकालको सम्पादनमा प्रकाशित ७ सय ५४ पृष्ठको 'यथार्थवादी समालोचना' (२०६२) लाई निषेध गर्न खोजेका छन् । उत्तरआधुनिकतावादीहरू भ्रमलाई पनि सत्य साबित गर्न प्रयत्नरत हुन्छन् भन्ने सायद यो गतिलो उदाहरण हो । उनले सटीक उत्तर दिन सकिने प्रश्नको जवाफमा पनि पाण्डित्याइँ प्रदर्शन गरेका छन् । अन्तर्वार्ता लिइएकै स्रष्टा -भट्टराई) को भूमिका पनि राखिँदा पुस्तकको स्वाद घटेको छ ।

सबैलाई दोहोर्‍याइएको प्रश्न- पुरस्कार कति पाउनुभयो? कति कृति प्रकाशित भए? ले पाठकलाई झिज्याउँछन् । नेपालीसाहित्यकारमा नेपालीभन्दा विदेशी पुरस्कारको अपेक्षा राख्ने र त्यसको खुलेर प्रशंसा गर्ने प्रवृत्ति छ भन्ने विमल भौकाजीको जवाफबाट थाहा पाउन सकिन्छ । अर्कोतिर वार्ता लिइएका अधिकांश स्रष्टा अन्तरर्ष्ट्रिय नेपाली साहित्य समाजद्वारा पुरस्कृत छन् । इमेलमा पहुँच भएका स्रष्टालाई नै वार्तामा छनोट गरिएको भनिए पनि त्यो मात्रै आधार हो भनेर पत्याउने ठाउँ छैन । किनभने, इमेलमा पहुँच भएका खगेन्द्र संग्रौला, निनु चापागाईं, ऋषि राज बराल, विमल निभा, श्यामल, नारायण ढकालजस्ता कैयौं स्रष्टा यहाँ छुटाइएका छन् ।

समग्रमा 'स्रष्टा र डिजिटल वार्ता' कृष्ण बजगाईंको एउटा प्रशंसनीय प्रयास हो । परदेशमा बसेर पनि नेपाली भाषामा साहित्य सिर्जना र सम्पादन गर्ने महत्त्वपूर्ण कर्ममा समय दिने उनको तत्परता उदाहरणिय नै छ ।

[email protected]

साभार: नयाँ पत्रिका दैनिक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।