एउटा मान्छे
बस् एउटा मान्छे भए पुग्छ एउटा युगलाई
जसले भन्न सकोस् –
मलाई सूर्य चाहिदैन ।
सूर्यको उज्यालोमा त
जसले पनि हेर्न सक्छ ऐना
र पहिल्याउन सक्छ आफ्नो अनुहार
आफैभित्रको
अखण्ड उज्यालो बोकेर आओस् कोही
र बनाओस् –
आफू हिड्ने बाटो आफैले उज्यालो
आफ्नै दिव्यताले
जम्मा गरोस् उठानको एक–एक रङ्गहरु
र पोतिदेओस् –
खण्डहरको गीतमा पनि अजम्मरी इन्द्रेणी !
किन सापटी मागेर ओढ्नु पर्यो
नाम बुद्घको ? नाम जीससको ? नाम पैगम्बरको ?
शान्ति बगोस्
उसको रगतको नशा–नशामा
शान्तिको परम उज्यालो बगोस्
आफ्नै उज्यालोले
धर्म र आस्थाको फुटेको ऐनामा प्राण भर्न सकोस् !
सयांै
हजारौं
लाखौं
अनि करोडौं करोडौं
उज्यालोको भ्रमित विमोचन दिनानुदिन
आफै
झुठो उज्यालोको लपेटोमा बाँधिएर
उज्यालो पस्कने कुराको पुनरावृति दिनानुदिन
आओस् कोही
आफैभित्रको
सार्वभौम उज्यालोको मशाल बोकेर आओस्
जाबो लफङ्गा चट्याङको उज्यालोलाई
के–के न उज्यालो मान्नेहरुलाई
जगाउन आओस् , सम्हाल्न आओस् !
आओस् ,
औसत भन्दा माथिको रुपान्तरण लिएर आओस्
आफैभित्रको उज्यालोले
बदल्न आओस् – बेथितिको पुरानो शैली
र भनोस् –
मलाई सार्वजनिक भइसकेका पुराना सन्दर्भहरुको भीडमा
एउटा अर्को सन्दर्भ बनेर बाँच्नु छैन कदाचित् !
उफ !
मान्छेहरुको नाममा अमान्छेहरुको कति लामो लश्कर !!
एउटा मान्छे
बस् एउटा मान्छे भए पुग्छ एउटा युगलाई
जसले भन्न सकोस् –
मलाई सूर्य चाहिदैन ।