18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रामप्रियाले देखेको अश्वमेध यज्ञ

कथा बी. पी. बजगाईं July 16, 2010, 6:11 pm

‘जज साहब, म दोजिया भएकी छु. यो गर्भ माथि शंका गरेर मेरो श्रीमानले मलाई श्रीलंकाको युद्ध-भूमि अस्पतालमा परिक्षण पनि गर्न लगाए. डाक्टर अग्निले मलाई पतिव्रताको सर्टिफिकेट पनि दिएको हो. यो भ्रूण मेरो श्रीमानसंगको संसर्गबाट नै उत्पति भएको हो भनि म स्वयम् किटान गर्दछु. तर मेरो श्रीमानले गाउँलेको कुरा सुनेर मलाई जंगली जनवारहरु भएको जंगलमा छाड्ने योजना बनाएको थाहा पाएँ. यस्तो शंकालु पतिसँग म पटक्कै बस्न चाहँदिन. मेरो लगायत मेरो हुनेवाला नानीको ज्यान जोखिममा छ. यसैले मलाई पारपाचुके चाहियो,’ रुँदै बोलिन रामप्रिया.

‘आई अब्जेक्ट युवर अनर, रामप्रियाले मेरो क्लाइंटको सामाजिक प्रतिष्ठालाई कलंकित पार्दैछिन. मर्यादा पुरूषोत्तम पतिलाई यस्तो आरोप लगाउने पत्नीको चरित्र अवश्यै जाँचको विषय हो. रामप्रिया माथि अदालतले जाँच राख्नुपर्ने माग गर्दछु युवर अनर,’ वकिल समाज प्रसाद चर्को आवाजले बोल्यो.

रामप्रिया- तिम्रो चर्को स्वरले सत्य दबाउन खोजेको?

समाज प्रसाद- बास्ने गुण प्रकृतिले भालेलाई मात्र दिएको छ, पोथीलाई छैन बुझ्यौ?

रामप्रिया- आफुले नदेखेको पतिलाई स्वयम्बरको माला लगाउने नारी म हैन भन्ने तिमीलाई बताउन चाहन्छु. उचालिनसक्नुको शिवधनु उचाल्ने पाखुरे वीरभन्दा मेरो भावना बुझ्ने दिमागी वीर नै मेरो निम्ति योग्य पति बन्न सक्छ. वर्तमान युगमा त्रेता युगको विचार राख्ने मान्छेलाई वकिलको प्रमाणपत्र कसले दियो? वकिल समाज प्रसादको प्रमाणपत्र रद्द गरिदिया जावोस जज साहब.

के अरे तैंले मेरो प्रमाणपत्र रद्द गर्ने रे, तेरो जगटा छरपष्ट पारिदिउँ अदालतभित्रै?

जज साहब, तपाईं किन मौन?

अर्डर, अर्डर…, कोर्ट इज एडजर्न, अर्को तारिखमा रामप्रियाले आफू कलंकित नभएको प्रमाण लिएर आउनु भन्दै जज घोप्टो शिर पारेर पछाडीको दैलोबाट निस्कन्छ.

* * *

‘तपाईंको विद्रोहले हिन्दु संस्कारमा चोट पुग्यो भन्ने आरोप यत्रतत्र सुन्नमा आएको छ. रामप्रिया जी, यसमा तपाईंको के भन्नु छ?’ अदालत बाहिर रामप्रियालाई पत्रकारहरुले घेरेका छन. क्यामेरा र माइक रामप्रियाको नजिक पुरयाउन चौथो स्तम्भकाहरुले तइं छाड र मैं छाड गरेको देख्दा बाँकी तीन स्तम्भहरुको गति थाहा लाग्दछ. यस्तो स्थितिमा रामप्रियाको विद्रोहलाई तेस्रो विश्व-युद्ध मानेर हेर्दैछु म.

तपाईंहरु पुरातन नाम-संस्कार समाएर राख्न चाहनुहुन्छ की नव-संस्कारित समाज चाहनुहुन्छ? पत्रकारहरुलाई प्रतिप्रश्न गर्दछिन रामप्रिया.

नव-संस्कारित समाज -थुप्रै आवाजहरु सुनिन्छन् त्यहाँ.

यसै परिधिभित्र रहेर मलाई तपाईंहरुले सोधेको प्रश्नको जवाब तपाईंहरु स्वयंले निकाल्नु होला भन्दै उनी त्यस भीडबाट ओझल हुन चाहन्छिन. उनी ओझल पर्न सक्दिनन्, पत्रकारहरुको झुण्डले वरिपरिबाट घेरिसकेको हुन्छ.

के तपाईंलाई लागेको कलंक सत्य होइन र? एक नारी पत्रकारको आवाज सुन्छिन उनी.

श्रीलंकाको युद्ध-भूमि अस्पतालमा गरिएको अग्नि परिक्षण यथेष्ट थिएन र आज जजले कलंकित नभएको प्रमाण लिएर आउनु भनेको? आफूलाई प्रमाणित गर्नुपर्ने दौडमा नारीहरु नै किन कुदिरहनु? पुनः उल्टा प्रश्न गर्दछिन रामप्रिया.

तपाईंहरुले मलाई मात्र किन सोधेको? मेरो पति पुरूषोत्तमलाई पनि सोध्नुहोस…, पुनः बोल्दछिन उनी, …अनि भनिदिनुहोस रामप्रिया डी एन ए टेस्ट गराउन तयार छिन भनेर. रामप्रियाको जवाबले पत्रकारहरुको चित्त बुझेको जस्तो लाग्यो, झुण्ड छरपष्टियो.

* * *

पुरूषोत्तमले डी एन ए सेम्पल दिनु नमानेको हुनाले मामिला सर्वोच्चसम्म पुगेको छ.

* * *

सर्वोच्चको आदेशमा सम्पन्न डी एन ए टेस्टको रिपोर्टले मुद्दा रामप्रियाको हकमा गएको छ. अदालतको हुकुम बमोजिम पुरूषोत्तमबाट पारपाचुके पाउन सफल बनेकी रामप्रिया पुरूषोत्तम कै घर अघि आँगन जोडिएको जमिनमा घर बनाएर बसेकी छिन.

* * *

केही वर्ष पश्चात,

आफ्नो जुम्ल्याहा नानीहरु लवली र केशुलाई खेल्न भनेर रामप्रियाले काठको घोडा ल्याएकी छिन. नानीहरु आँगनमा अश्वमेध यज्ञको खेल खेल्दैछन.

“केशु, यो घोडाले आँगने राज्य जित्दै जौं ल…”

लवली र केशु काठको घोडा ठेल्दै पुरूषोत्तमको आँगनमा पस्दछन कटर्यक…. कटर्यक…. कटर्यक…. कटर्यक….

अदालती हारमा बोधित्व पाएर अहंकार गुमाएका पुरूषोत्तम आँगनको माझमा उभिएका छन्. उनी चुपचाप छन्, उनको अनुहारमा पीडा र खुशी दुवै छैन.

कटर्यक…. कटर्यक…. कटर्यक…. कटर्यक…., जुम्ल्याहा भाइहरु उनको वरिपरी फन्को मार्दै काठको घोडा घुमाएर आफ्नो आँगनतिर जान्छन.

सम्भवतः पुरूषोत्तमको आँगने राज्य जितिसकेका छन दुइ बालकले. पर पिंडीमा बसेर यो दृश्य हेरिरहेकी रामप्रियालाई युद्धकाण्डको बादल हटे झैं लाग्दछ.

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।