विगत अढाइ दशकदेखि अमेरिकामा बसेर नेपाली भाषा–साहित्यको श्रीबृद्धिमा समर्पित भारती गौतमको स्मृतिमा भीमू (२०६७) विभिन्न ते¥ह शीर्षकका स्मृति–लेखहरूको सङ्गालो हो । मित्रताको कुनै पनि परिभाषाले समेट्न नसक्ने भारतीकी अनन्य मित्र भीमू रिमाल (थापा) को असामयिक अवसानका कारण उत्पन्न पीडा–शमनका लागि रचना गरिएको यो कृति नेपाली साहित्यकै उच्चकोटिको शोकगाथा बन्न पुगेको छ । यसमा वर्णित अधिकांश प्रसङ्गहरू पूर्वस्मृतिमा आधारित छन् । भीमूसँगको जीवन आरम्भ भएदेखि वियोगको क्षणसम्म पुग्दाका अनेक परिघटना, जीवनभोगाइ र दृश्य तथा चेतनबिम्बहरूले समेत स्थान पाएका हुँदा कृतिमा अन्य विविध पक्ष समेटिएका छन् । यस कृतिमा स्थान पाएका कतिपय पक्षहरूलाई खोतल्ने प्रयास गरिएको छ ।
भारतीकी भीमू अब सबैसबैकी भइन् ः
स्नातकोत्तर तहको अध्ययनका लागि विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा आइपुगेकी धनकुटा निवासी भारती पोखरेलको ईश्वरी कन्या छात्राबासको १६ नं. कोठामा बस्दै आएकी भीमू रिमालसँग भेटघाट र चिनापर्ची भएको थियो । पहिलो भेटमै भीमूले भारतीको मन जितिन् । संयोगवश भारतीका लागि विश्वविद्यालयले तोकिदिएको छात्राबासको कोठा पनि भीमू बसिरहेकै कोठा पर्न गयो र उनीहरूबीच जीवन रहेसम्म र जीवनपश्चात् पनि अमर हुने किसिमको मित्रता कायम भयो । भीमू र भारतीको जीवनकथा एकअर्काबाट कहिल्यै नछुट्टिने घाम र छायाजस्तो अनि आकाश र नीलो रङ्जस्तो एकाकार हुन पुग्यो ।
विश्वविद्यालयको छात्राबास एउटा चौतारी मात्र थियो । यहाँ बास बस्नेहरू आइरहने र आफ्नो लक्ष्य पूरा हुनेबित्तिकै बाटो लाग्ने नियमित प्रक्रियाका भीमू र भारती पनि अपवाद हुन सक्दैनथे । लगभग दुई वर्षको सहबास पछि उनीहरू पनि आ–आफ्नै गन्तव्यतिर लागे ।
समयको प्रवाहमा हेलिँदै भारती सपरिवार अमेरिका पुगिन् अनि भीमू नेपालमै सरकारी सेवामा प्रवेश गरिन् । भीमूबारे भारतीले भनेकी छिन्, –‘भीमू मेरी कोही नभएर पनि सबैथोक थिई, मेरो सबैथोक भन्दा पनि अझै झण्डै तीन दशकसम्मको मेरो जीवनको महत्त्वपूर्ण अंश थिई’ यसको तात्पर्य हो, थोरै समय सँगै बसेर छुट्टिएका भीमू र भारतीका बीचको मित्रताले घनिष्ठताको शिखर टेकिसकेको थियो ।
वास्तवमा ‘स्मृतिमा भीमू’ भित्र भारतीले आफ्नो जीवनको सबैभन्दा नजिकको एकजनामात्र व्यक्तिको नाम उच्चारण गर्नुपर्ने परिस्थिति आएमा त्यो नाम ‘भीमू रिमाल’ नै हुने कुरा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा व्यक्त्याएकी छन् । पुस्तक पढ्दा लाग्छ– केही नहुनु नै सबैथोक हुनु रहेछ । हुनु सीमित हुन्छ, नहुनु असीमित । भीमू भारतीकी पूरै कोही थिइनन् अनि अलिअलि सबैथोक थिइन्–बहिनी, साथी, अभिभावक आदिआदि....त्यसैले त उनी सबैथोक थिइन् । मित्रता, अपनत्व र प्रेमका लागि आवश्यक सबै तत्त्वको संयोग भएर भीमू बनेकी थिइन् भारतीका लागि । त्यसैले कोही नभएर सबै थोक थिइन् भीमू । इन्द्रेनीका विभिन्न रङजस्ती । व्यष्टिमा नहुने सुन्दरता समष्टिमा झल्किएजस्ती ।
भीमूलाई सबैभन्दा बढी ‘बहिनी’ मानेकी थिइन् भारतीले । र, समयको गति स्वाभाविक रहने अनुमानमा आफ्नो जीवनकालपछि पनि आफ्ना छोराछोरीको अभिभावकत्व भीमूलाई सुम्पिने इच्छा सँगालेकी थिइन् । तर समयले उल्टो गति लियो । ‘ओभेरियन क्यान्सर’ जस्तो घातक रोगसँग जुधिरहेकी भीमू पराजित भइन् र उनले असामयिक मृत्यु अँगालिन् । यस अघि पनि भारतीले वियोगका थुप्रै क्षणहरू आत्मसात् गरिसकेकी थिइन् । जीवन र मृत्युको चक्र स्वाभाविकै मानिएला तर भारतीले भोगेका वियोगका घटनाहरू निकै अस्वाभाविक र अकल्पनीय थिए । आफ्नै बहिनीको मृत्यु, छोरी मनीषाकी अमेरिकी साथी लीसाले गरेको आत्महत्या, विवाह भएको केही महिनाभित्रै ससुराको मृत्यु, तीन वर्षको अन्तरालमा क्रमशः भारतीकी आमा, बुबा र सासुको मृत्यु अनि सबैभन्दा बढी पीडादायी भएर खनिएको भीमूको मृत्यु ।
प्राकृतिक र अप्राकृतिक रूपले आइपरेका अनेकौँ वियोग–व्यथालाई सहेकी भारतीले अघिल्ला कुनै पनि वियोगका क्षणमा नभोगेको पीडा भोगिन् भीमूको मृत्युमा । उनले भनिन्– ‘मेरो जीवनको ठूलो हिस्सा भीमूसँगै मरेको छ, मेरो अतीतमा ठूलो खाल्डो परेको छ ।’ भीमू मरेकी भए आफू पनि मरेको र आफू बाँचेकी भए भीमू पनि बाँचिरहेको विश्वास भारतीले सँगालिरहिन् अनि भनिन्, ‘अलिकति म भीमूसँग मरेकी छु, अलिकति भीमू मसँग बाँचेकी छे ।’ भारतीका यिनै भावनालाई सधैँ जीवन्त राख्ने प्रयासका रूपमा यो कृति जन्मिएको छ । ‘लेखकीय’ मा भारती भन्छिन्–‘ भीमू र उसको स्मृतिलाई मनैमा बस्न दिएर समयको प्रवाहमा त्यो स्मृतिमाथि विस्मृतिको दृष्टि नपरोस् भनेर पनि मैले त्यसलाई अभिव्यक्तिमा अनुवाद गरेको हो ।’
यसरी कृति जन्मियो–भीमूको अकल्पनीय अवसानले लेखकको मानसमा परेको सङ्घातबाट विमुक्तिको प्रयासमा । कृति जन्मिनुअघि भीमू अलिकति पन्नाकी थिइन्, अलिकति प्रियङ्काकी थिइन्, अलिअलि शिव, मनीषा, उमा तथा अन्य आफन्त र इष्टमित्रमा बाँडिएकी थिइन् अनि अलि धेरै भारतीकी थिइन् । तर अब भीमू ‘स्मृतिमा भीमू’ का माध्यमबाट सबैसबैकी भएकी छन्, सिङ्गो नेपाली साहित्यकी भएकी छन् । नश्वर शरीरको अवसानसँगै भीमू अमर बनेकी छन् । प्रत्येक नयाँ पुस्ताले यो प्रेमको यो गाथा पढ्ने छ अनि भारती र भीमू टल्किइरहने छन्–नेपाली साहित्याकासका तारा बनेर ।
त्रिभुवन विश्वविद्यालयको एउटा कालखण्डको चित्रण
भीमू र भारतीको भेट गराउने त्रिभुवन विश्वविद्यालयको तत्कालीन परिवेश, यहाँ घटित हुने प्रेम र वियोगका घटनासँगै विद्यार्थीहरूमा आएको राजनैतिक चेतनाको लहर अनि त्यसका सवल तथा दुर्वलपक्षहरू चित्रित छन् यस कृतिमा । २०३६ सालको विद्यार्थी आन्दोलनको प्रसङ्ग आएको छ । विभिन्न राजनैतिक समूहमा विभाजित विद्यार्थीहरूबीच पानी बाराबारको स्थिति रहेका बेला समेत खुलेरै अखिलमा लागेकी भीमू र तत्कालीन अवस्थामा राजनीतिमा पटक्कै चासो नभएकी भारतीको मित्रतामा भने कुनै आँच नआएको प्रसङ्गले वैचारिकता र मित्रता फरकफरक कुरा हुन् भन्ने तर्फ सङ्केत गर्न खोजिएको छ ।
आफूले अध्ययन गरेर छाडेको १५ वर्षजति पछि विश्वविद्यालय परिसरको भ्रमण गर्न जाँदा भारतीले देखेको दृश्य जसरी वर्णन गरिएको छ त्यसबाट हाम्रो शिक्षाको आधारस्तम्भ भित्रभित्रै मक्काएर ढल्न लागेको अवस्थालाई देखाउँछ । भारतीले पढेको अर्थशास्त्रको भवन ‘लड्नका गा¥हाले यसै ठडिइरहेको जस्तो’ छ । बाटामा ओछ्याइएका राताराता इँटा खुइलिएर फुस्रा फुस्रा भइसकेका छन्, जताततै चर्किएका र रङ उडेका भित्ता, लेउ लागेको भुइँ र रङ’ अर्थात् शैक्षिक÷प्राज्ञिक र भौतिक दुवै दृष्टिले त्रि.वि.को अवस्था दयनीय बन्दै गएको छ ।
बिदेशिएकाहरूमा नेपाल र नेपाली संस्कृतिप्रतिको मोह
पुस्तकको आरम्भ तीजका प्रसङ्गबाट भएको छ । बर्षभरि जस्तोसुकै कष्टकर जीवन यापन गर्नु परे पनि तीजका अवसरमा टाढाटाढाबाट एउटै ठाउँमा भेला भएर तीज मनाउने र घरमै रहिरहेको अनुभव गर्ने गर्दा रहेछन् अमेरिकामा बस्ने नेपालीहरू । यसै प्रसङ्गमा अमेरिकी समाजको सम्पन्नता र नेपाली समाजको विपन्नताको तुलना छ तर अमेरिकाप्रति भक्ति र आकर्षण प्रदर्शित छैन । जीवन जिउनैपर्ने कहर नै अमेरिका बसाइको वाध्यता बनेर प्रकट भएको छ । नेपालप्रति अगाध आस्था छ, श्रद्धा छ, ममता छ तैपनि यहाँको गरिबी, अव्यवस्था, अकर्मण्यता, प्रदूषण एवं जीणशीर्ण सामाजिक अवस्थाप्रति गहिरो पीडा,असन्तुष्टि र सहानुभूति व्यक्त भएको छ । अर्थात् यसमा अमेरिकाप्रतिको बाध्यात्मक आकर्षण छ अनि नेपालमा विद्यमान विकृति, बेथिति र विसङ्गतिका कारण मातृभूमिप्रति स्नेहपूर्ण विकर्षण छ । सभ्यता वा संस्कृतिसँगै जोडिएको अर्को प्रसङ्ग छ ः भौतिक उन्नतिको चरम चुलिमा पुगेको अमेरिकामा स्वतन्त्रताका नाममा हुने पारिवारिक विखण्डनको शिकार भएर आत्महत्या गर्न बाध्य भएकी १६ वर्षे किशोरी लिसाको कथा छ यसमा । लिसा र मनीषाको मित्रताले जाति, संस्कृति, रङ्, आर्थिक स्तरजस्ता सामाजिक÷सांस्कृतिक सीमा र बन्धनलाई चुँडालेर परासांस्कृतिक, पराजातीय र परावर्गीय उचाइ प्राप्त गरेको देखाइएको छ ।
अन्त्यमा,
स्मृतिमा भीमू जस्तो उच्चकोटिको स्मृति–साहित्य रचना गर्ने भारतीले अमेरिकी भूमिबाट नेपाली साहित्यभण्डार बृद्धि गर्न सक्ने बलियो सम्भावना देखिन्छ । उनका स्मृतिलेखहरू साहित्यिक चमत्कार सृजना गर्न समेत सफल देखिन्छन् । अब भारतीले भीमू–वियोगको पीडा र शोकलाई शक्तिमा रूपान्तरण गर्दै यस्तै बहुमूल्य ग्रन्थरत्नहरू नेपाली साहित्यलाई प्रदान गर्नुपर्दछ । भारतीको लेखनी नयाँ सिर्जना र रचनामा रमाइरहोस् भन्ने शुभकामनासहित !
भाषाविज्ञान केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर