19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा र डिजिटल सपना

कविता सञ्जु बजगाईं July 20, 2010, 10:28 am
सञ्जु बजगाईं
सञ्जु बजगाईं

कान्ला खन्ने कोदालोका दोब्रिएका धारहरुले

खाल्डाहरुमा लाश चाख्न थालेको देखेर

सालघारीमा सुसेल्दै हिँड्ने

नौजवान

मुङ्गलान भासिदैछन्

आँखामा अनिदा रहरहरु च्यापेर ।

चुहिने घरको फुसको धुरी

बर्षातको चेतावनी

मुटुमा च्यापेर

पीडा बाँचिरहेछ बर्षौदेखि,

मुङ्गलानेको आफ्नो धर्ती

केवल फुङ्ग माटो बनेर

छटपटाईरहेछ तिर्खाहरुमा

काकाकुल भएर ।

खडेरी परेको आमाको कोख,

सुत्केरी भएको भ्रम कोट्याउँदै

आँगनमा सन्तान खोजिरहेछ,

भूत, प्रेत, नरपिचाश बेरिएको वायू

घुम्छ रे आजकल वस्तिहरुमा,

आधारातमा शंख फुक्ने जोगी

भुस्याहा कुकुरको धम्कीले

थरथराएपछि

शंख बज्दैनन्.....

साईरन बज्छन् गल्लीहरुमा ।

ऊ,

मुङ्गलानको ठिमाहा चरित्र,

आफ्नै आमा बिर्सिएर

फेसबुकका पाना पल्टाउँछ

आवाद गर्छ

अप्राकृतिक मसीका काला थोपाहरु

ईमान्दारीताको बिजयप्राप्तिमा ।

समय म्याराथुन दौडिरहेछ,

आमा नाङ्गलो उठाएर

चन्द्रमा चिहाउँछिन् अझैपनि

जोड र घटाउका सिलशिलाहरु

उनका हातका औलाबाट

फुत्किई सक्दासम्म पनि

दुई बीस,

अनि

चारकोरीको गन्तीले

लपक्क लिपेको भकारीमा

एउटा सग्लो बर्ष भर्छिन्

र खुशी देख्छिन् हलुङ्गेका थालहरुमा ।

त्यो ठिमाहा चरित्र,

हरेक साँझ

मुङ्गलाने ईन्द्रेणी आँखामा टाँसेर

आईरीस क्याफेको ढोका चाहार्छ

जीवन्त तन्तुहरुमा गर्व भरेर ।

रात मस्त नशाको

सिरक ओढेर

झुल्के घामसँगै बिदा हुन्छ

आज, भोली, पर्सी गर्दै

धेरै रात ओर्लिए बिहानीमा

तर,

ऊ डिजिटल युगमा बाँचेको मान्छे

आमा भेट्ने दिन कहिल्यै आएन

उसको डिजिटल सपनामा ।

ब्रसेल्स, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।