17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विद्या घिमिरे July 20, 2010, 7:09 pm

न त आज कुनै खुसी न भोलिको आश छ

भिजेको परेली भन्छ मेरो संसार उदास छ ।

न त मेरो शून्यपन कसैसँग बोल्न सक्छ

वैलाएको कोपिलाले कहाँ घुम्टो खोल्न सक्छ ?

अडिए झैं लाग्छ वायु थाकेजस्तो नीर गगन

डरलाग्दो सन्नाटामा चन्द्रमा गम्भीर छ झन् ।।

चुपचाप मेरो जून आकाश चुपचाप छ

भिजेको परेली भन्छ मेरो संसार उदास छ ।

अधुरा ती गीतहरु गुन्गुनाउन बाँकी नै छ

जलाउने जल्ने कथा सुनाउन बाँकी नै छ ।

भेटिएको जीवन साथी अनायासै छुट्यो आज

देखिएको मीठो सपना मध्यरातमा टुट्यो आज ।।

कहाँ गयो भोकनिन्द्रा न त कुनै प्यास छ

भिजेको परेली भन्छ मेरो संसार उदास छ ।

सधँै भेट हुने मृत्यु आउन्न कि आज साँझ

अन्धकार कालो रात अझै कालो लाग्छ आज ।

न त कुनै पथिक छ निर्जन ती पाखातिर

देखिँदैन कुनै नसा प्रियसीका आँखातिर ।।

न फूलमा सुगन्ध छ न त मधुमास छ

भिजेको परेली भन्छ मेरो संसार उदास छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।