१. परिचय
२०२२ साल माघ २९ गते मध्यपश्चिम नेपालमा अवस्थित भेरी अञ्चल, दैलेख जिल्लाको दुल्लु भेगमा पर्ने गमौडी—८ राजाकाँध भन्ने दुर्गम गाउँको एउटा सामान्य परिवारमा जन्मिएका बखतबहादुर थापाका बाबुको नाम मोतीराम थापा र आमाको नाम बिस्ना थापा हो । यिनी मोतीराम थापाका दुई श्रीमतीबाट जन्मिएका छ छोरा र पाँच छोरीमध्ये काहिँला तथा कान्छी श्रीमती बिस्ना थापाबाट जन्मिएका जेठा छोरा हुन् । ठूलो परिवार भएको र पारिवारिक आर्थिक अवस्था पनि सामान्य रहेको हुँदा यिनको बाल्यकाल त्यति सुखपूर्वक बितेको देखिँदैन । आफ्नै जन्मथलो दुल्लुकै वनजङ्गल एवं पाखापखेरामा गाईबाख्रा चराउँदै बाल्यकाल बिताएका बखतबहादुर थापाले परिस्थितिजन्य कारणबाट खासै शिक्षा हासिल गर्न पनि सकेनन् । यिनी गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा आर्जन गरी विजया मावि दुल्लुमा कक्षा दससम्मको अध्ययन गरेर २०४२ सालमा प्रवेशिका परीक्षामा सामेल भए, तर नियमित र व्यवस्थित पढाइको अभावका कारण उत्तीर्ण हुन सकेनन् । प्रवेशिका परीक्षा दिनेबित्तिकै गाउँका मुग्लानी लाहुरेहरूकै छाँटकाँटमा बखतबहादुर थापा घरपरिवार र कलिलै उमेरमा बिहे गरेकी श्रीमतीलाई समेत छोडेर सुर्खेततिर झरे । सुर्खेतमा केही समय बिताएपछि ड्राइभिङ सिक्ने रहर बोकी यिनी दिल्ली जाने निधो गरेर त्यहाँबाट हिँडे । भारततिरको खासै जानकारी नभएका थापा अनेकतिर भौतारिँदै अल्मोडा बाकेश्वर पुगे र केही समय यिनले त्यहीँ कुल्ली काम गरेर बिताए । कामविशेषले उनका ससुरा त्यहीँ आइपुगेको थाहा पाएर यिनी त्यहाँबाट पनि सुइँकुच्चा ठोके र अनेकतिर सोधपुछ गर्दै दिल्ली पुगे । त्यहाँ पुगेपछि यिनले त्यहीँ चौकीदारी गर्ने एकजना आफ्नै गाउँले भेट्टाए र केही समय उसैकहाँ बसे । उसकै माध्यमबाट यिनको त्यहीँ शिक्षक काम गरी बस्ने आफ्नै गाउँले चक्रनाथ शास्त्रीसँग भेटघाट भयो र तिनले थापालाई टाइपराइटर मर्मत गर्ने पसलमा चिया ओसार्ने काममा लगाइदिए । पहाडमा जन्मी हुर्किएका थापालाई हिन्दी भाषा पटक्कै नजानेका कारण त्यहाँ भाषिक सम्प्रेषणमा ठूलो सङ्कट आइप¥यो । यसै कारण यिनलाई छोटो समयमै त्यहाँबाट हटाइयो । यसपछि यिनी गाउँले चौकीदारकै सहयोगमा एउटा फ्याक्ट्रीमा चौकीदार भएर काम गर्न थाले । केही समयपछि त्यहाँ पनि छोडेर यिनले अर्कै टाइपराइटर मर्मत गर्ने पसलमा सरसफाइको काम सुरु गरे । त्यहाँ यिनले दुईतीन महिनामै टाइपराइटर मर्मत गर्ने काम निकै सिके । काम सिकेपछि यिनी अर्काे ठाउँमा त्यही काम गर्न थाले । महत्वाकाङ्क्षी र लगनशील स्वभावका थापाले त्यही बेला अर्काले गरेको हेर्दाहेर्दै फोटोकपी र फ्याक्स मेसिनको मर्मत गर्न पनि सिके । यति कष्टका साथ काम गर्दा पनि त्यतिखेर यिनलाई पैसा कमाउनु त के सामान्य गुजारा चलाउनसमेत धौधौ प¥यो ।
यसरी अनेक हन्डर खाँदै अनेकतिर अनेक थोक काम गरी दुई वर्ष बिताएपछि यिनी २०४४ सालमा दिल्लीबाट घर फर्किए । केही गरौं भन्ने स्वभावका बखतबहादुर थापाका लागि गाउँघरमा पनि खासै काम नभएकाले टाइपराइटर मर्मत केन्द्र खोल्ने विचार लिएर यिनी काठमाडौं आए । त्यसका लागि अनुभवको प्रमाणपत्र चाहिने हुँदा यिनी फेरि दिल्ली गए । यिनी त्यहाँबाट तुरुन्तै नफर्की केही समय त्यहीँ आफैं टाइपराइटर मर्मत केन्द्र खोलेर काम गर्न थाले । त्यहाँ त्यस कामबाट पनि खासै फाइदा नभएकाले केही समयपछि त्यो काम छोडेर यिनी एकजना नेपाली साथीसहित नेपाल फर्किए र दाङ गए । घरबाट पैसा लिएर आउँछु भनी साथी आफ्नो घर रोल्पा लिवाङ् गएकाले यिनले उसैको प्रतीक्षामा एक वर्षजति टाइपराइटर सम्बन्धी काम गर्दै दाङमा बिताए, तर ऊ घरबाट नफर्किएकाले २०४८ सालमा यिनी पुनः काठमाडौंतिर हानिए । काठमाडौं आएपछि यिनले दुईतीन महिनाजति अर्काकै टाइपराइटर पसलमा काम गरे र त्यसपछि आपैंm एउटा टाइपिङ इन्स्टिच्युट खोले । त्यस कामबाट जीविका चलाउन धौधौ परेकाले यिनी अर्कैतिर मोडिए । त्यसबेला काठमाडौंमा थोरै सङ्ख्यामा भए पनि कम्प्युटर पसलहरू खुल्न थालिसकेका थिए । कम्प्युटर हार्डवेयर सिक्ने उद्देश्यबाट काम खोज्दै बखतबहादुर थापा न्युरोडको कम्प्युटर सोरुममा पुगे । इलेक्ट्रोनिक्स टाइपराइटर्स, फोटोकपी र फ्याक्स मर्मतसम्बन्धी काम गर्ने भएकाले यिनले त्यहाँ काम पाए । त्यहाँ यिनको काम ग्राहकका घरघर दौडिनेमै सीमित भएकाले कम्प्युटर हार्डवेयर सिक्ने धोको पूरा नहुने देखी यिनी छट्पटाइरहेका वेला २०५० सालमा काठमाडौंमै एउटा ठूलै कम्प्युटर सोरुम खुल्यो । त्यस कम्प्युटर सोरुमको काम फोटोकपी, फ्याक्स पनि बेचबिखन गर्ने भएकाले यिनलाई त्यहीँ बोलाइयो । यिनी यसै बीचमा सिक्दासिक्दै कम्प्युटर प्राविधिक बने र २०६१ सालसम्म त्यहीँ काम गरे । त्यसपछि आफ्नै कम्प्युटर हार्डवेयर वर्कसपमा काम गर्दै यिनी आफ्नी श्रीमती लक्ष्मी तथा दुई सन्तान हेमन्त र खगेन्द्रका साथ स्वाभिमानपूर्वक जीवनको गाडी हाँकिरहेका छन् ।
मोटर ड्राइभर बन्ने सुरले दिल्लीतिर हानिएका बखतबहादुर थापा अनेक हन्डर र भुक्तमान सहँदै अन्ततः कम्प्युटर ड्राइभर भएर आफ्नो जीवनगति अगि बढाइरहेका छन् । अहिले यिनी कम्प्युटर मात्र नभएर फ्याक्स, फोटोकपीलगायत अनेक विद्युतीय यन्त्र मर्मत गर्ने उच्च प्राविधिक बनिसकेका छन् । यी सबै सन्दर्भलाई हेर्दा यिनी पढेर नभई परेर प्राविधिक बन्नपुगेको स्पष्टै देखिन्छ ।
२. विषयविस्तार
अल्लारे उमेरमा घर छोडेर विदेशतिर लागी कुल्ली, चौकीदार आदि भई अनेक हन्डर खाएर स्वदेश फर्की कम्प्युटर प्राविधिक बन्न पुगेका बखतबहादुर थापा यसै बीचमा साहित्य सिर्जनातर्पm पनि अग्रसर भएका देखिन्छन् । आख्यानका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका थापाका परदेश (२०५८) र कुहिरो र काग (२०६१) शीर्षकका दुईटा उपन्यास तथा आघात (२०६२) शीर्षकको एउटा कथासङ्ग्रह गरी तीनवटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् ।
बखतबहादुर थापाको समग्रमा चौथो र उपन्यासमा तेस्रो पुस्तकाकार कृतिका रूपमा रहेको कालचक्र शीर्षक प्रस्तुत उपन्यासको विश्लेषण गर्नुपूर्व बखतबहादुरको जीवन सङ्घर्षका अनेक आरोहावरोहकोे फेरिस्त प्रस्तुत गर्नाको खास उद्देश्य के भने एउटा दुर्गम गाउँमा जन्मिएको सामान्य साक्षर व्यक्तिले पनि जीवनको यति छोटो समयमै कति धेरै सङ्घर्ष गर्न सक्दोरहेछ अनि हिम्मत नहारी काम गर्दा जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न खासै समय लाग्ने रहेनछ भन्ने कुरा देखाउनु हो । यस्तो सामान्य साक्षर व्यक्ति कहीँ कतै औपचारिक तालिम प्रशिक्षण केही नलिई यति छोटो समयमा एउटा उच्च दक्ष प्राविधिक कसरी बन्न सक्दोरहेछ भन्ने कुरा बखतबहादुरको जीवनकथाले देखाउँछ । यिनको यो दुई दशकजतिको जीवनचक्र कुनै अद्भुत चामत्कारिक कथाभन्दा कम रोचक र घोचक छैन । यिनको जीवन सङ्घर्षको आरोहावरोहको अध्ययनबाट धेरैले धेरै कुरा सिक्न सक्ने स्थिति रहेको देखिन्छ ।
विषम परिस्थितिबाट गुज्रिएको जीवनमा पनि फुर्सद निकालेर स्वतःस्पूmर्त रूपमा साहित्य सिर्जनातर्पm लाग्नु ज्यादै महत्वपूर्ण कुरा हो । बखतबहादुर थापाले आफ्नो जीवनकालमा देखेभोगेका अनुभवहरूलाई उपन्यास र कथाका माध्यमबाट प्रस्तुत गरेका छन् । यिनका यसपूर्वका उपन्यास र कथामा समेत आफ्नो जीवन सङ्घर्षका कतिपय पाटाहरूको कारुणिक चित्रण पाइन्छ भने प्रस्तुत उपन्यास पनि यिनका जीवन भोगाइबाट पूरै पृथक् छैन । यसरी आफ्ना जीवन भोगाइका विविध सन्दर्भलाई कथात्मक वा औपन्यासिक शिल्पमा आबद्ध गरेर सरलता र सहजतापूर्वक प्रस्तुत गर्ने साहित्यकार बखतबहादुर थापाको सिर्जनधर्मिता प्रशंसनीय रहेको छ ।
३. कालचक्र उपन्यासको विश्लेषण
सङ्ख्याङ्कनका साथ १२ वटा मुख्य भागमा विभाजित बखतबहादुर थापाको कालचक्र शीर्षक प्रस्तुत उपन्यासका प्रत्येक भागलाई · · · चिह्न दिएर विभिन्न उपभागमा समेत विभाजन गरिएको छ । यिनमा दोस्रो भाग सबभन्दा लामो र दसौँ भाग सबभन्दा छोटो रहेको छ । यस उपन्यासको पहिलो भागमा ११, दोस्रोमा ८, तेस्रोमा ६, चौथोमा ५, पाँचौँमा ३, छैटौँमा ४, सातौँमा ९, आठौँमा ९, नवौँमा ५, दसौँमा ३, एघारौँमा ५ र बारौँमा ५ उपभाग रहेका छन् । यसरी १२ मूल भाग र ७३ उपभागमा विभाजन गरी प्रस्तुत कृतिलाई सुगठित र सबल संरचना प्रदान गरिएको छ ।
यस उपन्यासका प्रायः सबै मूल भागहरू सहभागीविशेषका क्रियाकलाप र गतिविधिमा केन्द्रित छन् भने उपभागचाहिँ मूल विषयवस्तुकै क्रममा हुने प्रसङ्ग परिवर्तनसँगै विभाजित छन् । यसप्रकारको विभाजनले कृतिलाई सुसङ्गठित र सङ्गतिमूलक तुल्याउन विशेष भूमिका खेलेको छ । प्रत्येक विभाजन र उपविभाजनले पाठकलाई थोरै समय सोच्ने अवकाश प्रदान गर्दछ र एउटै लम्बेतानको पढाइबाट उत्पन्न हुने झिंझ्याहटबाट मुक्ति दिन्छ । यस उपन्यासमा विभाजनलगायतका अन्य प्राविधिक पक्षहरू पनि राम्ररी मिलाइएको छ ।
प्रस्तुत उपन्यासमा मूलतः दुईवटा विषयवस्तुलाई कथ्य बनाइएको छ । तिनमा पहिलो र महत्वपूर्ण कथ्य कम्प्युटर व्यवसायसँग सम्बद्ध छ भने अर्काे नेपाली राजनीति र माओवादी युद्धसँग सम्बद्ध छ । यसरी झट्ट हेर्दा दुईटा कथावस्तुको एकान्वित रूपजस्तो देखिने यस उपन्यासमा वर्णित दुई घटना पृथक्पृथक् रूपमा प्रस्तुत नभई पहिलोको विस्तारकै क्रममा दोस्रो पनि आएको छ । दोस्रो घटनावलीको प्रवेश अप्रत्याशित र अविश्वसनीय पाराले नभई पहिलोकै विस्तारका क्रममा सहज र स्वाभाविक रूपमा विश्वासिलो पाराले भएको छ । खाली खुट्टा नेपाल छिरेको एउटा रोडपति व्यापारव्यवसाय नामधारी अनेक गोरखधन्दा गरेर छिटै करोडपति भई अन्ततः पतन भएको प्रसङ्गलाई यथार्थमूलक ढङ्गले वर्णन गरिएको यस उपन्यासको समग्र अध्ययनपश्चात् यसमा प्रस्तुत दुवै विषयवस्तुको विस्तारका क्रममा चित्रित प्रमुख घटनावलीहरू यसप्रकार रहेका छन् ः
मालिक वर्गद्वारा कामदार वर्गलाई पहिलो, दोस्रो र तेस्रो श्रेणीमा विभाजन गरी तल्लो श्रेणीप्रति गरिने भेदभावपूर्ण व्यवहार र चरम शोषणको स्वाभाविक प्रस्तुति,
केटी भनेपछि हुरुक्कै हुने र राम्रा केटी देख्नै नहुने अनि आफ्नो व्यवसाय विस्तारका लागि केटी बेचबिखन गर्नसमेत पछि नपर्ने मालिक वर्गका दुष्वृत्तिको चित्रण,
आफन्त ठानी विश्वास गरेका कामदारबाट समेत हुने गरेका बेइमानी र धोकापूर्ण व्यवहारको वर्णन,
कम्प्युटरबारे जानकारी नभएका ग्राहकलाई एउटा प्राविधिकले पत्तै नपाइने गरी कतिसम्म बेइमानी र ठगी गरी कल्पनातीत नाफा आर्जन गर्नसक्छ र भेद खुल्दै गएपछि तिनको हालत कति खराब हुन्छ भन्ने कुराको रोचक र घोचक प्रस्तुति,
मालिक स्वयंले प्राविधिकहरूलाई नबिग्रिएको मेसिन बिगार्न लाएर वा बिग्रिएको छ भन्न लगाएर अतिशय चर्काे बिल असुल गर्ने वृत्तिबाट कतिपय कामदारहरू पनि त्यस्तै कार्यमा क्रियाशील रहेको घटना वर्णन,
कतिपय प्राविधिक स्वयं दुष्ट भएको र कतिपय साहुको दुव्र्यवहारबाट दुष्ट्याइँ गर्न उद्यत भएको यथार्थमूलक चित्रण,
प्राविधिकहरूले दुष्ट ग्राहकको सेखी झार्न मात्र होइन सिधासोझा ग्राहकलाई समेत अमानवीय ढङ्गले झुक्याउने र ठग्ने गरेका कार्यको चित्रण,
इमानदारीको कुनै मूल्य नभएको र बेइमानको प्रभुत्व रहेको वस्तुस्थिति वर्णन,
साहु मात्र होइन कामदार, कर्मचारी र शिक्षकसमेत भ्रष्ट भएको विवरण प्रस्तुत,
चरम भ्रष्टाचार भएको देखी त्यो खप्न नसकेर सरकारी नोकरी र श्रीमतीसमेत छोडी अन्यत्रै निम्नतहको काममा लाग्नुपर्ने बाध्यात्मक परिस्थितिको चित्रण,
गरिबीका कारण ज्यान पाल्न साहुका घरमा तल्लो तहको काम गर्नुपर्ने र बहिनीलाई समेत काम गराउनु पर्ने बाध्यता अनि आफ्नै आँखाअगाडि बहिनीप्रति गरिने दुव्र्यवहारसमेत सहन बाध्य स्थिति अनि साहुको चरम शोषण र अत्याचार खप्न नसकेर आक्रान्त भई अन्त्यमा केही नलागेर बदला भावबाट माओवादीमा प्रवेश गरी अनाहकमा ज्यान गुमाउनु पर्ने स्थितिको चित्रण,
विविध परिस्थितिजन्य कारणबाट रेस्टुरेन्टमा देहव्यापार गर्नुपर्ने परिस्थितिको मार्मिक वर्णन,
प्राविधिक वा अप्राविधिक उच्च शिक्षा हासिल गरेका युवाहरू पनि बेरोजगारीको चपेटामा परी जीवन गुजाराका लागि निम्नातिनिम्न स्तरको जस्तोसुकै काम गर्न बाध्य परिस्थितिको वर्णन,
विदेश पठाइदिन्छु भनी अनेक तिगडम गरेर सोझासिधा मान्छेको घरबास उठाइदिने दलालहरू र तिनकै दलाली गर्ने डाक्टरहरूका दुव्र्यवहारको चित्रण,
इराकमा भएको बार नेपालीको बीभत्स हत्या र नेपालमा भएको तोडफोडको वर्णन,
दुष्टहरूले शोषण गरी जतिसुकै पैसा कमाए पनि तिनीहरूको अवसान दुखद हुने कुराको मार्मिक अभिव्यञ्जना,
एउटा प्राविधिकले कतिसम्म बेइमान गर्नसक्छ भन्ने कुरा बडो इमानदारीपूर्वक आपैंmले प्रत्यक्ष भोगेजस्तै गरी सहज, स्वाभाविक र विश्वसनीय पारामा प्रत्येक घटनाको प्रवेशसँगै त्यही ठाउँमा तटस्थ भई त्यसको सविस्तार वर्णन ।
माथि प्रस्तुत गरिएका बुँदाहरू उपन्यासको कथावस्तुसँग उनिएर आएका क्रमबद्ध घटनावली नभएर उपन्यास पढिसकेपछि निष्कर्षका रूपमा आएका सन्दर्भहरू हुन् । यस उपन्यासको कथावस्तु मूलतः कम्प्युटर साहु अमनलालको अतिशय नाफाखोरीवृत्ति र उसले कामदारप्रति गरेका चरम शोषण, दमन, अन्याय, अत्याचारसँग सम्बद्ध रहेको छ । प्रमुख सहभागी अमनलालको दम्भी उदयलाई उपन्यासको आदि भाग, उसका अनेकौं घृणित क्रियाकलाप, माओवादी गतिविधि आदिलाई मध्य भाग र उसको दुखद अवसानलाई अन्त्य भागका रूपमा लिन सकिन्छ । यति हुँदाहँुदै पनि उपन्यासको मध्य भागका घटनावलीहरूमा क्रमबद्धता छैन । यस उपन्यासका कुनैकुनै मूल भागलाई नै यताउता गर्दासमेत कथावस्तुको क्रमभङ्ग हुने स्थिति पनि देखिँदैन ।
उपन्यासका कथावस्तुको विन्यासमा आद्योपान्त लेखक तटस्थ छन्, कतै पनि आग्रही छैनन् चाहे माओवादीको प्रसङ्ग होस् चाहे सरकारी सेनाको होस् तिनका दुष्वृत्तिलाई लेखकले विनाआग्रह तटस्थ भएर प्रस्तुत गरेका छन् । लेखकको यसभन्दा पनि अझ बढी तटस्थता र स्पष्टता आफ्नै वर्गमा पर्ने कम्प्युटर प्राविधिकले ग्राहकहरूलाई गर्नसक्ने चरम बेइमानी र ठगीको प्रस्तुतिमा रहेको छ । यस उपन्यासमा दुईटा मूल घटनासँग जोडिएका अनेक घटनाहरूको प्रस्तुति भएको हूँदा तिनलाई क्रमबद्ध रूपमा कथात्मक पाराले स्मरण गर्न र पुनर्कथन गर्न गारो छ, तर घटनाबहुलताकै कारणबाट यसको औपन्यासिकता भने खज्मजिएको छैन र सबै घटनाहरू उत्तिकै रोचक र घोचक पनि छन् । यो नै यस उपन्यासको महत्ता हो ।
यस उपन्यासमा देशमा बस्न नसकिने र विदेशमा टिक्न नसकिने भयावह स्थितिको वर्णन, दुर्गम ग्रामीण भेगका जनताहरूको गरिबी, विवशता, बाध्यता एवं विरहव्यथाको प्रस्तुति, माओवादी सेना र सरकारी सेना छुट्ट्याउन नसक्दाका त्रासद स्थितिको चित्रण, युद्धको भयावह र वीभत्स वर्णन, आफन्त मारिएका बुढाबुढीको बेहाल स्थिति आदिको मार्मिक चित्रण पाइन्छ । यसमा सरकारी सेना र माओवादी दुवैका अत्याचार र निर्दयीपनको चित्रण, दोहोरो धम्की सहन बाध्य जनताको विवशता, सेनाको ज्यादतिबाट आहत भई माओवादीमा प्रवेश गर्ने स्थिति, सेनाका परिवारको बिचल्ली आदिको पनि चित्रण गरिएको छ । गाउँमा जुवातास र जाँडरक्सी रोकथाम गर्ने माओवादीका सकारात्मक कार्य र निर्मम एवं अमानवीय हत्याजस्ता अनेक नकारात्मक कार्यको प्रस्तुति गरिएको यस उपन्यासमा माओवादीका नाममा हुने खाओवादीहरूको वर्णनसमेत पाइन्छ । आफन्त धनीमानी र हाकिम भए पनि गरिबलाई सहयोग नगर्ने यथार्थ, चरम अत्याचार र फोस्रो आश्वासन वितरण आदिको समेत चित्रण पाइने यस उपन्यासमा बालकका माध्यमबाट दिनहुँजसो हुने नेपाल बन्दप्रतिसमेत व्यङ्ग्य प्रहार गरिएको छ ।
यो बहुपात्रीय उपन्यास हो । यसमा अमनलाल, रइसलाल, खपतलाल, पसारलाल, वसारलाल, गम्भीरलाल, कह्नैया, शिवराम, तिलक, पदम, विमल, प्रदीप, धनेश, राजेश, ललित, नेवार, श्रीकान्त, खड्का, श्याम, जगत, गगन, सुरेश, बलबहादुर, केशव, बालराज, मानबहादुर, रामनाथ, रतन, कालु, वसन्ती, रत्ना, देवकी, पदमकी श्रीमती, शीलालगायत माओवादी सेना, सरकारी सेना, पुलिस, दलालहरू, रेस्टुरेन्ट मालिक, रेस्टुरेन्टमा काम गर्ने केटीहरू, अनेक ग्राहक आदि थुप्रै सहभागीहरूको प्रयोग गरिएको छ । परम्परित दृष्टिकोणबाट नायक र नायिकाको अनिवार्यतातर्पm उति ध्यान नदिइएको यस उपन्यासमा पुरुष सहभागीको तुलनामा महिला सहभागीको सहभागिता र भूमिका ज्यादै न्यून छ । यस उपन्यासमा नायक वा प्रमुख पुरुष पात्रका रूपमा अमनलाल रहेको छ, तर यसमा नायिकाका रूपमा कुनै पनि स्त्री पात्रको प्रयोग गरिएको छैन । केही स्त्री पात्रहरू उपन्यासमा आए पनि ती सहायक वा गौण पात्रकै रूपमा उपस्थित भएका छन् । यस उपन्यासमा पात्रविशेषका माध्यमबाट प्रेम प्रसङ्गको चर्चा खासै नभए पनि रन्डीबाजी र बलात्कारका घटनाहरूको चर्चा प्रशस्तै भएको छ ।
उपन्यासका सबैजसो भागहरू एउटाएउटा पात्रको गतिविधि र तिनकै चरित्रचित्रणमा केन्द्रित छन् । यिनमा मूलतः पहिलो भाग अमनलाल, दोस्रो कह्नैया, तेस्रो नागेन्द्र, चौथो पदम, पाँचौँ रइसलाल, छैटौँ धनेश, सातौँ श्याम, आठौँ तुलाराम, नवौँ जगत, दसौँ गगन, एघारौँ शिवरामका क्रियाकलापसँग सम्बद्ध छन् । पहिलो भागमा अमनलालबाहेक अन्य सहभागी र घटनावलीको परिचयसमेत दिइएको छ भने सबैजसो भागमा कुनै न कुनै रूपमा मूल सहभागी अमनलालको उपस्थिति रहेको छ । बारौँ भाग उपन्यासको निष्कर्षका रूपमा रहेको छ । उपन्यासमा कह्नैया र जगतको वर्णन गरिएको भाग अपेक्षाकृत लामो भए पनि तिनीहरूद्वारा गरिने क्रियाकलाप अत्यन्त मार्मिक प्रकारका भएकाले पढ्दा पाठकको लागि कतै पनि दिग्दारी वा आलस्य पैदा हँुदैन ।
यसमा मूलतः अमनलालको विश्वासिलो कारिन्दा कह्नैयाका माध्यमबाट कम्प्युटरसम्बन्धी ठगीको चरम नमुना प्रस्तुत गरिएको छ । अनभिज्ञ ग्राहकलाई विश्वासमा पारेर गर्ने ठगीसम्बन्धी उसको चर्तिकला सारै विचित्रको र अकल्पनीय छ । ठगको मात्र होइन ढाँटको समेत राजा रहेको कह्नैया विश्वासिलो पाराले दारा धसेर मुटु निकाल्ने खालको निर्दयी छ । यसमा नागेन्द्र गोरुसँग तुलनीय सारै निरीह कामदार हो । उसँग एकजोरभन्दा बढी कपडा पनि छैन, खान पुग्ने र स्वास्नी पाल्नसक्ने स्थिति पनि छैन । ऊ अन्त्यमा केही नलागेर माओवादीमा प्रवेश गर्छ । पदम पनि इमानदार कामदार हो । उसको पनि हालत खराब छ । श्यामअलि जोसिलो र क्रान्तिकारी खालको छ । मानबहादुर आफ्नी स्वास्नी बेच्ने दुष्टलाई ठेगान लाउने विचारले घरमा चिठी लेखी जङ्गलतिर लाग्छ भने देवकी सेनाको अत्याचारबाट बाध्य भएर माओवादीमा प्रवेश गर्छे । यहाँका कालुजस्ता कतिपय सहभागीहरू साहुका शोषणको बदला लिन माओवादीमा प्रवेश गरी ज्यान गुमाउन बाध्य छन् भने मुक्तिराजजस्ता पात्रहरू माओवादीमा प्रवेश गरी छुवाछुतका विरुद्ध कम्मर कसेर लागेका छन् । यस्तैगरी अत्याचारकै कारण रत्नाजस्ता कतिपय पात्रहरू माओवादीमा पसेको भए हुन्थ्यो भन्ने सोचाइ राख्छन् । केहीले माओवादीका नाममा जनतालाई ठग्ने कामसमेत गरेका छन् । यसमा अमनलाल र रइसलाल दुष्ट साहुवर्गका प्रतिनिधि पात्र हुन् भने तीन श्रेणीमा विभाजित सबैजसो पात्रहरूले तत्तत् वर्गको प्रतिनिधित्व गरेका छन् ।
परिवेश वर्णनका दृष्टिले हेर्दा यस उपन्यासमा स्थानका रूपमा नेपाल र भारतका विभिन्न सहर एवं गाउँहरू आएका छन् भने समयका रूपमा विगत डेढ दशकजतिको अवधि आएको छ । यस उपन्यासको वातावरण आद्योपान्त दुखद, निरस र उराठिलो छ । केही शोषक वर्गका साहुहरूबाहेक अधिकांश कामदार वर्गको दैनन्दिनसँग सम्बद्ध वातावरण दुखद छ । उपन्यासका कतिपय ठाउँमा युगीन सामाजिक, सांस्कृतिक, राजनैतिक, प्राकृतिक आदि परिवेशको वर्णन पनि सहज र स्वाभाविक रूपमा गरिएको छ ।
तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित यस उपन्यासको उद्देश्य वर्तमान युगीन यथार्थको प्रकटीकरण रहेको छ । यसमा एकातिर एकलौटी बजारका कारण कम्प्युटर साहु र प्राविधिकहरूले समेत अनभिज्ञ ग्राहकहरूलाई अकल्पनीय रूपमा ठगी गर्ने गरेको यथार्थ प्रस्तुत गरिएको छ भने अर्कातिर माओवादी सशस्त्र जनयुद्ध, गाउँगाउँमा पैmलिएको आतङ्क, जनआन्दोलनमा सरिक जनता र सहिदहरूको अपमान आदिको यथार्थमूलक चित्रण पनि यस उपन्यासको उद्देश्य रहेको छ । अरूलाई रुवाएर जतिसुकै सम्पत्ति कमाए पनि पापिष्टको अन्त्य दुखद हुने विचार अभिव्यञ्जित यस उपन्यासमा जीवनका दुखद घडीमा आफन्त ठानिएकाहरूबाट बेवास्ता हुने र पहिले आपूmद्वारा हेपिएकाहरूबाटै मानवीय संवेदना र सहयोग प्राप्त हुने स्थितिलाई पनि मार्मिक एवं कारुणिक रूपमा चित्रण गरिएको छ । प्रस्तुत उपन्यासको भाषा अत्यन्त सहज, सरल र सुबोध छ । ठाउँठाउँ पश्चिमेली भाषिकाको गन्ध पाइए पनि समग्रमा यो मानक नेपाली भाषाकै वृत्तमा केन्द्रित छ । कृत्रिम आडम्बररहित बोलचालका ढपको सरल भाषामा वस्तुलाई स्वाभाविक ढङ्गले प्रस्तुत गर्नु यस कृतिको महत्वपूर्ण पक्ष हो । ठाउँठाउँ वर्णनात्मक, संस्मरणात्मक र पत्रात्मक शैलीको प्रयोग पाइए पनि यो कृति मूलतः वार्तालापीय शैलीमा संरचित छ । यसप्रकारका शैलीमा लेखिएको यो नेपालीकै महत्वपूर्ण कृति हो । जनवादी भाषणसमेत प्रस्तुत गरिएको यस उपन्यासको भाषा अनावश्यक बिम्ब, प्रतीक, अलङ्कार, मिथ आदिले थिचिएको नभई सर्वसाधारणका लागि समेत बोधगम्य छ । कतिपय स्थानविशेषमा प्रचलित उखानहरूको प्रयोगले उपन्यासलाई थप रोचक तुल्याएको छ । ठाउँठाउँ काव्यात्मक झझल्को दिने भाषिक विन्यास गरिएको पाइए पनि समग्रमा यस उपन्यासमा प्रयुक्त भाषा पात्रको स्तरअनुरूपको गद्यप्रधान नै रहेको छ ।
उपन्यासको नामकरण निकै सङ्क्षिप्त रूपमा गरिएको छ । यसको शीर्षक कालचक्रमा रहेको कालले समयलाई र चक्रले घुमाइलाई बुझाउने हुँदा कथ्यगत रूपमा यस उपन्यासको शीर्षक कालचक्र सार्थक रहेको छ । यस उपन्यासको शीर्षकले एकातिर समयको गतिशीलतालाई बुझाएको छ भने अर्कातिर कुनै समय सारै मै हँु भन्ने दुष्टहरूलाई अन्ततः कालले न्याय दिने कुरालाई समेत सङ्केत गरेको छ । यसर्थ यस उपन्यासको शीर्षक सङ्गतिपूर्ण, सामञ्जस्यमूलक र औचित्यपूर्ण रहेको छ ।
४. उपसंहार
हामीकहाँ विशुद्ध लेखनलाई मात्र हेरेर मूल्याङ्कन गर्ने परिपाटी राम्रोसँग अभैm बसिसकेको छैन । यहाँ लेखन कस्तो छ भन्नुभन्दा अगि लेखक कोहो ? उसले कत्तिको प्रसिद्धि प्राप्त गरिसकेको छ ? ऊ कुन वर्ग वा खेमाको हो ? ऊ कुन पदमा आसीन छ र ऊबारे लेखिदिएबापत के प्राप्त गर्न सकिन्छ भन्नेजस्ता कोणबाट कृतिको महत्वलाई गौण तुल्याउने प्रचलन पनि पाइन्छ । वास्तवमा यो हाम्रो साहित्यिक समाजको विडम्बनै हो । यसप्रकारको चरम प्रभाववादी चिन्तनका कारण कतिपय राम्रै लेखकका रामै्र कृतिहरू पनि ओझेलमा परेका वा पाखा लागेका छन् भने कतिपय पहँुचवालाका निकृष्ट कृतिहरू पनि कथाकथित भाटहरूद्वारा उत्कृष्ट ठह¥याइएका छन्, तर यसप्रकारको मूल्याङ्कन दीर्घकालिक नभएर क्षणिक हुन्छ । यसर्थ क्षणिक सुखमा रम्न खोज्नेहरूबाहेक अरूलाई यसप्रकारको मूल्याङ्कनले खासै फरक पार्दैन । कथाकथित ठूलोमा गनिएका व्यक्तिहरूले यही र यस्तैखाले विषयवस्तुमा यत्तिको त के योभन्दा निकै कमजोर उपन्यास लेखेको भए पनि त्यसलाई विश्वकै सर्वाेत्कृष्ट कृतिमध्येको एक, नेपालको अद्वितीय कृति, उत्तरआधुनिक साहित्यको उत्कृष्ट नमुना, बेजोड युद्धसाहित्य, प्राविधिक विषयको अद्भुत प्रस्तुति अनेक विशेषणबोधक पूmलबुट्टा जोडेर उचाल्ने र सनसनी मच्चाउने धुपौरेहरूको पनि कमी हुने थिएन । अझ तथाकथित पत्रकार भनाउँदाले लेखेको भए त झन् विज्ञापनको वर्षै हुने गथ्र्याे । उपन्यासकार बखतबहादुर थापा ठूलै नाम चलेका र पहुँचवाला व्यक्तिसमेत नभएकाले उनको प्रस्तुत कृतिबारे यस्ता अनेक पूmलबुट्टा जडित चर्चापरिचर्चा, विचार गोष्ठी आदि हुने स्थिति छैन । यो हाम्रोजस्तो वर्गीय समाजमा लेखनलाई हेर्ने दृष्टिकोण पनि वर्गीय नै रहेको परिणाम हो । सबैलाई समान रूपले हेर्ने दृष्टिकोणको विकास नहुन्जेल यस्तै परिस्थिति कायम रहिरहन्छ ।
बखतबहादुर थापाको यो कृति नेपाली साहित्यमा अहिलेसम्मकै सर्वाेत्कृष्ट कृति हो भन्ने पक्षमा त म पनि छैन र यसो भन्न मेरो धर्मले पनि दिँदैन । यसमा कतिपय कमीकमजोरीहरू अवश्यै छन्, तर तथाकथित ठूला गनिएका तथाकथित लेखकका तथाकथित कृतिहरूभन्दा यो कृति निकै माथिल्लो कोटीको छ भन्ने कुरामा म सारै स्पष्ट छु । नेपालीमा युद्ध विषयक वा विगत दशकको माओवादी जनयुद्धका बारेमा विभिन्न विधाका थुपै्र कृतिहरू लेखिएका छन् र लेख्ने होड पनि चलिरहेकै छ, तर कम्प्युटर आदि विभिन्न प्रविधि विषयक सिर्जनाहरू नेपालीमा अलि कमै छन् । स्पष्ट रूपमा भन्ने हो भने एउटा कम्प्युटर व्यवसायका माध्यमबाट नजानिंदो ढङ्गले हुने गरेका प्राविधिक डकैतीसम्बन्धी विषयवस्तुमा केन्द्रित भएर यति इमानदारीपूर्वक लेखिएका कृतिहरू नेपालीमा अहिलेसम्म छैनन् । त्यसै क्षेत्रमा लागेकाबाहेक अरूले यस्तो कृति लेख्न पनि सक्दैनन् । यो यस कृतिबारेको अतिशयोक्तिपूर्ण व्याख्या नभएर यथार्थपरक ढङ्गले गरिएको वस्तुवादी विश्लेषणको निष्कर्ष हो ।
एउटा प्राविधिकले कम्प्युटरबारे अनभिज्ञ ग्राहकलाई विश्वास दिलाएर गर्नसक्ने चरम ठगी तथा उसका व्यवहार र गतिविधि पढिसकेपछि कुनै पनि ग्राहकले प्राविधिकलाई कहिल्यै विश्वास नगर्ने स्थिति पनि पैदा हुनसक्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने यो कृति पढिसकेपछि कम्प्युटर प्रयोगकर्ता ग्राहकहरूमा कम्प्युटर प्राविधिकहरूप्रतिको विश्वास पूरै गुम्ने स्थिति पैदा हुने सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । उपन्यासकार स्वयं पनि कम्प्युटर व्यवसायमै आश्रित रहेकाले यसबाट उनीप्रतिको मान्छेको विश्वास गुम्ने वा कम हुनसक्ने सम्भावना पनि कम छैन । चोरले आपूmलाई चोरका रूपमा नभएर सज्जनका रूपमा चिनाउन प्रयत्न गर्ने वा कसैले पनि अन्ततः आफ्नो भेद खोल्न नचाहने मानवीय स्वभाव भएकाले बखतबहादुर स्वयंले पनि कुनै ग्राहकप्रति यस उपन्यासमा वर्णित कह्नैया वा अन्य सहभागीको जस्तै व्यवहार गरेको भए उनले यसप्रकारको उपन्यास पक्कै लेख्ने थिएनन् । यस दृष्टिबाट हेर्दा उनको व्यवसायमा आँच आउनाको सट्टा फस्टाउने नै स्थिति देखिन्छ । यसर्थ प्रस्तुत उपन्यासलाई प्राविधिकहरूद्वारा हुने गरेका बेइमानीहरूलाई प्राविधिकद्वारा नै बडो इमानदारीपूर्वक प्रस्तुत गरिएको महत्वपूर्ण कृतिका रूपमा लिनुपर्छ ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं, नेपाल