14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सुषमा आचार्य : कृतित्व/व्यक्तित्व एक चर्चा

व्यक्तित्व / कृतित्व लीला लुइटेल July 22, 2010, 6:18 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

सुषमा आचार्यको जन्म वि.सं. २००७ फागुन ७ गते शिवरात्रिका दिन ताहाचल, काठमाडौंमा भएको हो । यिनका पिताको नाम वासुदेव शर्मा लुइटेल र माताको नाम जानकीदेवी लुइटेल हो । यिनले त्रिभुवन विश्वविद्यालयबाट एम्.ए., एम्.एड्. सम्मको हिक्षा हासिल गरी जापानको निगाता विश्वविद्यालयबाट पीएच्.डी गरेकी छन् । हाल यिनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायमा प्राध्यापकको रूपमा प्राध्यापनरत छन् ।

नेपाली साहित्यमा भूतको भिनाजु, नैकापेकाका, ताहाचलको स्याल, डेढ अक्कली, ढाडे बिरालो, जम्बुमन्त्री, रामकृष्ण खत्री, टपरीनाथ, कुमारी शोभा, भेना, कान्छा काजी, कवि, श्रीमान्, तनेवासे, काका, लम्फु, धुपौरे काका, सुब्बा, अनाथलगायतका असङ्ख्य उपनामबाट लेख्ने प्रसिद्ध हास्यव्यङ्ग्यकार वासुदेव लुइटेलकी जेठी छोरी सुषमा आचार्य साहित्यकार पिताको सामीप्य र प्रेरणा, विभिन्न साहित्यकारहरूसँगको सम्पर्क, नैसर्गिक आन्तरिक संवेदना, आफ्नो दैनन्दिन जीवन भोगाइ, युगीन परिवेश, आधुनिक चिन्तन, प्राध्यापन पेसाजस्ता विविध सन्दर्भ एवं पक्षहरूबाट अभिपे्ररणा प्राप्त गरी साहित्य सिर्जनत प्रवृत्त भएको देखिन्छ । सुषमा आचार्यको लेखन–प्रकाशनको थालनी कविताबाट भएको हो । २०२२ सालको प्रतिध्वनि पत्रिकामा प्रकाशित जीवन घामछाया शीर्षक कविताका माध्यमबाट यिनी नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेकी हुन् । यिनका हालसम्म कविता, उपन्यास, समालोचना, अनुवाद आदि विविध विधाका एक दर्जनजति पुस्तकाकार वृmति प्रकाशित भइसकेका छन् भने विभिन्न पत्रपत्रिकामा अनगन्ती फुटकर लेखरचनाहरू छरिएर रहेका छन् ।

वासुदेव–विद्यादेव लुइटेल गुठीको उपाध्यक्षका साथै गुञ्जनको उपाध्यक्ष भएर काम गरेकी सुषमा आचार्यको सार्क लेखक सङ्घको सदस्य, पेन इन्टरनेसनल च्याप्टरको सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सदस्य पनि रहेकी छन् । नारीस्वरका सदस्य, मितेरी नेपालका सदस्यका रूपमा संलग्न यिनले भाषाकला केन्द्रीय शिक्षण विभाग, कीर्तिपुरको विभागीय प्रमुखका हैसियतले कार्य गरेकी छन् । यसैगरी यिनी रचना, जनमत, अभिव्यक्ति आदि पत्रिकाको आजीवन सदस्य पनि रहेकी छन् । अमेरिका, क्यानडा, जापान, चीन एवं सार्क राष्ट्रको भ्रमण पनि गरेकी सुषमा आचार्यले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा कुशलतापूर्वक नेपालको प्रतिनिधित्व पनि गरेकी छन् । उच्चस्तरीय शिक्षा आयोग एवं महिला, दलित, जनजाति राष्ट्रिय आयोगको सदस्यका रूपमा पनि यिनको संलग्नता रहेको पाइन्छ ।

२०२२ सालदेखि साहित्य सिर्जनरत सुषमा आचार्य आफ्नो साहित्य यात्राको लगभग साढे चार दशक बिताइसकेकी छन् । यस अवधिमा यिनी राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत एवं सम्मानित भएकी छन् । दुलीचन्द स्वर्ण पदक (२०२८), शुभराज्यभिषेक रजत महोत्सव पदक (२०५३), वीरेन्द्र–ऐश्वर्य सेवा पदक (२०५८), महेन्द्र विद्याभूषण क (२०५९), बालसाहित्य उत्कृष्ट पुरस्कार (२०६६) र मानचित्र सम्मान (२०६६) आदि यिनले प्राप्त गरेका पुरस्कार र सम्मानहरू हुन् । वmुशलतापूर्वक लामो समयसम्म प्राध्यापन सेवा गरेबापत यिनले शिक्षा पुरस्कार (२०४४) र त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक (२०५३) पनि प्राप्त गरेकी छन् । यसैगरी यिनले जापान फाउन्डेसन फेलोसिपअन्तर्गत छात्रवृत्ति प्राप्त गरी विद्यावारिधि उपाधि हासिल गरेकी हुन् ।

सुषमा आचार्यका हालसम्म निम्नलिखित पुस्तकाकार कृतिहरू प्रकाशित छन् ः

प्रकाशित वृmतिहरू

कविता ः गजुर ढल्कँदैछ (२०४९),

एक पत्र साकुरालाई (२०५८),

शोक–शब्दाञ्जलि (२०६५) ।

समालोचना ः मुलुकबाहिर एक सर्वेक्षण (२०५३),

माइतघरलाई चियाएर हेर्दा (२०५३),

नेपाली कविताको विकास वीरकालको प्रवेश भक्तिकालतिर (२०५८),

लैनसिंह बाङ्गदेलको औपन्यासिक कृतिको मूल्याङ्कन (२०५८),

केही व्यक्ति र कृतिहरू (२०६३) ।

उपन्यास ः निर्णय (२०६२/२०६५) ।

अनुवाद ः चन्द्रमामा खरायो (२०६४, बालकथा) ।

विविध ः Education System of Japan (2001),

Education System of Nepal (2001),

Life Long Learning Profesional Education for Female in Nepal (2001)

२. विषयविस्तार

सुषमा आचार्यले नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, अनुवाद आदि क्षेत्रमा कलम चलाएकी छन् । यिनै साहित्यकारको साहित्यिक व्यक्तित्वका विविध पाटाहरूको चर्चा गर्नु यस आलेखको उद्देश्य रहेको छ ।

२.१ कवि

सुषमा आचार्यलाई कविका रूपमा चिनाउने गजुर ढल्कँदैछ, एक पत्र साकुरालाई र शोक–शब्दाञ्जलि गरी तीन कृतिहरू प्रकाशित भएका छन् । लामा छोटा १८ कविताहरू समाविष्ट गजुर ढल्कँदैछ सङ्ग्रहको शीर्षक चयन यसै सङ्ग्रहमा सङ्कलित एउटा कविता गजुर ढल्कँदैछबाट गरिएको छ । यसमा सङ्गृहीत कविताहरू छ पङ्क्तिदेखि १०२ पङ्क्तिसम्मका आयाममा संरचित छन् । यिनको दोस्रो कविता सङ्ग्रह एक पत्र— साकुरालाई हो । यसमा ११ वटा कविता सङ्गृहीत छन् । यी कविताहरू छ पङ्क्तिदेखि ४१ पङ्क्तिसम्मका आयाममा संरचित छन् । सङ्ग्रहमा समाविष्ट आठौँ कविता एक पत्र— साकुरालाईबाट यस सङ्ग्रहको शीर्षक चयन गरिएको छ । पहिलो सङ्ग्रह गजुर ढल्कँदैछमा समाविष्ट हिमाल र नारी शीर्षकका दुई कविताहरूलाई दोस्रो सङ्ग्रहमा पनि समावेश गरिएको छ । यीमध्ये हिमाल कविता यथावत् रूपमा रहेको छ भने नारी कविताका केही अंशलाई छोडेर यसमा समावेश गरिएको छ । यसमा सबैभन्दा पहिले जापानी त्यसपछि नेपाली र अन्त्यमा अङ्ग्रेजीमा कविताहरू समावेश गरिएको छ । यस सङ्ग्रहका ११ वटै कविता ब् ीभततभच तय क्बपगचब शीर्षकबाट अङ्ग्रेजीमा दामोदर भट्टराईले गरेका छन् भने यसको जापानी भाषामा अनुवाद ताकेसी यामाशिता र युकि ईतोले गरेका हुन् । यसरी एउटै पुस्तकमा एउटै ठाउँमा क्रमशः जापानी, नेपाली र अङ्ग्रेजीमा प्रस्तुत गरिएकाले ती सबै रूपको तुलनात्मक अध्ययन गर्नसमेत सहज भएको छ ।

लघु शोककाव्य भनिएको शोक–शब्दाञ्जलि सुषमा आचार्यको तेस्रो कविताकृति हो । आफ्ना पिता साहित्यकार वासुदेव लुइटेल र पति प्रशासक पदमकुमार आचार्यको मृत्युका कारण शोकमा डुबेकी एउटी छोरी र एउटी पत्नीको विरहलाई कवितात्मक संरचनामा प्रस्तुत गरिएको यो कृति २८ पृष्ठको बाय संरचनामा आबद्ध छ । पितालाई सम्बोधन गरी लेखिएको यस कृतिमा पतिको शोक पनि पितालाई छोरीले सम्बोधन गर्दा नै अभिव्यक्त भएको छ । मृत्यु शाश्वत सत्य हो भन्ने कुरा सबैलाई थाहा छ तर आफन्तको मृत्यु अत्यन्त असहनीय हुँदो रहेछ भन्ने भावको प्रस्तुति पाइने यस कृतिमा प्रकृति र मानवका बीच तादात्म्य सम्बन्ध देखाइएको छ ।

यसरी आयामका दृष्टिले छोटा–लामा दुवै प्रकारका कविता सिर्जना गर्ने सुषमा आचार्यको कवित्व प्रगीतात्मक र आख्यानात्मक दुवै प्रकारका कविता सिर्जनामा केन्द्रित रहेको देखिन्छ ।

कवि सुषमा आचार्यले आफ्ना कवितामा देशमा व्याप्त अन्याय, अत्याचार, अज्ञानता र अशिक्षाको अन्त्यका लागि जागरणको आह्वान गरेकी छन् । यिनका कवितामा जागिरे जीवनको दयनीय अवस्थाको चित्रण पाइन्छ । जीवनको क्षणभङ्गुरता, आशा–निराशा, विवशता, बाध्यता, महँगी, अभाव, सङ्कट, असहायपन, निर्धाहरूको दयनीयता आदिको चित्रण गरिएका यिनका कवितामा प्रेमाकर्षण र समर्पण तथा मानवीय प्रेमप्रणयको अभिव्यञ्जना पनि पाइन्छ । छिमेकी देशसँगको सम्बन्ध, विविध सांस्वृmतिक सन्दर्भ, जिन्दगीको गतिशीलता, आत्मविश्वास, विश्वशान्तिको कामना आदि विविध विषयवस्तुलाई यिनले कवितात्मक स्वरूप प्रदान गरेकी छन् ।

सुषमा आचार्यका कवितामा जीवनयात्रामा अनेक अवरोध, बिघ्नबाधा र व्यवधानहरू आइपरे तापनि तिनलाई पन्छाएर यात्रालाई निरन्तरता दिनुपर्ने भाव अभिव्यञ्जित छ । यिनका अत्यन्त शोकका क्षणमा लेखिएका कवितामा पनि जीवनवादी एवं आशावादी स्वर मुखरित भएको छ । नारीका विविध रूपको गर्दै नेपाली नारीका अवस्थाको चित्रण पनि प्रतीकात्मक ढङ्गले गरिएका यिनका कवितामा पुरुषको पनि परिभाषा र चित्रण गरिएको छ । राष्ट्रको दिनानुदिन गिर्दाे परिस्थितिको वर्णन गरिएका यिनका कवितामा विविध सन्दर्भबाट राष्ट्रप्रेमको अभिव्यञ्जना पाइन्छ । यिनका कवितामा राष्ट्रनिर्माणको आहृवान, राष्ट्रिय अस्मिता र अखण्डताको जगेर्ना तथा पराधीनतामा नभई स्वाधीनतापूर्वक बाँच्ने आग्रह गरिएको पाइन्छ । सगरमाथा र हिमालको महिमागानका माध्यमबाट पनि यिनले राष्ट्रप्रेमको भावना अभिव्यक्त गरेकी छन् । नयाँ नेपाल निर्माणको चाहनाले समेत कवितात्मक स्वरूप प्राप्त गरेको यिनका कवितामा विश्वशान्तिको चाहना पनि अभिव्यञ्जित छ ।

सुषमा आचार्यका दार्जिलिङ, सिक्किम, एक पत्र साकुरालाई, निगाता विश्वविद्यालयजस्ता कतिपय कवितामा विभिन्न ठाउँको उल्लेख एवं वर्णनका माध्यमबाट स्थानीयताको दिग्दर्शनको प्रस्तुति पाइन्छ । प्रवृmतिका विविध रूपको चित्रण पाइने यिनका कवितामा प्रकृति र मानवको तादात्म्यतालाई देखाइएको छ । यिनले आफ्ना कवितामार्पmत सुन्दर भविष्यनिर्माणको आकाङ्क्षा अगि सारेकी छन् । कवि आचार्यले वर्तमानमा व्याप्त विकृति, विसङ्गति, आपसी द्वन्द्व, हत्या, हिंसा, आतङ्क आदिको चित्रणका माध्यमबाट युगीन यथार्थको प्रकटीकरण पनि गरेकी छन् । यिनका कतिपय कवितामा ऐतिहासिक–पौराणिक सन्दर्भबाट पनि युगीन परिस्थितिको पनि चित्रण गरिएको पाइन्छ ।

यसरी युगीन मानवीय जनजीवन, प्रकृति, संस्कृति आदि विभिन्न सन्दर्भ एवं प्रसङ्गहरूलाई अनुभूतिमय तुल्याएर कवितात्मक बान्कीमा ढाल्नु कवि आचार्यको भावगत मूल प्रवृत्ति रहेको देखिन्छ ।

अधिकांशतः सहभागीहरूको प्रयोग पाइने सुषमा आचार्यका कवितामा प्रायः परिवेशसूचक विशिष्ट वा सामान्य ठाउँ र समयको उल्लेख पाइँदैन । केही स्थानिक रङ्ग दिइएका कविताहरूबाहेक परिवेशका दृष्टिले ती सार्वस्थानिक र सार्वकालिक बन्नपुगेका छन् । सुखद र दुःखद दुवै वातावरणको स्वाभाविक चित्रण पाइने यिनका सबैजसो कविताको उद्देश्य विविध यथार्थको प्रकटीकरण रहेको छ । अधिकांशतः प्रथमपुरुष र अंशतः तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित यिनका कवितामा वैचारिकता समेत देखापरेको छ ।

भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा सुषमा आचार्यका कतिपय कवितामा प्रतीकात्मक अभिव्यक्ति पाइए पनि तिनमा भाषिक जटिलता र कृत्रिमताको छनक पाइँदैन । अत्यन्त सरल, सहज र सुबोध भाषिकविन्यास पाइने यिनका कवितामा मानक नेपाली भाषाको प्रयोग गरिएको छ । यिनका कवितामा प्रयुक्त सामाजिक, पौराणिक क्षेत्रका बिम्ब र प्रतीकहरू पनि जटिल र कृत्रिम नभई स्वाभाविक र सहजग्राह्य छन् ।

कल्पना र चिन्तनको संयोजन पाइने सुषमा आचार्यका कवितामा निराशावादी स्वरभन्दा बढी आशावादी एवं जीवनवादी दृष्टिकोण अभिव्यञ्जित छ । यिनले प्रेमलाई राष्ट्रप्रेम, प्रकृति प्रेम तथा मानवीय प्रेममा रूपायित गरी त्रिकोणात्मक रूपमा अभिव्यक्ति दिएकी छन् । यिनका कवितामा सामाजिक, राजनैतिक, आर्थिक आदि विभिन्न क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको चित्रण कतै स्वच्छन्दतावादी भावुकताका साथ र कतै यथार्थवादी ढङ्गले गरिएको छ । प्रथम र तृतीयपुरुष दृष्टिबिन्दुमा युगीन यथार्थको प्रकटीकरण गर्ने उद्देश्यद्वारा अभिप्रेरित यिनका कविता परिवेश चित्रणका दृष्टिले समेत सघन रहेका छन् । खासमा वस्तु संयोजन एवं शिल्प विन्यास दुवै दृष्टिले यिनको कवित्व सफल रहेको देखिन्छ । समग्रतः यथार्थलाई काल्पनिक रङ्गमा रङ्गाएर विचारप्रधान कविता सिर्जना गर्ने सुषमा आचार्य नेपाली कवितामा आफ्नो पहिचान कायम गर्न प्रयासरत कवि प्रतिभा हुन् ।

२.२ उपन्यासकार

सुषमा आचार्यलाई उपन्यासकारका रूपमा चिनाउने निर्णय (२०६५) शीर्षक एउटा उपन्यास प्रकाशित भएको छ । यो उपन्यास २०६२ सालमै प्रकाशित भएको उल्लेख पाइए पनि उपन्यासकारको पारिवारिक जीवन दुर्घटनाग्रस्त भएको बेला परेकाले त्यस संस्करण तितरबितर हुन पुग्यो र पाठकसामु प्रस्तुत हुन सकेन । त्यसैले २०६५ सालमा यसको दोस्रो संस्करण प्रकाशित भएको हो ।

७८ पृष्ठको लघु आयाममा संरचित प्रस्तुत उपन्यासको विभाजन बेग्लै किसिमले गरिएको छ । एकदिनको समयलाई आधार मानेर यस उपन्यासलाई प्रारम्भ भनी बिहान चार बजेदेखि सुरु गरेर बिहान सात बजे, दस बजे, अपरान्ह दुई बजे, अपराह्न चार बजे, साँझ सात बजे, बेलुकी नौबजे गरी सात परिच्छेदमा विभाजन गरिएको छ र समाप्त भनी रातको एघार बजे उल्लेख गरेर उपन्यासको अन्त्य गरिएको छ । यसरी एकैदिनको समयलाई आधार मानी पृथक् ढङ्गले विभिन्न परिच्छेदमा विभाजन गर्नु उपन्यासकारको सुषमा आचार्यको औपन्यासिक संरचना र विभाजनमा पाइने विशेषता हो ।

निर्णय उपन्यासमा सृष्टिका दुई रूप नारी र पुरुषका बीचमा व्याप्त सामाजिक असमानतालाई चिरफार गरेर देखाउँदै नारीप्रति राखिने सङ्कीर्ण सामाजिक सोचाइको विरोध गरिएको छ । जन्मैदेखि गरिने लैङ्गिक विभेद, बालविवाह, अनमेल विवाह तथा नारीलाई शिक्षा तथा चेतनाबाट वञ्चित गरिने परिपाटीप्रति विरोध गरिएको यस उपन्यासमा पूर्व र पश्चिम दुवैतिरका पौराणिक तथा ऐतिहासिक सन्दर्भबाट नारीको सम्पन्न र दयनीय अवस्थाको तुलनात्मक चित्र प्रस्तुत गर्दै नारी शक्तिको महिमागान गरिएको छ । संसारमा आज पनि मातृसत्तात्मक समाज जीवित रहेको उदाहरण प्रस्तुत गर्दै वैदिक युगमा महिलालाई प्राप्त सम्मान मध्ययुगमा आएर खोसिएको र आजसम्म पनि त्यो परिस्थिति कायमै रहेको वर्तमान स्थितिप्रति यस उपन्यासमा रोष प्रकट गरिएको छ । स्वस्थ तथा समतामूलक समाजको चाहना अभिव्यञ्जित यस उपन्यासमा समतामूलक समाज निर्माणका लागि नारी अनिवार्य रूपमा शिक्षित हुनुपर्ने भाव मुखरित छ । शिक्षाले नारीलाई स्वावलम्बी, स्वाभिमानी, चेतनशील एवं जागृत बनाउँछ र नारी शिक्षित भए भने परिवार, समाज, राष्ट्र तथा सम्पूर्ण विश्व नै स्वस्थ र सुन्दर हुने भाव यस उपन्यासमा अभिव्यक्त भएको छ । छोरीलाई अंश दिनुभन्दा शिक्ष्ाँ दिएर स्वावलम्बी बनाउनु पर्ने धारणाका अभिव्यक्ति पाइने यस उपन्यासमा महिला सशक्तीकरणका लागि स्वयं नारीहरू नै सङ्घर्षशील तथा कर्तव्यशील भएर आफ्नो कर्मक्षेत्रमा जुट्नु पर्ने भाव मुखरित भएको छ । यस उपन्यासमा पौराणिक, ऐतिहासिक तथा युगीन समयका नारीहरूको सङ्घर्ष, त्याग, बलिदान एवं योगदानलाई ससम्मान संस्मरण गरिएको छ ।

निर्णय उपन्यासमा हाम्रो सङ्कीर्ण सामाजिक परिपाटीमा नारीहरूले आपूmभित्र विद्यमान विलक्षण प्रतिभा प्रदर्शन गर्न नपाउँदै उनीहरूको प्रतिभा अपाङ्ग हने तथा अवसानको स्थितिमा पुग्नुपर्ने कटु यथार्थलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रस्तुत गरिएको छ । उनीहरूभित्र रहेको विशिष्ट व्यक्तित्व तथा प्रतिभालाई अपाङ्ग बनाउने र अवसानको स्थितिमा पु¥याउन जन्मैदेखिको विभेद, अनमेल विवाह, शिक्षा तथा चेतनाबाट बञ्चित गरिने स्थितिजस्ता विविध सन्दर्भहरूले भूमिका खेलेका हुन्छन् । पुरुषले गर्ने हर काम महिलाले गर्न सक्छन्, तर महिलाले गर्ने कतिपय काम पुरुषले गर्न नसक्ने यथार्थ सामु हुँदाहुँदै पनि महिलालाई अगि बढ्न नदिनु समाज र राष्ट्रको विकासका लागि बाधक बन्नु हो भन्ने तर्क अगि सारिएको यस उपन्यासमा आजसम्म यसतर्पm कसैको पनि ध्यान नगएको अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ ।

महिलासमस्याबाहेक निर्णय उपन्यासमा देशको बिग्रदो अवस्था, आर्थिक दुराचार, भ्रष्टाचार, सरकार एवं नेताहरूको अकर्मण्यता एवं चुनावी नारामा सीमित रहने कटु यथार्थ, शिक्षकको कर्तव्य, युवाहरू विदेशतिर पलायन हुने अवस्था, मानवअधिकारको दुर्दशा, सङ्कटमा परेको राष्ट्रिय अस्मिता आदिबारे विश्लेषण गरिएको छ ।

अत्यन्त न्यून सहभागी प्रयुक्त निर्णय उपन्यासमा औपन्यासिक चरित्रको निर्माण र विकासमा त्यति ध्यान दिएको देखिँदैन । यसमा उपन्यासकारको विचारलाई अगि बढाउन नाममात्रको सहभागीे संयोजन गरिएको छ । अनुकूल–प्रतिकूल दुवै प्रकारका सहभागीको संयोजन गरिएको यस उपन्यासमा युगीन नेपाली जनजीवनको चित्रण गरिएको छ । तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित यस उपन्यासको भाषा परिमार्जित देखिन्छ । उपन्यासकारको आफ्नो विचार तथा तर्क पुष्टिका लागि संस्कृतका शास्त्रीय सूक्तिहरूको प्रयोगका साथै नेपाली लोकोक्तिहरूको प्रयोग पनि प्रचुर मात्रामा यस उपन्यासमा भएको छ । नारी शक्तिको महिमागान गर्दै समतामूलक समाजको निर्माणका लागि आग्रह गर्नु प्रस्तुत उपन्यासको उद्देश्य हो ।

निर्णय उपन्यासको शीर्षक अभिधात्मक हुनाका साथै प्रतीकात्मक पनि रहेको छ । वैयक्तिक, पारिवारिक, सामाजिक एवं राष्ट्रिय स्तरका कुनै पनि तहमा नेपाली नारीहरूले निर्णय दिन सक्दैनन् भन्ने भावलाई व्यङ्ग्यात्मक रूपमा यस उपन्यासमा अभिव्यक्त गरिएको छ । यसै भावमा आधारित भएर चयन गरिएको यस उपन्यासको शीर्षक निर्णय अभिधात्मक एवं प्रतीकात्मक दुवै दृष्टिले उपयुक्त र सार्थक रहेको छ ।

औपन्यासिक दृष्टिले न्यून घटना र क्षीण कथानक भएको प्रस्तुत उपन्यास निबन्धात्मक अभिव्यक्ति भएको विचार तथा वक्तव्यहरूको सँगालोका रूपमा प्रस्तुत भएको छ । यसर्थ यसलाई वैचारिक उपन्यासका कोटिमा राख्न सकिन्छ । देशमा व्याप्त विकृति र विसङ्गतिको अन्त्यका लागि जनचेतनाको विस्तार तथा राजनीतिक, आर्थिक, सांस्वृmतिक र सामाजिक क्षेत्रमा परिवर्तनको आवश्यकता भएको तथ्यलाई सरल भाषाशैलीमा यस उपन्यासमा छर्लङ्ग परिएको छ ।

२.३ समालोचक

आधुनिक नेपाली समालोचनामा पनि सुषमा आचार्यको कलम सक्रिय रूपले चलेको पाइन्छ । यिनका समालोचनात्मक पुस्तकाकार वृmतिहरू मुलुकबाहिर एक सर्वेक्षण, माइतघरलाई चियाएर हेर्दा, वीरकालको प्रवेश भक्तिकालतिर, लैनसिंह बाङ्गदेलको औपन्यासिक कृतिको मूल्याङ्कन, केही व्यक्ति र कृतिहरू आदि हुन् । यसबाहेक यिनका विविध प्रकारका समालोचनात्मक लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

सुषमा आचार्यको पहिलो समालोचनात्मक कृति मुलुकबाहिर एक सर्वेक्षणमा उपन्यासको नामकरण, औपन्यासिक संरचना र कथन पद्दति, कथानकको विवेचना, नैतिक दृष्टिकोणले पात्रहरूको विश्लेषण, उपन्यासको प्रकृति प्रयोग विश्लेषण आदि शीर्षकका केन्द्रीयतामा लैनसिंह बाङ्गदेलको मुलुकबाहिर उपन्यासको विस्तृत अध्ययन–विश्लेषण गरिएको छ । यिनको माइतघरलाई चियाएर हेर्दामा उपन्यासको नामकरण, औपन्यासिक संरचना र कथन पद्दति, कथानकको विवेचना, उपन्यासको चरित्र चित्रण, पात्रहरू सामान्य परिचय, चरित्र चित्रणको सामाजिक विश्लेषण, स्वाभाविक रूपमा आठ पात्रहरू, नैतिक दृष्टिकोणले पात्रहरूको विश्लेषण, निष्कर्ष, पात्रहरूको मनोवैज्ञानिक विश्लेषण, उपन्यासको प्रकृति प्रयोग विश्लेषण, वार्षिक चक्र, प्राकृतिक सन्दर्भमा स्थान चेतना सामाजिवm विश्लेषण आदि विभिन्न शीर्षकहरूमा माइतघर उपन्यासको चिरफार गरिएको छ । यी दुवै समालोचनात्मक कृतिहरू एउटै वृmतिको समग्र अध्ययनमा आधारित छन् । यिनको लैनसिंह बाङ्गदेलको औपन्यासिक कृतिको मूल्याङ्कनचाहिँ एउटै व्यक्तिको समग्रतालाई समेटिएको पुस्तक हो । यसमा बाङ्देलका जीवनीको विविध पाटालाई केलाउँदै विविध सन्दर्भबाट विभिन्न शीर्षक उपशीर्षकमा उनका मूलभूत औपन्यासिक प्रवृत्तिको अन्वेषण गरिएको छ ।

यसरी हेर्दा सुषमा आचार्यको समालोचक व्यक्तित्व मुख्य रूपमा लैनसिंह बाङ्देल र उनका कृतिको अध्ययनसँग सम्बद्ध रहेका देखिन्छन् । यिनका पाँचवटा समालोचनात्मक कृतिमध्ये तीनवटा कृतिहरू उपन्यासकार लैनसिंह बाङ्देलमा केन्द्रित छन् । सुरुमा आफ्नो विद्यावारिधिको केन्द्रीय व्यक्तित्व लैनसिंह बाङ्देल भएकाले पनि बाङ्देल र उनका कृतिको अध्ययनतर्पm यिनको विशेष झुकाव रहेको हुनसक्छ तर दुर्भाग्यबश यिनको विद्यावारिधि उल्लेखित विषयमा नभएर साहित्येत्तर अर्कै विषयमा भएको बुझिन्छ ।

यिनको केही व्यक्ति र कृतिहरू नामक वृmतिमा चाहि वmुनै एउटा व्यक्ति वा वृmतिमा केन्द्रित नभई विभिन्न व्यक्ति र विभिन्न विधाका विभिन्न वृmतिहरूको व्याख्या–विश्लेषण गरिएको छ । यसमा व्यक्ति परिचय शीर्षकमा मेरो दृष्टिमा वासुदेव शर्मा लुइटेल, उपन्यासकार श्री वि.प्र. कोइरालालाई एक सम्झनापत्र, साहित्य र कलाका साधक लैनसिंह बाङ्देल उपशीर्षकमा विभिन्न व्यक्तित्वको चर्चा गरिएको छ । यसैगरी कृतिसमीक्षाअन्तर्गत अलिखित उपन्यासका प्रमुख पात्रहरू, अभैm दैलो उघारै छ, पहाडीको कृति, ऐतिहासिक महत्को सङ्ग्रह, मनोहराको घाँसको पूmल — एक विवेचना आदि उपशीर्षकमा सम्बन्धित कृतिको समीक्षा–विवेचना गरिएको छ ।

माथि उल्लेखित यिनका समालोचनाहरू छिटफुट रूपमा शोधखोजमूलक, तुलनात्मक र व्याख्यात्मक भए पनि मुख्य रूपमा प्रभाववादी खालका छन् । यसर्थ प्रभाववादी समालोचना लेखन सुषमा आचार्यको प्रमुख समालोचनात्मक प्रवृत्ति हो ।

सुषमा आचार्यको वीरकालको प्रवेश भक्तिकालतिर ऐतिहासिक समालोचनामा आधारित कृति हो । यस कृतिमा नेपाली कविताको प्राथमिक कालमा पर्ने सुवानन्द दासदेखि भानुभक्त आचार्यसम्मका रचनाकार र तिनका रचनाहरूको खोजी गरी अध्ययन–विश्लेषण गरिएको छ । साहित्य र साहित्यकारसम्बन्धी ऐतिहासिक तथ्यको खोजी गरिएकाले यो पुस्तक इतिहासप्रधान बन्न पुगेको छ भने तिनका बारेमा व्याख्या–विश्लेषण गरिएकाले व्याख्यात्मक र विश्लेषणात्मक बन्न पुगेको छ । कतिपय सन्दर्भमा यसमा तुलनात्मक पद्धतिको पनि अनुसरण गरिएको छ । छरपस्ट भएर रहेका प्राथमिक कालीन कवि र तिनका वृmतिहरूलाई खोजमूलक ढँगले व्याख्या–विश्लेषण गरिएको यस वृmतिले सुषमा आचार्यलाई ऐतिहासिक, अनुसन्धानमूलक र व्याख्यात्मक समालोचकका रूपमा चिनाएको छ । यसरी हेर्दा ऐतिहासिक पद्धतिको अनुसरण गरी खोजमूलक ढङ्गले समालोचना गर्नु समालोचक सुषमा आचार्यको अर्काे समालोचकीय प्रवृत्ति हो ।

सुषमा आचार्यले सरल र सहज शब्द, छोटा वाक्य तथा व्याख्यात्मक, विवेचनात्मक र विश्लेषणात्मक शैलीमा आफ्ना समालोचकीय दृष्टिकोणहरू प्रस्तुत गरेकी छन् । यसरी विश्लेषण, मूल्याड्ढन तथा अनुसन्धानात्मकता, तुलनात्मकता, प्रभाववादिता आदि यिनका मूलभूत समालोचकीय प्रवृत्ति हुन् । समष्टिमा भन्नुपर्दा आधुनिक नेपाली समालोचनाको फाँटमा सुषमा आचार्यलाई मुख्यतः प्रभाववादी र त्यसपछि ऐतिहासिकक समालोचकका रूपमा उल्लेख गर्न सकिन्छ ।

२.४ अनुवादक

नेपाली, अङ्गे्रजी, जापानी, हिन्दी आदि विभिन्न भाषाका ज्ञाता सुषमा आचार्यले मौलिक लेखनका अतिरिक्त चन्द्रमामा खरायो शीर्षक दिएर जापानी बाललोककथाहरूको नेपाली भाषामा अनुवाद–रूपान्तरण पनि गरेकी छन् । यसमा एघारवटा कथाहरू सङ्कलित छन् । जापानी लोककथाहरूको अनुवाद गरेर एउटै रचनाबाट नेपाली लोकसाहित्य र बालसाहित्यका क्षेत्रमा योगदान पु¥याउनु यिनको यस कृतिको उल्लेखनीय पक्ष हो । यिनले विदेशी रचनाहरू अनुवाद गर्दा नेपालीपनको गन्ध आउने गरी मौलिकताको छनक दिएकी छन् । यिनको यस अनुवाद कार्यले यिनलाई वmुशल अनुवादक र बहुभाषी व्यक्तित्वका रूपमा चिनाएको पाइन्छ । यसै अनुवाद कार्यमार्पmत यिनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट २०६६ सालको बालसाहित्य उत्कृष्ट पुरस्कार पनि प्राप्त गरेकी छन् ।

२.५ विविध

साहित्यिक कृतिबाहेक सुषमा आचार्यले साहित्येतर लेखनमा पनि कलम चलाएकी छन् । यस क्षेत्रमा यिनका Education System of Japan / Education System of Nepal गरी दुई पुस्तक प्रकाहित छन् । यसबाहेक Life Long Learning Profesional Education for Female in Nepal चाहिँ यिनको पी .एच्.डी. को शोधग्रन्थ हो । अङग्रेजी भाषामा लेखिएका यी पुस्तक शोधग्रन्थले यिनलाई बहुभाषी व्यक्तित्व, शिक्षाविद् तथा महिला सशक्तीकरणका लागि आवाज उठाउने नारीवादी लेखकको रूपमा परिचित गराएका छन् ।

३. विषयान्त

नेपाली साहित्यका स्रष्टा र द्रष्टा सुषमा आचार्य कविता, समालोचना, अनुसन्धान, अनुवाद आदि विभिन्न क्षेत्रमा कलम चलाउने बहुमुखी प्रतिभा हुन् । आफूले कलम चलाएजति सबै विधा र क्षेत्रमा प्रसिद्ध भएकी साहित्यकार सुषमा आचार्य बहुमुखी प्रतिभाशाली व्यक्तित्व हुन् । आधुनिक नेपाली साहित्य र समालोचनाको श्रीवृद्धिमा लागिरहेकी सुषमाकोे साधना निरन्तर रूपमा अघि बढिरहेको छ ।

काठमाडौं, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।