19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असार

कविता नरनाथ लुइँटेल July 24, 2010, 1:07 pm

बाँसुरीको अर्कै बोली उस्ले भाका फे¥यो

कालाम्य त्यो बादलुले धरामाथि हे¥यो

रोइरेछ असार आज भूमण्डलै ढाकी

श्रमिकको श्रम हाँस्छ मङ्सिरलाई डाकी ।

बाउसेले सम्याई दिए असारको हिलो

रोपाहारले रोपी दिए वीजनको बिलो

रुँदो असार तब हाँस्छ मङ्सिर मुस्काएर

कविता झैँ वयलीमा बाला झुलाएर ।

भाका छोपिन् बेँसी–खेत यौटी यौवनाले

गीत ब्युँझ्यो असारमा मीठो मुर्छन्नाले

श्रमिकको श्रमसँगै लाग्छ नाचुँ नाचूँ

गीत जस्तै दीर्घ आयु मैले पनि बाचूँ ।

गड्गडाई बाढी बग्यो खोला खहरेमा

हिर्काउँदो छ तप्केनीले पात लहरामा

वर्षा भित्रै लुकेको छ शिशिरको जरा

हिउँदमा फुल्छ फेरि असारकै गरा ।

हाँस्ने मौका नपाए झैँ रवि ओझेल् परी

मूल्यहीन अझै किन पसिनाको झरी

पसिनाकै सुगन्धमा चलिरेछ चोरी

लौन असार भेल बनी बगा नाफाखोरी ।

ढुङ्गा पनि चिल्याउने वेग असारको

ढुङ्गामै फूल् फुलाउने खुवी असारको

लाग्छ मलाई चिल्याएको ढुङ्गा बनी बसूँ

या त थोपा असारकै बनी भूइँमा खसूँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।