19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि वसन्त श्रेष्ठमाथि एक घोत्ल्याइँ

व्यक्तित्व / कृतित्व गोबिन्दिसंह रावत July 31, 2010, 11:48 am

फाल्गुन ४, २०१२ मा बसन्त पञ्चमीका दिन म्यांगलुंग बजार, तेह्र्थुममा जन्मनु भएका कवि श्रेष्ठ डाइस्पोरामा एक परिचित नाम हो । सानैदेखि साहित्य साधना गर्न रुचाउने कवि श्रेष्ठका कविता र लेखहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भएको देखिन्छ । विभिन्न साहित्यिक एवम् सामाजिक संघसंस्थासंग संलग्न रहेर साहित्यिक पत्रिकाहरुको संपादन गर्दै आउनु भएका छन् । उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानका वर्तमान अध्यक्ष वसन्त श्रेष्ठ देशपारीय नेपाली साहित्यलाई गति प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको पाइन्छ ।

तेह्रथुमका एम्एन् सरका नामले परिचित नारायणमान श्रेष्ठ तथा माता सुभद्रा श्रेष्ठका जेष्ठ सुपुत्र वसन्त श्रेष्ठले सन् १९९५ मा अमेरिका पलायन भएपछि गासबासकपासको खोजिमा मात्र भौतारिएर डलरको न्यायो सपनामा मात्र हराउनु भएन । जसरी उनका पिता एम्एन् सरले शिक्षाको राँको बालेर जिल्लालाई नै शिक्षित तुल्याउने अविभारा लिएर त्यसलाई फत्ते गरेर देखाउनु भयो त्यसरी नै वसन्तले आप्mनो कालोमसीबाट अमेरिकामा मात्र नभएर उत्तर अमेरिका अझ भनौं देशपारिय नेपाली समाजलाई नै साहित्यमय बनाउने अविभारा लिएको आभास हुन्छ । आगमनसँगै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अ.ने.सा.स) सँग आवद्ध रही साहित्यको सेवामा आप्mनो संलग्नता दर्ता गराएका वसन्तले आगमनको चारवर्षपछि अ.ने.सा.स.को गरिमामय अध्यक्ष पदमा आसिन रही उत्तर अमेरिकाको साहित्यलाई मलजल दिन शुभारम्भ गरिसकेका थिए ।

२०२३ साल अर्थात सन् १९६६ मा हस्तलिखित पत्रिकाको सम्पादन गर्न सफल भएका वसन्तले त्यसको केही वर्ष अघिदेखि कविता कोर्न थालेको हिसाबले आप्mनो साहित्य यात्राको लगभग साढे चार दशक बिताइसकेका छन् । यस अवधिमा उनी विभित्र पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत एवं सम्मानित भएका छन् भने विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय साहित्यिक कार्यक्रमहरुको संचालन गर्दै कतिपय कार्यक्रममा मूल्याङ्कन समितिको साहित्यिक परिक्षक रहेका बसेको पनि पाइन्छ । वसन्त श्रेष्ठले नेपाली साहित्यका गद्य र पद्य दुवै विधामा कलम चलाएका छन् । उनको साहित्यिक व्यक्तित्व एकातिर देखापर्छ भने अर्को तर्फ सामाजिक कार्यकर्ता भएर समाज सेवाको क्षेत्रमा पनि समय उबारेर कार्य यर्दै आएको पाइन्छ ।

उनलाई कविका रूपमा चिनाउने एउटा कविता संग्रह प्रकाशित भएको पाइन्छ । सन् २००८ मा आप्mनै प्रकाशनबाट प्रकाशित एवम् साहित्यकार तथा पत्रकार गोबिन्द गिरी प्रेरणाको सम्पादनमा प्रकाशित वसन्त श्रेष्ठका कविता शीर्षकको संग्रहमा उनले समष्टीमा विगत र वर्तमानको भोगाई र अनुभवका विचारहरु वाणी दिएको पाइन्छ । लामा छोटा २० वटा कविताहरू समाविष्ट वसन्त श्रेष्ठको कविता सङ्ग्रहमा सङ्गृहीत कविताहरू बीस पङ्क्ितदेखि ९४ पङ्क्ितसम्मका आयाममा संरचित भएको पाइन्छन् । युगीन मानवीय जनजीवन, प्रकृति, संस्कृति आदि विभित्र सन्दर्भ एवं प्रसङ्गहरूलाई अनुभूतिमय तुल्याएर कवितात्मक बान्कीमा ढाल्नु कवि वसन्तको भावगत मूल प्रवृित्त रहेको देखिन्छ । यिनका कविताहरुमा देश, जाति, स्थान र मानवीय विचारहरु अभिव्यक्त भएका छन् भने राष्ट्रवाद, समाजवाद र समानताका सन्देशहरु छचल्किएका छन् । यिनले आप्mना कवितामा कतै राष्ट्रप्रेमको भावना अभिव्यक्त गरे भने कतै विश्वशान्तिको चाहना पनि अभिव्यञ्जित गरेका छन् । आशावादी एवं जीवनवादी दृष्टिकोणले अभिव्यञ्जित कविताका स्रष्टा वसन्तका कवितामा प्रेमलाई राष्ट्रप्रेम, प्रकृति प्रेम तथा मानवीय प्रेममा रूपायित गरी त्रिकोणात्मक रूपमा अभिव्यक्ति दिएका छन् । यिनका कवितामा सामाजिक, राजनैतिक, भाषिकसंगै जातिगत भावना आदि कवितात्मक अभिव्यक्तिहरु कतै स्वच्छन्दतावादी भावुकताका साथ र कतै यथार्थवादी ढङ्गले आएको छ । यिनका कवितामा मानक नेपाली भाषाको प्रयोग गरिएको छ । भाषाशैलीय विन्यासका दृष्टिले यिनका कवितामा प्रतीकात्मक अभिव्यक्ति पाइन्छ जुन अत्यन्त सरल, सहज र सुबोध भाषिकविन्यासमा बाँधिएका हुन्छन् । खासमा वस्तु संयोजन एवं शिल्प विन्यास दुवै दृष्टिले यिनको कवित्व सफल रहेको देखिन्छ । समग्रमा भन्नु पर्दा वसन्त श्रेष्ठ यथार्थलाई काल्पनिक रङ्गमा रङ्गाएर विचारप्रधान कविता सिर्जना गर्ने नेपाली कवितामा आप्mनो पहिचान कायम गर्न प्रयासरत कवि प्रतिभा हुन् ।

उनको साहित्यप्रतिको आस्था ११ वर्षको कलिलो उमेरमै अङ्कुरित भएर तीनजुरे हस्तलिखित साहित्यिक पत्रिकाको रुपमा देखापरिसकेको थियो भने यसले अहिलेसम्म निरन्तरता पाईनै रहेको छ र गत वर्षको संयुक्त सम्पादनको उत्तर अमेरिकाको नेपाली कवि र कविता यसको पछिल्लो कडी बन्न पुगेको छ । साहित्यिक संलग्नतामा पनि अ.ने.सा.स. बाट शुरु भएको यात्रा भर्खर स्थापना भएको नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका को अध्यक्ष पदमा मनोनित भएपछि उनको साहित्यिक क्रियाकलापले अझ बढी गति पाउने भएको छ । साहित्यका अथक यात्री भनेर चिनिएका वसन्तको अध्यक्षतामा गठन हुनासाथ उत्तर अमेरिकको प्रतिष्ठानले देशपारीय नेपाली साहित्यमा मात्र नभएर नेपाल साहित्यमा नै कविता विधामा हजार डलर (ने.रु. अस्सी हजार बराबर) को पुरस्कार राखेर प्रतियोगितात्मक कवि गोष्ठी सफलतम् आयोजना गराएर साहित्यप्रति जनरुचि बढाईदिएका छन् । उनको अध्यक्षमा गठित प्रतिष्ठानले यथाशिघ्र उत्कृष्ठ पुस्तकहरुको प्रकाशन र नेपाली साहित्यका उत्कृष्ठ कृतिहरुको अंग्रेजी भाषामा अनुवाद गर्ने योजना राखेको छ ।

वसन्त श्रेष्ठ १९९५ मा तारानाथ शर्मा सरको शब्दमा पातालवास गरेका थिए । उनको काब्यात्मक अभिव्यक्तिले नेपालका पत्रिकाहरुमा स्थान पाउन थालेपछि अमेरिका पलायन भएपछि पनि त्यसले निरन्तरता पाउदै जानुलाई खाने मुखलाई जुँघाले छक्दैन भन्ने हाम्रो उखानलाई प्रमाणित गरेको छ । यसलाई अझ पुष्टी गर्ने काम उनको कविता संग्रह वसन्त श्रेष्ठका कविता को पृष्ठ तीनमा सम्पादक प्रेरणा लेख्छन् ः “ नेपालमा फुर्सदैफुर्सदको अन्धाधुन्धमा कवि हुनुको आनन्द र पीडा एक प्रकारको हो भने अमेरिकामा चरम व्यस्ततामा कवि हुनुको पीडा र आनन्द बेग्लै भए पनि कुनै न कुनै विन्दुमा समान पनि हो । यो अदृश्य समानता दृश्यमान् असमानताको एक प्रकारको काव्यिक छाया हो ” । यो प्रसङ्ग कोट्याउनुको प्रमुख कारण हो उनको कविताले क्यानाडाको पहिलो पत्रिकामा पनि स्थान पाउनु । अमेरिकाको व्यस्त र अतिव्यस्त जीवन शैलीबाट दुईचार क्षण उबारेर वा परिवारसँग पैँचो लिएर कोरिएका कविताको उच्च मूल्याङ्कन हुनु पर्छ । त्यसैले त्यसताका (नब्बेको दशकमा) उत्तर अमेरिकामा कविताको अनिकालनै लागेको देखिन्छ । क्यानाडाको पहिलो साहित्यिक मान्यता राखेर किरण ढुङ्गानाको सम्पादनमा प्रकाशित भएको ‘दियालो’ को वर्ष ४ अंक १ जनवरी–मार्च १९९७ को अंकमा वसन्त श्रेष्ठको “आस्था” कविता प्रकाशित भएको पाइन्छ । त्यसबेला क्यानाडामा कविका रुपमा मोन्ट्रियलका उही शसु अनि टोरोन्टोका शारदा ढुङ्गाना र डा. अम्बिका अधिकारीमात्र देखापरेका थिए । उनीहरुका कवितामा प्रारम्भिक प्रयासको गन्ध पाइन्थ्यो भने वसन्तका कविताले परिपक्कताको आभास दिएको थियो ।

समय किन मतिभ्रम बनेर,

हीनताबोधको पहाडभित्र पुरिदै गइरहेछ,

एउटा ठूलो पर्खाल म भित्रभित्रै बढिरहेछ,

द्वन्द्व म भित्र–भित्रै हुर्किरहेछ,

विष्फोटनको क्षण झन नजिकिएको,

महसुस बढिरहेछ ।

यस कविताका माध्यमबाट कविले आज हाम्रा आस्थाहरू कसरी आस्थाहीनतातिर लम्किरहेछन् भन्ने वास्तविकतालाई देखाउने प्रयास गरेका छन् । अ‍े.ने.सा.स.का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले उनको आस्था कवितालाई अहिलेसम्मकै वसन्त श्रेष्ठको उत्कृष्ठ कविताको रुपमा लिएका कुरा उनले अस्वीकृत विचार साहित्य गुठी, नेपालले प्रदान गर्ने सन् २००८ को अस्वीकृत पुरस्कार वसन्त श्रेष्ठले पाउदा आयोजना गरिएको पुरस्कार समारोहमा भनेका थिए । वास्तवमा उनको लेखाईमा परिपक्कता पाइन्छ त्यसैले उनका शब्दले नै समग्रताको वयान गरिरहेको हुन्छ ।

म आफैं

गहिरो पीडामा छु

मेरो रोदन

कसैले नसुनोस् भनेर

एकान्त–एकान्तमा रुन्छु

(खुसी कविताबाट)

अकाल मृत्यु

बिनाकारणको मृत्यु

शुभचिन्तकको मृत्यु

प्राप्त मृत्यु

पुरै परिवारको मृत्यु

प्रश्नैप्रश्नको

पहाड बोकेर

असीम श्रद्धा र माया बोकेर

त्यो शवयात्रा बढिरहेको थियो

(शवयात्रा कविताबाट)

लामो निद्रापछिको

सपना होस्

या छोटो निद्रापछिको

सपना होस्

सपना

आखिर

सपना न हो

(सपना कविताबाट)

हुन त यहाँ प्रसङ्गवस् छानिएका कविताले छोटो अंशले कवि वसन्तको कवित्व व्यक्तित्वलाई देखाउन सकिदैन । त्यसका लागि उनका कविताहरु नै पढ्नु पर्छ । तर कविताले अभिव्यक्त गर्न खोजेका कुराहरु छोटो अंशले पनि देखाएको छ ।

तीनजुरे, पूर्वेली धुन, अन्तर्दृष्टी, आवाज र क्ष्ल् त्इग्ऋज् पत्रिकाको सम्पादनमा आप्mनो सहभागिता देखाउँदै आउनु भएका वसन्तको काव्ययात्रामा कोशे ढुङ्गाको रुपमा देखापरेको वसन्त श्रेष्ठका कविता पछि भावनाका लहरहरु संगै उनका कविताहरुको अंग्रेजी अनुवाद पनि अर्को कोशे ढुङ्गाका रुपमा स्थापित हुने भएको छ । उनले पद्यमा कलम चलाएर काव्यात्मक अभिव्यक्तिलाई मुखारित गर्दै आएका थिए भने गद्यका माध्यमबाट आदिकवि भानुभत्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, वरिष्ट कवि गोपाल प्रसाद रिमाल राष्ट्रकवि माधव घिमिरे, वरिष्ट साहित्यकार डा. तारानाथ शर्मा, कविवर भूपी शेरचन, गायक तथा संगीतकार अम्बर गुरुङ, लोकगायक कुमार बस्नेत, हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गायक द्वीप श्रेष्ठ जस्ता नेपाली भाषा–साहित्य कला–संस्कृतिका धरोहरहरुको व्यक्तित्वमाथि कलम चलाएर उनीहरुको परिचय देशपारिय नेपाली समुदायहरुबीच गराएर एउटा अविष्मरणीय काम गर्नु भएका छन् ।

अमेरिका आएर नेपाली कविताप्रति जनरुचि बढाउन उनले विभिन्न संस्थासँग आवद्ध रहेर कविताकै वकालात गर्दै कविताकै लागि काम गरिरहनु भएको देखिन्छ । अखिल नेपाल अमेरिका संघ (ए.एन.ए) मा आवद्ध रहदै उनले बोस्टोनको सम्मेलनमा कविता महोत्सवको थालनी गर्नु भएको थियो भने त्यसलाई निरन्तरता र व्यापकता दिदै अन्तराष्ट्रिय कविता महोत्सवको आयोजना गराउनु भयो । कविता रच्ने, कविता बोल्ने, कवितामा नै रमाउन रुचाउने कवि वसन्तले कविता कै भाषामा बामेसर्दै गरेको सगरमाथा टेलिभिजनमा कार्य संचालन समेत गर्नु भएको पाइन्छ । उनले जुनकुनै संस्थामा आफुलाई आवद्ध गराए त्यो संस्थालाई साहित्यमय बनाउदै लिएर गएको पाइन्छ ।

एएन्एको कार्यकारी सदस्य भएपछि एएन्एको न्युज्लेटरको संपादक गर्दै त्यसलाई ‘इन टच’ बनाएर पछि आवाज पत्रिको संपादन गरेर त्यसलाई समाचार वाहकबाट साहित्यिक पत्रिकाको रुपमा नयाँ कलवर दिनु भयो । बोस्टोनको संस्थासँग आवद्ध रहँदा त्यहाँ बसोबास गर्ने नेपालीहरुबीच एकआपसमा सम्बन्ध बढाउन टेलिफोन डाइरेक्टरीको संपादन गर्नु भएको पाइन्छ । यो थियो उनको सामाजिक व्यक्तित्व तर समष्टीमा भन्नु पर्दा वसन्त श्रेष्ठ पहिला कवि हुन त्यसपछिमात्र अरु थोक । उनले आप्mनो व्यक्तित्वलाई विभिन्न सामाजिक तथा साहित्यिक काममा समर्पण गरेको पाइन्छ । विभिन्न साहित्यिक समारोहहरुमा प्रतियोगिताको आयोजना हुँदा निर्णायक मण्डलीमा पहिलो नाम वसन्त श्रेष्ठकै आउने गर्छ । कुशल निर्णायक भएकोले नै होला अमेरिकामा भएका धेरैनै साहित्यिक कार्यक्रमहरुमा उनी संचालक समितिको नजरमा पहिलो निर्णायकका रुपमा देखापर्ने गर्छन् । यसको उदाहरण भर्खरमात्र नवगठित नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले आयोजना गरेको पहिलो वृहद अन्तराष्ट्रिय कविता महोत्सवमा ३२० वटा कविताहरुको छनोट प्रक्रियाबाट लिएर अन्तिम दसवटा कविताको चयनमा उनले अपनाएको निष्पक्षता उदाहरणीय नै बन्न पुगेको छ । निर्णायक मण्डलीका निर्णयकहरुलाई समेत को को निर्णायकहरु छन् भन्ने थाहा नपाउनु र कविको नाम बिनाको कवितालाई मूल्याङ्कन गर्नु वास्तवमा नै एउटा निष्पक्षताको नमूना भएको थियो

अन्त्यमा, छिमेकी गाउँको अध्यक्ष भएर समाज सेवा गरेका, नेपाल दर्पणको सल्लाहकार भएर नेपाली समुदायलाई आप्mनो सेवा उपलब्ध गराउनु भएको वसन्तलाई एक स्थापित कवि संगसंगै कुशल संपादक, सफल संयोजक र असल सहयोगीका रुपमा परिचय दिदा अतिशयोक्ती नहोला ।

टोरोन्टो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।