19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देशको नक्सा

कविता भोजराज न्यौपाने August 1, 2010, 12:17 pm

भन्नुस त महोदय

मेरो देश कस्तो हुन्छ ?

मेचीदेखि महाकाली सम्मका

जंगे पिलरहरु

युद्धले थकित सिपाहीजस्तै

घिस्रिंदै घिस्रिंदै नेपाल पसिरहेका बेला

महोदय, तपाईं राजधानीमा

देशको नयाँ नक्सा कोर्दै हुनुहुन्छ

देशको भागवण्डा गर्दै हुनुहुन्छ ।

अलिकति शेर्पा

अलिकति तामाङ

नेवार, मधेसी, थारु

राई, लिम्बु, गुरुङ

मगर, चेपाङ, थकाली

र, क्षेत्री–बाहुन सबैलाई भाग लगाउँदै

कति बचाउनु हुन्छ महोदय मेरो देश ?

संस्कृतिका विशाल आयामहरु

सभ्यतासंगै सौम्य बन्दै गएका बेला

कसले सल्कायो आगो यो देशमा ?

कसले खन्यो जातियताको खाडल ?

कसले रच्यो धर्मको नाम ?

तराईमा कौरा नाच्दा होस्

वा पहाडमा भोजपुरी नाच्दा

किन कोही अत्तालियो ?

राजधानीले छठ पर्व भित्र्याउँदा

कसलाई घाटा, कसलाई नाफा भयो ?

क्रिसमस होस् या इद

दशैं होस् वा तोरन्ल

लोछार होस् वा होली

संस्कृतिका भव्य संरचनाहरु

मजबुत बनीरहेका बेला

कसले बनायो आदिबासी र जनजातिको

मन दुख्ने कथा ?

सुन्दर देशको

खराब चित्र बनाउने को छ महोदय पर्दाभित्र ?

आफ्नै स्वार्थको तूफान बनेर

आफ्नै वस्ती खरानी बनाउने सपना नदेख्नु महोदय

बाईसे–चौबीसे राज्यजस्तै

टुक्रा टुक्रामा विभाजित हुने

मेरो देशको नक्सा कसरी हेर्न सक्छु म ?

कल्पना गर्छु

मेरो देशको नक्सा

राई– लिम्बुले खोजेजस्तो

मधेसी–थारुले रोजेजस्तो

तामाङ–शेर्पाले मागेजस्तो

सबै जातिले चाहेजस्तै

अलिकति टुक्रयाउँदै भाग लगाउँदै गरेको

कतै चुच्चो जस्तो — कतै बुच्चो जस्तो

कतै नेप्टो जस्तो — कतै थेप्चो जस्तो

साँच्चै भन्नुस त महोदय

मेरो देश कस्तो हुन्छ ?

मेरो देश कत्रो हुन्छ ?

साँच्चै मेरो देश

‘देश’ जस्तो त बन्छ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।