19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनसुन

कविता सरिता तिवारी August 2, 2010, 11:21 am

नानू

ढोका ढक्ढक्याइरहेछ कोही

सुन त

बतास चलिरहेको छ बाहिर

मनसुन शुरु भएको छ

त्यो

समयको नयाँ झोक्का हुन सक्छ

जसले खट्खट्याइरहेको छ

हाम्रो घरको ढोका

या तिमीलाई ऋतुपर्वको निमन्त्रणा दिन

रङ्गीन छाता लिएर उभिएकी हुन सक्छे

तिम्रो प्रिय साथी

अथवा

भर्खरै सिमसारबाट चरेर फर्केको

उडानरत घाइते बकुल्ला हुन सक्छ

फड्फडाउदै पखेटाहरू

अन्तिम सास फेरिरहेको

त्यो सानो प्वालबाट चियाएर हेर त

केही त हुनुपर्छ अवश्य

हाम्रो ढोका बाहिर

मनसुन

अक्सर

मनोरञ्जनभन्दा त्रासदी भएर भित्रिएको छ यो ढोकाबाट

तिमी सानै छौ छोरी

अहिल्यै सबैकुरा बुझ्न सक्तिनौ

बिजुली चम्किरहेछ, चट्याङ् पर्दैछ र अबरुद्ध छ टेलिफोन

झ्यालका पल्लाहरू बेस्सरी लगाउनु पर्छ

दक्षिणी हुरी अलिक साह्रो चल्दैछ

यस्तोमा

दक्षिणमुख किञ्चित कमजोर ढोका

आफै पनि खट्खटिन सक्छ

शंसयमा छु म

जे पनि हुन सक्छ बाहिर

आँखाभरि नयाँ नयाँ हतियार बोकेर

क्यान्टोनमेन्टबाट भाग्दै गरेको भूतपूर्व छापामार हुन सक्छ

वा सम्भावित अनिष्टको सङ्केत गर्न

सदाशयतापूर्वक आइपुगेको शुभेच्छु छिमेकी हुन सक्छ

अनुमान गर्न सकिदैन

चोर, लुटेरा, सिपाही, पत्रकार वा कुनै भिखारी ?

अथवा

साना नानी बोकेर कतै टाढा जान हिडेकी एक्ली आइमाई ?

वा हुन सक्छ

खाकी लुगा लगाएको

सुखद समाचारको पुलिन्दा हातमा लिएर

हसिलो मुद्रामा उभिरहेको हल्कारा

ढोका ढक्ढक्याइरहेछ कोही

नानू

जोसुकै पनि हुन सक्छ बाहिर

पर्ख, म पनि आउदै छु

साबधानीपूर्वक

बिस्तारै खोल्नुपर्छ ढोका ।

चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।