19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमाहरु

कविता शर्मिला पोखरेल August 3, 2010, 11:31 am

बर्षौं बर्षहरु परदेशमा बिताइसकेपछि

बाटो भुलेर कुनै एकदिन

आफ्नो घर गयौ भने

उसै गरि सदा झैं

चुलो र चौको गरिरहेको पाउनेछौ

तिमीले आमाहरुलाई

पहिले झै अझै पनि

तिमीलाई सम्झिएर रोइरहेको

देख्‌नेछौ तिमीले आमाहरुलाई

तिमी प्रगतिपथमा लम्किरहेको मान्छे

मिनट मिनटको हिसाव राख्छौ

डलर पाउन्डको सपना देख्छौ

तर सधैं जस्तो

हिजो पनि, आज पनि एकनासले

उहि भाँडा जुठो पार्दै

उहि भाँडा चोख्याउदै

बिहान, दिउँसो र बेलुका गरि

बर्ष बर्ष छोट्याउँदै

ढाड कुप्रिइ सक्दा पनि

आँखा धमिलिन थाल्दा पनि

हरेक क्षण तिमीलाई सम्झिरहदै

निरन्तर अविरल

काम गरिरहेको पाउनेछौ तिमीले

आमाहरुलाई

आमाहरु,

आफ्नो महत्वको महिमा गाँउदैनन्

आमाहरु

आफ्नो लागि सपना देख्दैनन्

तिम्रो खुशीमा समर्पित हुन्छन्

तर आमाहरु

कहिल्यै ब्यक्त गर्दैनन्

आमाहरु,

मन्दिर जस्तै पवित्र हुन्छन्

नदि जस्तै सरल हुन्छन्

तिमीले आमाका आँखावाट

बगिरहने आँशुका धारा देखेकाछौ ?

त्यो मात्र तिम्रो लागि हो

आमाहरु,

आफ्ना निम्ति कहिल्यै रुदैनन्

तिमीले आमाहरु हाँसेको देखेका छौ ?

त्यो पनि तिम्रै खुशीमा हो

आमाहरु

आफ्नो निम्ति बाँच्नै जान्दैनन्

आमाहरु,

डलरको सपना भन्दा माथि हुन्छन्

आमाहरु

हतारको जिन्दगी भन्दा अलग हुन्छन्

अब तिम्रो पालो हो यो,

जीवन भर

केवल तिम्रो बारेमा सोच्ने

आमाहरुको बारेमा

तिमीले पनि एकपल्ट सोच्ने हो कि ?

आमाहरुलाई

एक मुठि खुशी

अब तिमीले पनि दिने हो कि ?

खार्पा, खोटाङ्ग, हाल: इडमन्टन, अलबर्टा क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।