19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो गाउँलाई सोध

कविता दिपेन तामाङ August 4, 2010, 11:31 am

जिजीविषा प्रत्येक मान्छेको

लटरम्म तर नपाकेका फल र

फक्रन आतुरिएका फूलका कोपिला जस्तै

अपत्यारिलो जीवन चक्रमा

बाँच्नुछ, हुर्कनुछ त्यस्तै फक्रनु

व्यंग्यात्मक हाँसो

अवहेलित दृष्टिको घेराभित्रबाट

आत्मग्लानि, अभिशाप, दुर्भाग्यको कथा

मेरो गाउँलाई सोध

हेलचेक्राई, शोषित, दमित इच्छाहरू

एउटै रूखमा जीवन नबुझी तुर्लुङ्ग झुण्डिएका

भकटे, सुन्तला त्यस्तै डल्ले खोर्सानी

स्वशाषित, स्वतन्त्र, स्वअस्तित्वमा बाँच्ने आकांक्षा

भकटेभित्रको सन्तान भकटेको

सुन्तलाभित्रको सन्तान सुन्तलाको

खोर्सानीभित्रको सन्तान खोर्सानीको

धप्प छात्ती फुकाएर जिउन अघि

चिथोरिएर, निमोटिएर विवश बनेको कथा

मेरो गाउँलाई सोध

नभएको कसलाई छ ?

स्वतन्त्र बाँच्ने-बनाउने रहर

छुट्टै पहिचान जीवनको

छुट्टै मूल्य जीवनको

छुट्टै अस्तित्व जीवनको

यहाँ तर...

मानवता दानवताको घेराभित्र

केस्रा-केस्राभित्र

रस-रसभित्र

निर्धक्क आडम्बरको घुम्टो ओढेर

आफ्नै जीवनको मूल्यहीनतामा

फुस्रो हाँसो

पाइरियाको ङिच्च दाँत देखाएर

पल-पल ती

स्वशाषित, स्वअस्तित्व चाहनेहरूमाथि

जमाएका प्रभूत्त्वको कथा

मेरो गाउँलाई सोध

कठयाङ्ग्रिने जाडोलाई आफ्नै ठान्नेहरू

निर्धो, विदेशी कहलाइएका कथा

‘स्व’ भावना पटक-पटक लुटिइएका कथा

‘गाँस’ शिक्षाको गाईले खाएर

भूँडीभित्र पचाउन नसकेर

सुस्तरी-सुस्तरी भूँईमा तेर्सिएका कथा

मेरो गाउँलाई सोध !

आफ्नै गाउँलाई सोध !!

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।