19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाउँ नआएको सडक

कविता मनोज बोगटी August 7, 2010, 1:00 pm

गाउँ पुग्दैन सड़क।

गाउँमा जहिलेसुकै चिप्लो बाटो पुग्छ

सॉंघुरो र खाल्डाखुल्डी भएर।

लड्दै हिँड्छ सह त्यहॉं।

सड़क गाउँ पुगेको भए त बिल्डिङ पुग्थ्यो होला।

बिल्डिङ गाउँमा कति अग्लो हुन्थ्यो होला

सबैको शीरको टोपी भुइँमा खस्थ्यो होला।

जङ्गल बिल्डिङहरूको पीरले बसाइँ सर्थ्यो होला।

जङ्गल र बिल्डिङमा दुश्मनी शुरू हुन्थ्यो होला

कसले जित्थ्यो होला?

सिंगान तान्दै प्राइमेरी धाउने धारावाहिकको अक्षराको दुइनम्बरे खातामा

सड़कैसड़क गाड़ीमा च़ड़ेर आउँथ्यो कि सभ्य, सफ्फा अक्षर

त्यसले लेखिन्थ्यो कि नयॉं गाउँ।

त्यो कथा पढ्ने मोट्टो चश्मा पाउँथिन्‌ कि

साक्षारता अभियान नछुटाउने सर्किनी कान्छीले।

सड़क गाउँ पुगेको भए त कुवा भन्दा ठूलो भूगोल

अनि बाजेको निधार भन्दा पुरानो इतिहास पुग्थ्यो

भूगोल र इतिहास दुवैले मिलेरै गरेको षड़यन्त्र पनि बाइकबाट उत्रन्थ्यो कि

लेउ लागेको आँगनमा।

विज्ञान

बाङ्गिने गरी युरियामा उम्रेको चामलको भारी बोक्ने

जोङ्गाको हुटमा चड़ेर आउँथ्यो

धुप्पीघरको धुरीमा चढ़ेर हेर्थ्यो

कहिल्यै छानासम्म पनि आउन नसकेको टाड़ाको घाम

र’ अक्षर कहिल्यै देख्न नपाएकी झुम्रीको थालमा

खस्न नसकेको रोटी जस्तो जून।

चमेली र हरिप्रसादको निधारको पसीना

किन भुँइमा नै खस्छ?

खोज्थ्यो।

गाउँमा सड़क नपुगेर

कति काम छेकियो हेर त!

सड़क गाउँ आउन नसकेको हो कि

देशको नीति?

सड़क गाउँमा नआएकोले

बिचारले यात्रा गर्नै सकेको छैन।

म त्यहीँ गाउँबाट तपाईंले पढ्ने कविता लेख्दैछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।