16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'स्रष्टा र डिजिटल वार्ता':भलाकुसारी इन्टरनेटमा

कृति/समीक्षा भोगेन्द्र लिङ्देन August 8, 2010, 12:27 am

साहित्यकारसँगको भलाकुसारीमा स्रष्टा कृष्ण बजगाईंले नौलो थालनी गरेका छन् । नेपाली साहित्यकारहरुसँग बेल्जियममै रहेर इमेलमार्फत अन्तर्वार्ता लिएर उनले त्यसलाई पुस्तकको आकार दिए । साइबर संसारको दुनियाँमा दिनप्रतिदिन थपिइरहने नौलो आयाम तथा सुविधाहरुको उपयोग गरेर बजगाईंले एउटा सङ्ग्रहणीय कृति थपे नेपाली साहित्यमा । अहिलेको समयमा कतिपय साइबर साइटहरुमा नेपाली साहित्यको उल्लेख्य उपस्थिति भेटिन्छ । वार्ताकारको उद्देश्य पनि नेपाली साहित्यलाई साइबरको सञ्जालमा फैलाउनु रहेको स्पष्ट हुन्छ । उनी भन्छन्, ‘वर्तमान समय भनेको साइबर साहित्यको जमाना हो ... विशेषतः साहित्य र कलाबाट टाढिँदै गएको अहिलेका युवालाई इन्टरनेटका माध्यमबाट साहित्यमा पुनः आकर्षित गरिरहेको छ साइबर साहित्यले ।’ त्यसकारण बजगाईंको प्रयास सराहनीय छ ।

नेपाली साहित्यमा स्थापित तथा चर्चित एवं नवप्रवेशी साहित्यकारहरुसँग गरिएको यस वार्ता पुस्तकमा जम्मा २३ जना स्रष्टालाई समेटिएको छ । वार्तामा कमलमणि दीक्षित, कविताराम श्रेष्ठ, कृष्ण धरावासी, गोविन्दराज भट्टराई, जगदीश घिमिरे, विक्रम सुब्बा, युवराज नयाँघरे, विमल भौकाजी, धीरकुमार श्रेष्ठ, ज्ञानू पाण्डे, मोमिला आदि रहेका छन् । यसरी वार्ताकारले सङ्ग्रहलाई प्रतिनिधि साहित्यकारहरुको विचार मञ्चको रुप दिन खोजेका छन् । यसमा उनी सफल भएका छन् । सबैको विचारलाई नेपालबाट टाढा रहेर पनि आत्मसात गर्न सक्नु र तिनलाई पुस्तकको रुप दिने उनको प्रयास सार्थक सावित भएको छ ।

सबै साहित्यकारहरुसँगको वार्तामा जीवनका भोगाइहरु, सङ्घर्ष, नेपाली साहित्यको समसामयिक समस्या, प्रवृत्ति, चुनौती एवं कठिनाइहरुलाई मुख्य आधार बनाइएको छ । धेरै ठाउँमा सम्बन्धित साहित्यकारका व्यक्तिगत कठिनाइ एवं अनुभवहरुलाई स्थान दिइएको छ, जस्तो कि सुरूआतमै कमलमणि दीक्षित नेपाली साहित्यमा लाग्नुको उपलब्धिलाई यसरी व्यक्त गर्छन्, ‘मैले मान पाएँ, प्रतिष्ठा पाएँ र सबभन्दा ठूलो कुरा आत्मसन्तोष पाएँ । गुमाएको केही छैन अलिकति पैसाबाहेक ।’ यसै गरी मदन पुरस्कार विजेता साहित्यकार जगदीश घिमिेरे भन्छन्, ‘साहित्य ऐना जस्तो निर्जीव हुँदैन, जीवन जस्तो सजीव हुन्छ ।’ साहित्यकार विक्रम सुब्बाको विचार छ, ‘सकारात्मक सोच राखेर सबै भाषाको उत्थान हुनु नै नेपाली भाषा र साहित्यको उत्थान हो ।’ विक्रम सुब्बाको विचार वर्तमान समयको आवश्यकता हो । यसलाई राज्यले बोध गर्नुपर्छ । साहित्यकार धीरकुमार श्रेष्ठ साहित्यिक पत्रिका प्रकाशनको गुनासोलाई यसरी व्यक्त गर्छन्, ‘यस (शब्दाङ्कुर) बाट मेरो आर्थिक अवस्था कहिलेकाहीँ डाँवाडोल पनि हुने गरेको छ, जसले गर्दा परिवारका सदस्यहरुबाट आलोचित छु । जे भए पनि जसोतसो अहिलेसम्म चलिरहेको छ ।’

यसरी लगभग दुई दर्जन साहित्यकारहरुसँगको वार्ता पठनीय छ । बीचबीचमा रमाइला प्रसङ्गहरु छन्, जसले पढिरहन मन लाग्छ तर पनि कतिपय कुरामा सुधार ल्याउनुपर्ने देखिन्छ । जम्मा तेइसजना स्रष्टामध्ये दुईजना मात्र महिला साहित्यकारहरु मोमिला र ज्ञानू पाण्डेलाई समावेश गरिएको छ । यसलाई व्यापक बनाउनुपर्ने देखिन्छ । यसै गरी कतिपय साहित्यकारलाई ४ देखि ५ पेज स्थान दिइएको छ भने कतिपयको १० पेजभन्दा लामो वार्ता छ । अझ पुस्तकका भूमिका लेखक गोविन्दराज भट्टराईको वार्ता त ७४ पेज लामो छ । यसलाई पढ्दा वार्ताभन्दा भट्टराईकै कुनै पुस्तकको अंश पढिरहेको भान हुन्छ । यस्ता कुराहरुले पुस्तकको सन्तुलन बिगारेका छन् । आगामी प्रयासमा सम्पादकले यस्ता पक्षहरुलाई ध्यान दिएमा सङ्ग्रह अझ प्रभावकारी र पठनीय हुने आशा गर्न सकिन्छ ।

साभार: शब्दाङकुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।