19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल संगम सापकोटा August 10, 2010, 12:16 pm

रोग, भोक, शोकमा लुकेको, गाउँ थियो र त विदेशीएँ म

छाक टार्ने कसरी हो दुखेको, घाउँ थियो र त विदेशीएँ म

ज्यामी मञ्जुरी धेरै गरेँ, स्वदेशमा पेट मात्रै भरेँ म

श्रमको त्यो ज्याला तुच्छ, भाउ थियो र त विदेशीएँ म

जब चाडपर्व आउँछन्, साहू कहाँ आमा धाउँछन्

पोहोरको रिन तिर्न नसक्ने, बाउ थियो र त विदेशीएँ म

ब्याजको स्याज गन्छ, घर आई बाख्रा गाई फुका भन्छ

दयाहीन जिम्माल दुष्ट, साउ थियो र त विदेशीएँ म

बाघ र बाँदरले सँधै, सोत्तर पार्थे बाख्रा र बाली

आफ्नो भन्ने त्यै खरिया, ठाउँ थियो र त विदेशीएँ म

बालबच्चा परिवार मेरा बुढा भाका बा–आमालाई

दुईछाक जोहो गर्ने मेरो, दाउ थियो र त विदेशीएँ म

दमौली एफ.एम., तनहूँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।