रोग, भोक, शोकमा लुकेको, गाउँ थियो र त विदेशीएँ म
छाक टार्ने कसरी हो दुखेको, घाउँ थियो र त विदेशीएँ म
ज्यामी मञ्जुरी धेरै गरेँ, स्वदेशमा पेट मात्रै भरेँ म
श्रमको त्यो ज्याला तुच्छ, भाउ थियो र त विदेशीएँ म
जब चाडपर्व आउँछन्, साहू कहाँ आमा धाउँछन्
पोहोरको रिन तिर्न नसक्ने, बाउ थियो र त विदेशीएँ म
ब्याजको स्याज गन्छ, घर आई बाख्रा गाई फुका भन्छ
दयाहीन जिम्माल दुष्ट, साउ थियो र त विदेशीएँ म
बाघ र बाँदरले सँधै, सोत्तर पार्थे बाख्रा र बाली
आफ्नो भन्ने त्यै खरिया, ठाउँ थियो र त विदेशीएँ म
बालबच्चा परिवार मेरा बुढा भाका बा–आमालाई
दुईछाक जोहो गर्ने मेरो, दाउ थियो र त विदेशीएँ म
दमौली एफ.एम., तनहूँ