14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

राजुबाबु श्रेष्ठको कथाशिल्प

व्यक्तित्व / कृतित्व लीला लुइटेल August 10, 2010, 7:58 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

राजुबाबु श्रेष्ठको जन्म २०२५ साल जेठ २७ गते गोरखाको तीनधारेमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम्.ए. र बी.एड्. सम्मको शिक्षा हासिल गरेका श्रेष्ठ प्रहरी सेवामा कार्यरत छन् ।

साहित्य संगम, गोरखा, आँधिखोला साहित्य सदन स्याङ्जा, नेपाल रेडक्रस सोसाइटीजस्ता विभिन्न सङ्घसंस्थामा संलग्न राजुबाबु श्रेष्ठले प्रहरी द्वैमासिक तथा प्रहरी बुलेटिन मासिकको सम्पादन समेत गरेका छन् । सगुन त्रैमासिक तथा सुनाखरी त्रैमासिकको सल्लाहकारसमेत रहेका श्रेष्ठले प्रहरी सेवामा रहेका साहित्यकारलाई जनसमक्ष परिचित गराउन प्रहरी र साहित्य (२०६१) नामक कृतिको सम्पादन पनि गरेको पाइन्छ ।

२०४१ सालदेखि लेखनमा लागेका राजुबाबु श्रेष्ठ नेपाली कथा साहित्यमा निकैपछि मात्र देखापरेका हुन् । आफ्नो कथायात्राको छोटो अवधिमै यिनको मारिनोसेलोको जून (२०५८) शीर्षकको कथा सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्त यिनका प्रशस्त फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । मारिनोसेलोको जून कथा सङ्ग्रहमा समाविष्ट कथामा आधारित भएर राजुबाबु श्रेष्ठको कथाशिल्प निरूपण गर्नु प्रस्तुत लेखको अभीष्ट रहेको छ ।

२. विषयवस्तु

विषयवस्तुलाई कथ्य एवं वस्तु पनि भनिन्छ । वस्तु कथा संरचना निर्माणको लागि अनिवार्य घटक हो । राजुबाबु श्रेष्ठका कथामा प्रयुक्त वस्तुको सङ्क्षिप्त विवरण यस प्रकार रहेको छ ः

कथा------------------------वस्तु/कथ्य

१. मारिनोसेलोको जून -----गृहयुद्धका कारण देश टुक्रि“दा हुनपुगेको भौतिक र मानसिक पीडाको प्रस्तुति, जातीयताभन्दा मानवता ठूलो भन्ने भावनाको प्रस्तुति ।

२. पेमा भाउजू-----------नेपालका केही जातिमा प्रचलित बहुपति प्रथा र त्यसबाट उत्पन्न सामाजिक, मानसिक र यौनजन्य समस्या, कर्तव्य र भावनात्मक प्रेमको द्वन्द्वमा भावनात्मक प्रेमको विजय ।

३. कठै मेरो देश------------सत्तासीनहरूको पाखण्डी प्रवृत्ति र त्यसबाट देश तथा सचेत नागरिकले भोग्नुपरेको पीडा ।

४. मृत्युको जन्मदिन -----इराकमा अमेरिकी सेनाको उपस्थितिबाट उत्पन्न समस्या, देश तथा जातीयताका लागि शरीर र भावनाको बलिदान ।

५. गृहयुद्धको घाउ--------गृहयुद्धबाट टुक्रिन पुगेका क्रोसिया र सर्वियाका जनताका पीडाको भावनात्मक प्रस्तुति ।

६. अ“ध्यारो गन्तव्य ------सशस्त्र द्वन्द्वका बेला विद्रोही तथा राज्यपक्ष दुवैको चेपमा किचिन बाध्य निर्दाेष एवं निरीह जनताको यथार्थ स्थितिको चित्रण, सरकारको लाचारीपन ।

७. प्रेमसर -------कर्तव्य र भावनाको बीचमा किचिन पुगेको प्रेमीको मानसिक स्थिति ।

८. दसैं ---------चाडबाड मनाउन घरखेतै बेच्नुपर्ने चरम गरिबीको प्रस्तुति ।

९.मैया साहेबको रुड्डु -----मानवेतर प्राणी कुकुरलाई मानवीय संवेदना प्रत्यारोपण गरी स्वार्थी मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार ।

१०. मेरी सान्या -----विछोडको पीडादायक घडी, युद्धविरोधी अवधारणा, शान्तिको चाहना ।

११. सुनन्दाको सम्मान ------पुरुषको द्वैध चरित्रका कारण नारीले नारकीय जीवन जिउनुपर्ने परिस्थिति एवं नारी विद्रोहको प्रस्तुति ।

१२. अतृप्ता ------रहस्यपूर्ण एवं भावनात्मक प्रेमको प्रस्तुति ।

१३. युद्धको एक रात ------विद्रोही र सुरक्षाकर्मी बीचको युद्ध र त्यसबाट हुनपुगेको मानवीय तथा भौतिक वस्तुको क्षति एवं त्यसका कारण हुनपुगेको मानवीय पीडा ।

१४. दास्कोबिच र समाधि --------पश्चिमेलीहरूको सहराविहीन वृद्धावस्थाको मार्मिक चित्रणका साथ पश्चिमेली र नेपाली जनजीवनको तुलनात्मक प्रस्तुति ।

१५. फरक बाटो----------भावना र व्यवहारमा देखिने फरक, अव्यक्त प्रेमको पीडा ।

माथिको तथ्याड्ढलाई हेर्दा कथाकार राजुबाबु श्रेष्ठ विभिन्न स्थान, उमेर र वर्गका मानिसहरूको संवेदनालाई समातेर कथा सिर्जना गर्ने समकालीन कथाकार हुन् । यिनले गृहयुद्धको परिस्थिति भोग्नुपरेका मानिसहरूको शारीरिक, भौतिक तथा मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विषयवस्तु बनाएर कथा सिर्जना गरेका छन् । यिनको यस सङ्ग्रहका कथामा पाइने मूल स्वर गृहयुद्धको चपेटामा परेकाहरूको पीडा नै हो । चाहे देशभित्रको सशत्र द्वन्द्वका कारण भएको नेपालीहरूको पीडा होस् चाहे क्रोसिया–सर्वियाका जनताको पीडा होस् सबै ठाउँका मानवजातिले भोग्नुपरेका गृहयुद्धबाट उत्पन्न भौतिक तथा मानसिक सङ्कटहरूलाई कथाकार राजुबाबु श्रेष्ठले आफ्ना कथामा अत्यन्त इमानदारीका साथ प्रस्तुत गरेका छन् । यिनका मारिनोसेलोको जून, गृहयुद्धको घाउजस्ता कथामा गृहयुद्धको चपेटामा परेका विभिन्न मुलुकका बासिन्दाले भोग्नुपरेका पीडालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यिनको अ“ध्यारो गन्तव्य कथामा गृहयुद्धका कारण निर्दाेष तथा निरीह व्यक्ति आफ्नो जन्मथलोबाट विस्थापित हुनुपरेको पीडालाई प्रस्तुत गरिएको छ भने निर्दाेष तथा निरीह व्यक्तिमाथि आतङ्ककारीको आरोप लगाएर पानीमाथिको ओभानो हुन खोज्ने सरकार तथा प्रशासनप्रति व्यङ्ग्य पनि प्रहार गरिएको छ । यसैगरी युद्धको एकरात सशत्र द्वन्द्वका बेला कथामा सुरक्षाकर्मीले भोगेका पीडालाई प्रस्तुत गरिएको छ । इराकमा अमेरिकी सेनाको उपस्थिति र त्यसको विरुद्धमा आफ्नो जीवन तथा प्रेम दुवैलाई बलिदान गर्न सक्ने इराकी युवतीको पीडालाई मृत्युको जन्मदिन कथामा देखाइएको छ । यसरी युद्ध तथा गृहयुद्धबाट उत्पन्न विविध प्रकारका विभिषिकाहरूलाई प्रस्तुत गरिएका यिनका अधिकांश कथाहरूमा प्रत्यक्ष एवं परोक्ष रूपमा शान्तिको चाहना अभिव्यञ्जित छ ।

गृहयुद्धका पीडाबाहेक राजुबाबु श्रेष्ठका यस सङ्ग्रहका कथाहरूमा राजनैतिक तथा सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएको छ । सत्तामा पुगेकाहरूको अहं तथा पाखण्डी प्रवृत्ति र त्यसबाट देशले भोग्नु परेको पीडालाई कठै मेरो देश कथामा प्रस्तुत गरिएको छ भने हिमाली क्षेत्रका केही जातिमा प्रचलित बहुपति प्रथा र त्यसबाट उत्पन्न सामाजिक, मनोवैज्ञानिक र यौनजन्य समस्याको प्रस्तुति पेमा भाउजू कथामा भएको छ । यसैगरी यिनको दास्कोबिच र समाधि कथामा पश्चिमेलीहरुको सहाराविहीन वृद्धावस्थालाई मार्मिक रुपमा चित्रण गरिएको छ । यसका साथै यस कथामा नेपाली र पश्चिमेली जनजीवनलाई तुलनात्मक रूपमा प्रस्तुत गर्दै नेपाली संस्कार एवं चालचलनको प्रशंसा पनि गरिएको छ ।

राजुबाबु श्रेष्ठका कथाहरूमा अव्यक्त प्रेमका विविध पाटाहरूलाई पनि विषयवस्तुका रूपमा समेटिएको पाइन्छ । यिनका यसप्रकारका कथामा पाइने मूल भाव कर्तव्य र अव्यक्त प्रेमको चेपमा किचिन पुगेको मानवीय संवेदना नै हो ।

३. सहभागी

कथाका घटनाहरूलाई अगाडि बढाउने वा गति प्रदान गर्ने काम पात्र वा सहभागीहरूले गर्छन् । बिनासहभागी कथाको निर्माण हु“दैन । पुरुष र नारी दुवैको समान सहभागिता पाइने यस सङ्ग्रहमा समाविष्ट कथाहरूमा विभिन्न स्थान, वर्ग, उमेरका सहभागीको उपस्थिति रहेको छ । यिनका प्रायः सहभागीहरू सत्चरित्रका भए पनि कुनैकुनै कथाका सहभागीहरू विषम परिस्थितिका कारण असत्जस्ता लाग्छन् । यिनले सत् र असत् चरित्रलाई परम्परागत दृष्टिले प्रस्तुत नगरी विशुद्ध मानवीय दृष्टिकोणले प्रस्तुत गरेका छन् ।

राजुबाबुका यस सङ्ग्रहका कथामा सहभागीको रूपमा मानवबाहेक मानवेतर प्राणी कुकुरलाई पनि समावेश गरिएको छ । यिनको मैया“ साहेबको रुड्डु कथामा कुकुरलाई मानवीय संवेदना प्रत्यारोपण गरी मानवीय स्वार्थी प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गरिएको छ ।

यसरी विविध प्रकारका संवेदनशील मानव सहभागीका अतिरिक्त पशुलाई पनि मानवीय संवेदना प्रत्यारोपण गरी तिनका माध्यमबाट कथ्यलाई अगि बढाई कथात्मक संरचना निर्माण गर्नु यिनको चरित्रगत वैशिष्ट्य हो ।

४. परिवेश

परिवेशअन्तर्गत स्थान, समय र वातावरण पर्छन् । राजुबाबु श्रेष्ठका कथामा विभिन्न स्थान, समय र वातावरणको प्रयोग भएकाले परिवेशगत विविधता पाइन्छ । यिनका यस सङ्ग्रहका अधिकांश कथामा स्थानको उल्लेख स्पष्ट रूपमा गरिएको पाइन्छ भने केही कथामा स्थानको सङ्क्षिप्त एवं सङ्केतात्मक प्रस्तुति भएको छ । यिनका कथामा सहरिया र ग्रामीण दुवै परिवेशको चित्रण स्पष्ट रूपमा भएको पाइन्छ । यिनका कठै मेरो देश, मैया“ साहेबको रुड्डु, अतृप्ता, फरक बाटोजस्ता कथाहरूमा सहरिया परिवेश चित्रित छ भने पेमा भाउजू, अ“ध्यारो गन्तव्य, दसैंजस्ता कथाहरूमा ग्रामीण परिवेश चित्रित छ । यसैगरी प्रेमसर, सुनन्दाको सम्मानजस्ता कथाहरूमा ग्रामीण र सहरिया दुवै परिवेशको झल्को पाइन्छ । यसबाहेक यिनका यस सङ्ग्रहका मारिनोसेलोको जून, मृत्युको जन्मदिन, गृहयुद्धको घाउ, मेरी सान्या, दास्कोबिच र समाधिजस्ता केही कथाहरू विदेशी परिवेशमा लेखिएका छन् । यिनका अधिकांश कथाहरूमा समयको स्पष्ट उल्लेख उति नपाइने हु“दा ती खास समयविशेषका नभएर सार्वकालिक गुणयुक्त पनि बन्नपुगेका छन् भने मारिनोसेलोको जून, मृत्युको जन्मदिन, गृहयुद्धको घाउजस्ता केही कथामा समयको स्पष्ट उल्लेख नभए पनि ती समयको अनुमान लगाउन सकिने खालका छन् ।

यिनका अधिकांश कथामा समय र स्थानभन्दा वातावरण सशक्त ढङ्गमा आएको छ र त्यो आन्तरिक र बाह्य दुवै पक्षबाट अत्यन्त दुखद र त्रासद रहेको छ । यिनका कथामा कतै पनि सुखद वातावरणको झल्कोसम्म पनि पाइ“दैन । यिनका कथामा पाइने समग्र परिवेश वर्णन कृत्रिम र अस्वाभाविक नभई सहज र स्वाभाविक रहेको छ । यसरी स्थानलाई उचित महत्व दि“दै दुखद एवं त्रासद वातावरणमा सार्वकालिक गुणयुक्त मार्मिक कथाहरूको सिर्जना गर्नु कथाकार राजुबाबुको यस सङ्ग्रहमा समाविष्ट कथाको परिवेशगत प्रवृत्ति रहेको देखिन्छ ।

५. उद्देश्य

हरेक विधाका साहित्यिक कृतिको सिर्जना उद्देश्यमूलक ढङ्गले गरिने हु“दा साहित्य सिर्जनाका पछाडि प्रत्यक्ष वा परोक्ष रूपमा कुनै न कुनै उद्देश्य अन्तर्निहित हुन्छ । उद्देश्यविना कुनै पनि साहित्यिक कृतिको रचना हु“दैन । यिनको मारिनोसेलोको जूनमा समाविष्ट कथा सिर्जनाको मुख्य उद्देश्य मानवीय संवेदनालाई प्रस्तुत गर्नु रहेको देखिन्छ । यसका अतिरिक्त गृहयुद्धको चपेटामा परेकाहरूको सामाजिक तथा मनोवैज्ञानिक यथार्थका विविध पाटाको प्रकटीकरण रहेको देखिन्छ । यिनमा पनि मनोवैज्ञानिक प्रस्तुतिले विशेष महत्व पाएको छ । यसरी विविध सन्दर्भ र प्रसङ्बाट युगीन यथार्थको प्रकटीकरणका साथै विविध प्रकारका दुखद परिस्थितिमा चेपिएको मानवीय संवेदनालाई मार्मिक ढङ्गले प्रस्तुत गर्नु यिनको यस सङ्ग्रहका कथाहरूको खास उद्देश्य रहेको देखिन्छ ।

६. दृष्टिबिन्दु

कथाशिल्प विश्लेषणको एउटा महत्वपूर्ण घटक÷तत्व दृष्टिबिन्दु पनि हो । कथाकार राजुबाबु श्रेष्ठका यस सङ्ग्रहका कथाहरूमा प्रथमपुरुष र तृतीयपुरुष दुवै दृष्टिबिन्दुको प्रयोग समान रूपले भएको पाइन्छ । यिनका मारिनोसेलोको जून, पेमा भाउजू, मृत्युको जन्मदिन, अ“ध्यारो गन्तव्य, दसैं, मैया“ साहेबको रुड्डु, सुनन्दाको सम्मान, फरक बाटोजस्ता कथाहरू तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छन् भने कठै मेरो देश, गृहयुद्धको घाउ, प्रेमसर, मेरी सान्या, अतृप्ता, युद्धको एक रात, दास्कोबिच र समाधि कथामा प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ । विविध प्रकारका दुखद परिस्थितिमा परेका सङ्कटग्रस्त मानसिकताको चित्रण गर्ने प्रयासका कारण यिनका अधिकांश कथाहरू तार्किकभन्दा बढी भावुक एवं मर्मस्पर्शी बन्न पुगेका छन् । यसरी तृतीयपुरुष र प्रथमपुरुष दुवै दृष्टिबिन्दुको समान प्रयोगका साथ सामाजिक तथा मनोवैज्ञानिक यथार्थको प्रस्तुति यिनको कथागत वैशिष्ट्य रहेको देखिन्छ ।

७. भाषाशैली

अभिव्यक्तिको माध्यम भाषा हो भने अभिव्यक्तिको तरिका शैली हो । भाषाशैलीय विन्यासका दृष्टिले राजुबाबु श्रेष्ठका यस सङ्ग्रहका अधिकांश कथाहरू छोटाछोटा अजटिल संरचनामा आबद्ध छन् । घुमाउरो पाराको नभएर सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचि राख्ने राजुबाबु श्रेष्ठका कथामा मानक नेपाली भाषाको प्रयोग पाइन्छ । यिनले केही कथामा सहभागी र परिवेशअनुरूपको भाषिक प्रयोग गरेका छन् । यिनको यस सङ्ग्रहमा सङ्गृहीत कथामा प्रयुक्त नेपाली भाषामा अप्रचलित शब्दहरूलाई पादटिप्पणीका रूपमा अथ्र्याइएको छ । यसले कथाहरुलाई बोधगम्य बनाउन भूमिका खेलेको छ । यसका अतिरिक्त यिनका कथामा उखानहरूको पनि प्रयोग गरिएको छ । यिनले प्रयोग गरेका उखानका केही नमुनाहरू यसप्रकार रहेका छन् ः

के गर्नेलाई भन्दा देख्नेलाई लाज ।

जीउ रहे घिउ त पिउन पाइहालिन्छ कुनै न कुनै दिन ।

छोरीको जन्म हारेको कर्म ।

सरल एवं मानक नेपाली भाषाको प्रयोगमा रुचि राख्ने कथाकार राजुबाबु श्रेष्ठको कथा लेखनमा वर्णनात्मक शैलीको प्रयोग पाइन्छ । यदाकदा सङ्गतिगत भाषिक कसरमसर पाइए पनि समग्रमा भन्दा सहज र स्वाभाविक भाषिकविन्यासका साथ वर्णनात्मक शैलीको प्रयोग कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जूनकथा सङ्ग्रहको भाषाशैलीय विशेषता हो ।

८. उपसंहार

आफ्नो कथायात्राको छोटो अवधिमा नै थुप्रै कथा सिर्जना गरी नेपाली समसामयिक कथाको क्षेत्रमा आफ्नो परिचय दिन सक्षम कथाकार राजुबाबु श्रेष्ठ प्रायः छोटा छोटा अजटिल संरचनाका कथा सर्जक हुन् । गृहयुद्धको चपेटामा परेका एवं विसङ्गत र विषम परिस्थितिको चेपमा किचिन पुगेको सङ्कटग्रस्त मानसिकतालाई प्रस्तुत गर्ने कथाकार राजुबाबु श्रेष्ठका मारिनोसेलोको जूनमा सङ्कलित कथाहरू विविध प्रकारका संवेदनशीलतालाई मनोवैज्ञानिक ढङ्गले अभिव्यक्ति दिन केन्द्रित देखिन्छन् । यिनले आफ्ना अधिकांश कथाहरूमा उद्देश्यपूर्ण ढङ्गले विविध उमेर, वर्ग, स्थान र परिस्थितिका मानिसहरूको संवेदनालाई प्रस्तुत गरेका छन् । मानवीय संवेदनाको प्रस्तुतिमा विशेष रुचि राख्दै त्यसलाई युगीन यथार्थमा रङ्गाएर मार्मिक ढङ्गले प्रस्तुत गर्न सिपालु कथाकार राजुबाबु श्रेष्ठका यस सङ्ग्रहका कथाहरूले यिनलाई समसामयिक पुस्ताको एउटा सक्रिय कथाकारका स्थापित गरेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।