19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिल्लीका मच्छरहरु

कविता मातृका पोख्रेल August 10, 2010, 1:03 pm

उद्वेलित आगोका लप्काहरुको

चेतना बोकेर

हामी बारम्बार

बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं

तर प्रत्येक दिन

मक्किएको सन्धीको ठूटोमा बास बसेर

निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्

दिल्लीका मच्छरहरु ।

***

एक भाँडो उज्यालो बोकेर

घरभित्र चियाउन पनि नपाइने

उसका लागि सधैंसधैं

कोठाहरु अँध्यारै राख्नु पर्ने

इतिहासले छादेका फोहोरहरु

फाल्ने रहर बोकेका आँखाहरु

ओछ्याउन पनि नपाइने,

स्वाधीन माटोको बास्ना

खोज्ने नाकहरु

बोक्न पनि नपाइने

बाक्लो स्वेटरलाई छेड्ने सुँड बोकेर

हर्दम यतै घुमिरहन्छन्,

हाम्रा बस्तीहरुको शान्त छातीमा

आतङ्कको दुन्दुभी बजाइरहन्छन,

दिल्लीका मच्छरहरु ।

***

मधेशको गर्मीमा मात्र होइन

हिउले ढाक्ने चिसा लेकहरु सम्म

बेग हानेर पुग्ने योजना कोर्छन उनीहरु,

सगरमाथाकै काखमा पुगेर

हाम्रो अभिमानलाई डस्न खोज्छन उनीहरु,

स्वाभिमानको एक झप्को निद्रा

सुत्न पनि दिंदैनन्,

आत्मसम्मानको एक झल्को सपना

देख्न पनि दिंदैनन्

हामी लिपुलेकबाट

एकजोडा सेता परेवाहरु उडाउन खोज्छौं

उनीहरु हाम्रा परेवाहरुका प्वाँखमा

विषालु सुँडहरुले चिल्छन्

हामी यतिबेला

आफैभित्र पनि प्रश्न कोरिरहेका छौं

किन पालीरहेछन् मान्छेहरु?

दिल्लीका मच्छरहरुको घार

हामी घृणाले निथ्रुक्क भिजेका छौं

यो युग अझै

विवेकको युग होइन जस्तो,

यो युग अझै

स्वाभिमानको युग होइन जस्तो,

यो युग अझै

स्वतन्त्रताको युग होइन जस्तो,

यो युगलाई,

निर्धक्क/निर्लज्ज हमला गरिरहेकाछन्

दिल्लीका मच्छरहरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।