17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मधेसको चित्र : 'लाल चुडी'

कृति/समीक्षा रामप्रसाद ढुंगेल August 11, 2010, 8:10 pm

नेपाली साहित्यमा लेखेरै जीविकोपार्जन गर्ने स्रष्टा अति थोरै छन् । एक त आर्थिक विपन्नताको चपेटामा परेको नेपाल, प्रविधिले गरेको विकास र साहित्यानुरागी पाठकको अभाव आदिका कारण पनि लेखक साहित्यकारहरुले लेखेर बाँच्ने कल्पना गर्नु फलामको च्यूरा चपाउनु सरह मानिन्छ अझै पनि । हामीले सुनेका, पढेका र चिनेका साहित्यकारहरु जीविकोपार्जनका लागि विभिन्न पेसा, जागिर आदि केही न केही क्षेत्रमा सम्बद्ध भएको पाउन सक्छौँ ।

नेपाली साहित्यमा लेखेरै बाँच्ने एकजना उपन्यासकारको नाम लिँदा डायमण्डशमशेरको नाम अगाडि आउँथ्यो केही समय अघिसम्म । उनका उपन्यासहरुको बिक्रीबाट यथेष्ट रोयल्टी पाउने गरेका कारण उनलाई ‘लेखेरै बाँच्ने साहित्यकार’ भनिएको हुनुपर्छ । त्यसो त राणाकुलमा जन्मिएका डायमण्डकाशमशेरका पुख्र्यौली सम्पत्ति कति पनि थिएन होला र ? यो प्रश्न पनि सर्वसाधारणले गरिरहेकै थिए र भविष्यमा पनि गरिनै रहनेछन् ।

प्रसङ्ग डायमण्डशमशेरको होइन, एकजना झापाली स्रष्टाकै हो । पत्रकारिताबाट प्रवेश गरेर साहित्यमा मौलाएका उनी पनि आफूलाई डायमण्डशमशेरपछिको दोस्रो ‘पूर्णकालीन लेखक’ ठान्छन् । झापाबाट प्रकाशित ‘स्वाधीन सम्वाद’बाट पत्रकारिता सुरु गरी ‘जनआस्था’ साप्ताहिकको झापा सम्वाददाताका रुपमा काम गरिसकेपछि अग्लो अभिलाशा बोकी राजधानी छिरेका उनी अर्थात कृष्ण अविरल पहिलो उपन्यास ‘रक्तकुण्ड’को प्रकाशनपछि साहित्यको सागरमा अविरल बगिरहेकै छन् । पुस्तकाकारका रुपमा २०६२ सालदेखि साहित्यमा समर्पित कृष्ण अविरलले अहिलेसम्म पाँचवटा कृति प्रकाशन गरिसकेका छन् । तत्कालीन राजा वीरेन्द्रको वंशविनाशको विषयवस्तुमा आधारित उपन्यास ‘रक्तकुण्ड’ले पुस्तक बिक्रीको रेकर्डलाई तोडेर ‘बेस्ट सेलर’ कृतिको रुपमा उक्त उपन्यास दरिएको थियो । त्यही ‘रक्तकुण्ड’को सफलतापछि उनी पूर्णकालीन लेखक बन्ने साहस बोकेर साहित्यको सागरमा हाम्फालेका हुन् । राम्रा गीतकारका उपमा पाएको अविरलका हालसम्म तीन दर्जनभन्दा बढी गीतहरु स्वाराङ्कित भइसकेका छन् ।

उनै अविरलको पछिल्लो कृतिका रुपमा साहित्यिक बजारमा आएको छ – लाल चुडी (उपन्यास) । भोजपुरी परिवेशमा आधारित यस उपन्यासमा मधेसी समुदायको वास्तविक चित्रलाई उतार्ने प्रयास गरेका छन्, अविरलले । भोजपुरी समुदायकै प्रतिनिधि पात्र ‘ज्योति’को मनोविज्ञान र उसको विवाहपूर्व उसलाई हेर्न आउने केटाहरुको क्रियाकलाप र घटनाक्रममा केन्द्रित कथाले पाठकलाई नजिकबाट स्पर्श गर्छ । महिलाको पीडा र दुःखलाई मर्मस्पर्शी पारामा व्यक्त गर्नु अविरलको विशिष्ट कला हो ।

उपन्यासको समग्र अध्ययन गर्दा भोजपुरी समुदायको सजीव चित्र पाठकको नजरमा छर्लङ्ग देखापर्छ । मधेसमा व्याप्त कुसंस्कार, कुरीति, अन्धविश्वासको भण्डाफोर गर्न उपन्यास उद्यत छ । मधेसमा फैलिएको हत्या, अपहरणको शृङ्खला साथै दाइजो प्रथा र वर्गीय असमानतालाई अविरलले विभिन्न पात्र सिर्जना गरी कडा शब्दमा विरोध गरेका छन् । संवादका क्रममा अधिकांश मधेसी नेतालाई भारतीय दलाल र गुन्डागर्दीका नाइकेसम्म भनी दोषारोपण गरे पनि अन्य पात्रका माध्यमबाट त्यसको प्रतिरोध गर्ने टेक्निक प्रयोग गर्न अविरल चुकेका छैनन् ।

समग्रमा भन्दा भोजपुरी समुदायको एक सूक्ष्म अंशको शल्यक्रिया गर्न उपन्यास सफल छ । लीलालेखन प्रविधिको प्रयोग सँगसँगै फ्रायडको मनोविज्ञानलाई प्रवेश गराएर परम्परागतशैलीमा उपन्यास रचिएको छ । मधेसप्रति नकारात्मक भावना सिर्जना गर्न खालका संवाद, अभिव्यक्ति र लेखकीय आशय उपन्यासमा नदेखिएको भए यो कृति अझ सङ्ग्रहनीय, पठनीय र स्तरीय बन्थ्यो कि ?

झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।