19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परिवर्तित समय

कविता शर्मिला पोखरेल August 17, 2010, 9:39 am

त्यो पुरानो युग

जहाँ मृत्यु त अवश्य पनि थियो

तर मर्नेहरुको वरिपरी रोइदिने

थुप्रै थुप्रै भाबुक मान्छेहरु पनि हुन्थे

दु:ख र आँशु त कहाँ हुँदैन र ?

तर सहानुभुति व्यक्त गर्ने मनहरु पनि हुन्थे त्यहाँ

तर अचेल

युगले कोल्टे फेरेकोछ

मान्छेहरु बेफुर्सदी भएकाछन्

अचेल त लाशहरु

आफैं आफ्ना लागि रुँदै हुन्छन्

बाटो भरि अलपत्र

लाशै लाश देख्दा पनि

मान्छेहरु,

रमाइला कुरा गर्दै

आ-आफ्नो गन्तव्य

नाप्न सक्छन् अचेल

अरुको दु:खमा दुखि हुने

त्यो युगमा मात्र थिए सायद

यहाँ त आँशु ,

आफ्नो सिवाय

कसैको निम्ति बग्दैन

अरुको निम्ति बाँच्नेहरु

त्यो युगमा मात्र थिए सायद

मान्छेहरु अचेल ढुंगा बन्दैछन्

आफुलाई मात्र चोट लाग्छ

आफ्नो मात्र मुटु हुन्छ

मान्छेहरु मेसिनमा

रुपान्तरित हुँदै गएको युग हो यो

यो युगमा

अरुको चित्कारमा

भावुक हुँदैन मान्छे

खार्पा, खोटाङ्ग; हाल: इडमन्टन, अलबर्टा क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।