14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निधार

कविता मनोज बोगटी August 18, 2010, 11:04 am

इन्श्योरेन्स नगरिएका पसीनाहरूको जुलूस बोकेर

घाममा टल्किबस्ने कसको निधार त्यो?

टाउकोले रोपेको ऋणकै हॉंगामा

कपासको डोरी लगाएर

पसीनाहरूले आत्महत्या गर्दैछ।

त्यो निधारको हरियो जङ्गल कसले फॉंड्यो?

त्यो निधारको आधा भाग नै पैह्रोले सोहोर्दा पनि चुप लाग्ने तेरै देश होइन त?

देशकै तीन रङको धर्का बोकेर

उभिने निधारमा गाड्छु भनेको झण्डाले

बोक्छ कि बोक्दैन उसको भत्केको बर्तमानलाई।

त्यो निधारमा सबैले जबरजस्ती लेख्छ खुकुरीले

लाजमर्दो दुर्भाग्य।

प्रत्येक अक्षरको मुख कालो हुन्छ।

अक्षरको

जस्तोरूप त्यस्तै बेहोरा

जहिल्यै पनि निधारको अर्थलाई बाहिर पार्छ।

निक्कै पो भएछ त

गलत मौसममा अक्षता टॉंसिएको।

निधार उज्यालो छैन भने

सम्पूर्ण वंशनै अँध्यारो हुन्छ नी।

त्यो निधार अहिले नै चिनिहाल।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।