18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाँउको अन्तरा

कविता प्रवीण खालिङ August 19, 2010, 12:19 am

गाँउको धारामा संगीत बज्छ

पँधेराबाट दिन उँदाउछ

घरको घुरीले बादल जन्माएपछि

गाँउमा बिहान हुन्छ

अनि

नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ

दुधको साइत बोकेर महलहरूमा पस्छ

गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

* * * *

तर अचेल गाँउलाई सञ्चो बिसञ्चो परिबस्छ

खोरेतले बाख्रा मर्दा

बर्ड फ्लुले कुखुऱा मर्दा

गाँउ हैरान हुन्छ

गरिखाने मेलो नै मासिन्छ

धरौटी नै रित्तिन्छ

यद्यपी नयाँ फिल्मको गीत कलर ट्युनमा हालेर

शहरको फोटो वालपेपरमा सेभ गरेर

हरेक साँझ बेरोजगार छोराहरू घर फर्कन्दा

गाँउलाई शंका लाग्छ

ब्युटि पार्लर पुगेर आएकी तरूणी छोरीको मुहारमा दाग देख्दा

गाउँलाई साह्रो डर लाग्छ

खोरेत र बर्डफ्लु भन्दा साह्रो

गाँउमा एड्स पस्ने डरले

शहरबाट फर्केका हर्कमानसित

अचेल हाम्रो सानो गाँउ थर्कमान छ।

* * * *

तरै पनि गाँउ नै सधैं शहरलाई

माथि उचालेर आफू तल परिबस्छ

विकास होला नी गाँउमा साँझ बिहान कुरा गरिबस्छ

तर विस्तारै गाँउलेहरू शहर पस्दैछन्

गाँउको आफ्नै घर छाडेर किरायमा बस्दैछन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।