19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाषा अनि हामी

कविता दिपेन तामाङ August 21, 2010, 1:18 pm

भाषा हो सभ्यता हाम्रो

नारा गुञ्जिन्दैछ

चेपचापका बन्द

साहित्यिक कोठेबारीमा....फोस्रा सब्दहरूमा।

त्यो बुँई चढेर आउन खोज्दैछ

भर्खर जन्मिएको अबोध शिशुको मस्तिष्कभरी

तर एड्भान्सको लेप लाएर

फेसनको रङ्गमञ्चमा उत्रिएका हामी

काउकुती मानेर थेचार्दैछौँ त्यसलाई।

शब्दले मुख फड्काल्न थालेकोदेखि हामी

शब्दमै हुर्कियौँ, बड्यॉँ र हुर्कियौँ

अब हामी स्वको धुरीमा घोडा चढेका छौँ

र जन्मबोधको ऋण फर्काउँदैछौँ यसरी

ख ! म त केही पनि जाँदिन नि ।

आर यू नेपाली ?

कम्प्युटरको च्याटस्क्रीनमा

शब्दहरू विदेशी झल्किन्दै छ

या आइ एम नेपाली

तर भन्दैछ यता हामी विदेशी।

यहाँ हेर्नु होस् त शब्दको अर्थ

अझै

आइ एम अल्सो नेपालीको भेल बग्दैछ

बट् आइ कान्ट् राइट एण्ड् स्पीक इन् नेपालीको समुन्द्रमा।

आमाले आज

मम्मी, ड्याडीको शब्द घोकाउनलाई

फकाउँदै स्तन चुसाउँछे

हातमा भविष्यको वेस्वादिलो मीठाई पाएर

उफ्री उफ्री फलाक्छ त्यो दुधे बालक।

युवा भन्नु कि युवती भन्नु ?

भाषाको सभ्यताले त होला

हाफ् प्यान्ट् भन्नु कि मिनि हाफप्यान्ट भन्नु

सुसंस्कृतको नारा लाउँदैछ त।

साइनबोर्डमा अनूवादित जस्ताको तस्तै शब्दहरू

उ..प..र.को देशमा

गल्ली गल्ली

दोकान अनि होटेलको ढोकामाथि उभिएर

वान्ता गर्नलाई घोप्टो परिगहेका छन्।

आज फेरि त्यो

अस्तित्त्वको मुखेञ्जीमा बरफ झैँ जाम्मिन्दैछ

तर पनि जुलुस थर्काउँदैछ अस्तित्त्वको

अस्तित्त्व!

अस्तित्त्व !

अस्तित्त्व!

कसको हो यो अस्तित्त्व ?

‘स्व’ को

‘स्व’ को हो हँ ?

एक्लो म ? प्रतिनिधित्त्व गर्ने जाति ? फेर भाषा ?

उफ् !

झाँक्रीहरू त सर्टिफिकेट बोकेर घुमन्ते भइरहेका छन्

एक गिलास फिक्का चियामा

कसरी जोखाना खुट्याउन मान्थ्यो र !

कथा सुनाऊँ ?

त्यो आदिम युगको

जहाँ, जोहरू बिना भाषा सभ्य थियो कि !

तर फरक यति छ भनौँ

उनीहरू सोँच्दथे भाषापछिको जीवन कस्तो होला

हामी सौँच्दछौँ बिना भाषाको संसार कस्तो होला !

अतः

भाषाको रथ यात्रामा गुढेर

आदिम मान्छे हामीकहाँ आइपुग्दा

फेरि विस्तारै भाषा मर्दै जान्छ

हामी आदिम युगको

त्यो नाङ्गो मान्छे बन्दै जान्छौँ।

दार्जिलिङ

(२० अगस्तलाई भारतीय नेपाली भाषा मान्यता दिवसको रूपमा मनाइन्छ । आजको प्रविधिकीकरणको जमानामा भाषामाथिको हाम्रो दृष्टिकोणलाई कविले उतार्ने प्रयास गरेकाछन् । सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।