18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कहाँ जाऊँ म देश खोज्न

कविता हेमन्त परदेशी August 28, 2010, 5:22 pm

देश नै जनता

र,

जनता नै देश !

कहिँ सुने जस्तो

कतै पढे जस्तो

तर बिस्मृत छन्

मेरा मानसपटलहरु

सुषविताबाट

क्षयग्रस्त बने जस्तै ।

तपाईलाई थाहा छ?

तपाईलाई पो थाहा छ कि?

सडक सडक

गल्ली गल्लीहरुमा

एक्लै भौतारिँदै

प्रश्नै प्रश्नहरुको

तुल टाँग्दैछु म l

सहरका होर्डिङ्गबोर्डहरुमा

बियर र चाउ चाउको

बिज्ञापन टाँगे जस्तै ।

सामयिक खोज

समादृत प्रश्न

हार्दिक बधाई दाइ/भाइ !

बधाई र शुभकामनाका

अनगिन्ती शब्दका पोकाहरुले

टन्न भरिएको

गह्रुँङ्गो झोला

पिठ्यूँमा बोकेर

यौटा अपरिमित

सडकको दुरी

निरन्तर नापिरहेकोछु म

ओलाङ्चुङ्ग गोलाका

खम्बा भोटेहरुले नुन बोकाएर

उकाली ओराली गराइरहेका

लेकाली 'याकहरु' जस्तै ।

ए मूर्ख मान्छे !

सडक र गल्लीहरुमा

खोजेर पनि पाइने चिज हो र ?

देश र जनताको

अर्थ र परिभाषा ?

म भित्रको 'म' ले

मलाई नै प्रश्न गर्छ

अनायसै झस्किन्छु म

आफ्नै प्रतिविम्वसँग l

आफ्नै छाँया देखेर तर्सिएको

खरायो र सिंहको कथाको

मूख्य पात्र बुद्धु सिंह जस्तै ।

पुग्छु म सिंहदरबार

नियाल्छु एक एक दृश्य

खोइ देश?

कहाँ छन् जनता?

सबै अरुकै ईशारामा नाँचिरहेका

नर्तकीहरु देखेर

आश्चर्यचकित हुन्छु म

अब कहाँ जाऊँ?

के गरौँ म?

बेस्सरी अलमलिन्छु l

मेरा थकित पाइलाहरु

पुन: लम्किन्छन्

आफ्नै गाउँ-बस्तीतिर

आहा ! जनता नै जनताको लस्कर

भावमङ्गित हुन्छु म अनायसै

र ,

नियाल्न थाल्छु

प्रत्येक अनुहारहरुलाई l

तर अफसोच !

कहिँ कतै देशको चित्र देख्दिन म

ती अनुहारहरुमा l

मिथ्या लाग्छन् मलाई

देश नै जनता

र ,

जनता नै देश-को परिभाषा l

मानौ जनता हरु

फगत न्यूरोडमा बेच्न राखिएका

बिभिन्न मानवाकृतिमा कुँदिएका

हस्तकलाका सामानहरु मात्रै हुन् ।

अब कहाँ जाऊँ म देश खोज्न ?

सडक?

गल्ली?

सिंहदरबार?

मेरो गाउँ-बस्ती?

अझै अनुत्तरित छन्

मेरा प्रश्नहरु आफैसित ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।