16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुकोकमातिकोको

कृति/समीक्षा राजा पुनियानी August 31, 2010, 6:45 pm

‘आ कका ती पासि’ यदि कुनै कथाको शीर्षक हुन्छ भने त्यसमाथिको समीक्षा वा टिप्पणीको शीर्षक ‘जुकोकमातिकोको’ राख्दा मिल्दैन र मेरा प्रिय पाठकहरू? कथाकारले तिनको कथाको एब्स्ट्र्याक्ट शीर्षकको गाँठो नफुकाएर तपाईंहरूलाई लट्टाउन खोजे पनि म चाहिँ मेरो शीर्षकीय शब्दको भेउ खोलिदिने मनसाय राख्दछु। (तर यहाँ होइन, अलिक पछिबाट।)

‘आ कका ती पासि’ कथाका शब्दहरूले बनाइएको कथात्वलाई मैले कसरी हेरें, त्यो देखाउन खोजुँ भन्दैछु यहाँ। कसरी यसलाई सार्विक आँखाले हेर्न सकिएला, त्यो चाहिँ हामी मिलेर सँगै खोजौं। पहिलेबाटै यसरी जिगज्याग के-केहरू भन्छु प्रतिभाशाली प्रवीण राई जुमेली र तिनको यस कथाको विचित्र कथात्वमाथिः

-जुमेली लेखनमा जति नै जटिल, साह्रो देखिउन् वा हुन खोजुन्, तिनी वास्तवमा छैनन्- तिनको लेखन अजटिल, असाह्रो छ

-जुमेलीको लेखन स्वतःस्फूर्त (स्पोण्टिनियस) होइन पूर्वपरिकल्पित, पूर्वनियोजित (डेलिबरेट) हुन्छ

-जुमेलीगत नाटकीयता (औपचारिकता) र वास्तविकता (अनौपचारिकता)-को ककटेल प्रस्तुतिले लट्टाउँछ पाठकलाई

-जुमेली अध्ययनशील, चिन्तनशील र सङ्घर्षशील रचयिता हुन्

-जुमेली आफू बुद्धिसम्पन्न पनि, सुसूचित पनि छन् र पाठकलाई पनि उस्तै ठान्छन्

-जुमेलीको हेराइ चील हेराइ, टिपाइ बकुल्ला टिपाइ र लेखाइ चुम्बक लेखाइ छ

-जुमेलीको कथामा वातावरण क्षेत्रीय छ, व्याप्ति सार्विक-जेनेरलाइज्ड

-जुमेलीको यो कथाको पूर्वार्द्ध बोरिङ भए पनि उत्तरार्द्ध हिपहप गीत कानेफोनमा सुनेझैं पढ्न सकिन्छ जहीँ पनि, जस्तै अवस्थामा धरि

-आमीर खानको ‘लगान’-लाई पछार्ने बोस्निया-हर्जिगोभिनाको फिल्म ‘नोम्यान्सल्याण्ड’-झैं यो कथाले पाठकको मनलाई कोतार्छ, मस्तिष्कलाई जिस्क्याउँछ र एक वा त्यसभन्दा बढी उत्तरेय प्रश्नको गर्भधारण समेत गराउँछ

-जुमेलीको भाषा प्रभावी र प्रौढ छ, हिज्जेगत व्याकरण शिथिल

-जुमेली आफू र पाठक दुवैलाई कन्फ्युज्ड राख्छन् कथाको पूर्णाङ्ग अन्वितिभरि

उल्टा बेला साढे तीनदेखि चारमाझको समय छ यो। मयनागुडीभित्र पर्ने केही गाउँहरूको भ्रमण गरेर मयनागुडी बजारमा आइपुगेपछि कतै नभुलिई सोझै सिलगढी जाने बसमा खिर्कीछेउको सिटमा बसेको छु। बस भरिएर मात्र चल्नेछ। भरिएको छैन। सिलगढीबाट जाँदा जलपाइगुडीपछि आउँछ मयनागुडी। धूपगुडीको एकापट्टि गयेरकाटा, वीरपाडा हुँदै डुवर्सतर्फ पसिन्छ, अर्कोपट्टि फालाकाटा हुँदै कोचबिहारतर्फ। डुवर्सतिर कचेडा चम्केको छ जातिवादी। दाज्यु-भाइझैं बेसका नेपाली, बङ्गाली, आदिवासी एकार्कासँग लड्दैछन्-लडाइँदैछन्। साम्प्रदायिकताको ट्रम्प कार्ड फ्याँकेको छ दाउ हारेको शक्तिले। सत्तासीनहरूलाई सत्तासीन रहिरहने र भावी सत्तासीनहरूलाई सत्ता पाउने हरहर तिर्खा छ। आम जनतालाई तिर्खा छ मुक्तिको। मुक्तिलाई क्रान्तिको। आजको यस गरम दिनलाई तिर्खा छ मादक साँझको। अनि, मलाई खाने पानीको तिर्खा लागेको लगभग डेढ-दुइ घण्टा भएको छ।

बसले अहिले जलपाइगुडीको असम मोड नाघिसकेको छ। अब सिलगढी पुग्नु एक घण्टा। बसलाई सिलगढी पुग्ने तिर्खा छ। हतारिएर हाँकिएको बसभित्रको अन्तिमदेखि एक सिट अघिको सिटमा बसिरहेको म दुइ-तीन दिनदेखि ब्यागभित्र चेपेको चिट्ठी खोल्छु। जुमेली कथाकारको चिट्ठीसँगै खामिएको कथा ‘आ कका ती पासि’ पढ्न थाल्छु। पहिलो अनुच्छेद सिद्ध्याउनु झण्डै पन्ध्र मिनटभन्दा बढी लागेछ। त्यसपछिको लगभग दश मिनटभित्र कथा पढिसकेर सिलगढी पुगुञ्जेल कथामाथि सोचविचार गरिबसें। एकवाक्ये निष्कर्ष निकालें- ‘आ कका ती पासि’ तिर्खाको कथा हो। यहाँनेर ‘द लिट्टल प्रिन्स’-का विख्यात लेखक एन्तोन दी सेण्ट-एग्ज्युपरी-को उक्ति मलाई सम्झिनु मन लागेको छ- ‘‘मरुभूमि यसैकारणले सुन्दर छ कि यसले कहीँनेर एउटा कूवा लुकाएर राखेको छ।’’

निष्कर्षगत धारणाको धुरी वरिपरि गतिमान भएका छन् मन्तव्यहरू यसरी- कथाले आख्यानीय तरेलीमा क्षेत्रीय तिर्खालाई मुद्दा बनाए पनि दार्शनिक तरेलीमा यो कथा वैश्विक तिर्खाको प्रतिनिधित्व गर्न उभेको छ। स्थापित पनि छ कथा राजनैतिक चिन्तन-चैतन्यको नियोजित मर्मभूमिमाथि। तिक्खर कालचिन्तनले खारिएको यस टर्रो कथाको कटमेरो कथात्व आजको वैश्वीकरणीकृत (ग्लोबलाइज्ड) जटिल विश्वमा जेलिएर जिउने आम-हरदर मान्छेको अनिर्दिष्ट-अनिश्चित व्यक्तित्व भइदिएको देख्छु म त। त्यसैले गर्दा पनि कथाको रूप अपरिपक्व-अनिश्चित छ, फ्रेम्ड छैन। यसैले यसमा कसैकसैले इन्द्रबहादुरीय शैलीको (आंशिक) अनुकरण भेट्टाउलान्, कसैकसैले उत्तराधुनिक लेखनको सिको। तर पाठकवर्ग, म ‘कथा कुन खेमामा पर्छ’ भन्दा पनि ‘कथाले उठाएको मुद्दा वा विषय कुन खेमामा पर्छ’, त्यसमा बढी केन्द्रित हुन चाहन्छु अहिले।

बडो चाखलाग्दो कुरा उठाएका छन् जुमेलीले कथाको विषयबाटः तिर्खा - मान्छे (व्यक्ति)-को र समाज (समष्टि)-को। कथाको भित्री प्रवाहलाई अनुभूत गर्दा हेक्का हुँदो छ-जसरी तन्नेरी बलेपुत्र (कति पढेको छ कुन्नि, बिहे गरेको छ-छैन, ...) जीवनको सुखमा तिर्खाएको भान हुन्छ, त्यसरी नै बूढा भक्ते (भक्तेले यसपालि स्कुटर किने त, भक्तेलाई कुनै रोगले भेट्टाएको त छैन होला नि, ...)-मा आत्मसन्तुष्टिको तिर्खा छ। गधा नेता (नेताको नैतिकता अझ कति खस्कियो, आफूसँगै आएका बलेपुत्र र भक्तेहरूलाई कहिले बलि चढाउने हो, ...)-लाई सत्ताकै तिर्खाले सताएको देखाइएको छ। समग्रमा पानीकै वास्तविक तिर्खा (जूम, दार्जीलिङ, गुण्टुर)-लाई पात्रहरूको अमूर्त्त तिर्खासँग जक्स्टापोज गरेर ठड्याइनुले कथाको कथावस्तुगत पौरुष आभामय छ। खेम्पालुङ-को प्रसङ्ग अति सूचनाप्रद एवं सान्दर्भिक भएको छ। जुमेलीको कथाले यसो र समाजशास्त्रीय आइक्यू बढाउनमा समेत मद्दत गर्दो छ।

भन्नैपर्छ, जुमेलीको शिल्पचातुर्यलाई मान्नैपर्छः कथा नपढ्ने मान्छेलाई पनि पढ्ने, नभए यसो सरसरी हेर्नेसम्म त बनाउँदछ जुमेलीको कथानाँउ मात्रले पनि। सर्जकको उपलब्धीय एकांश यसैलाई पनि ठान्दा हुन्छ यहाँ। त्यसपछि केन्द्र-किनार स्थानान्तरण, विधाभञ्जन, विषय-पात्र सामान्यता, अनौपचारिकता, प्राविधिक शब्दावली प्रयोगजस्ता ‘पोस्टमोडर्न मान्यता’-लाई अङ्गीकार गरेरै लेखिएको कथा हो भने पनि ‘आ कका ती पासि’-ले कथाको गरिमासँगसँगै लोकप्रियता उकास्न योगदान दिनेछ अवश्यै। किनभने भारतीय नेपाली साहित्यमा ‘पोस्टमोडर्न’ भनिमाग्न मरिहत्ते गर्ने र भनिन विज्ञापित हुनचाहने स्थापित र नौला बहुलांश लेखकहरूका रचना ‘पोस्टमोडर्न’-को नाउँमा विषयको गँजडीप्रयोग, शब्दको अनुशासनहीन व्यवहार, सूचनाको मितव्ययी-अपप्रयोग एवं भावको बौलाहा प्रस्तुतिभन्दा बढी अरू केही हुन सकिरहेको छैन। यस्तो स्थितिमा तथाकथित ‘पोस्टमोडर्न’ कथा-कविताको गज्याङमज्याङबाट विरक्तिएर टाढिने पाठकलाई फकाएर फर्काइल्याउन जुमेली लागिपरेका छन्, लाग्छ।

तिनको रचनाको लक्ष्य छ। तिनले प्रयोगको नाँउमा प्रयोग गरेका छैनन्। तिनी सामाजिक सरोकारको विषय उठाउँछन्। तिनमा सन्तुलित निर्मिति छ। यति हुँदा हुँदै पनि जुमेलीको न्यारेशनमा कहीँ-कहीँ उक्ति एकरसता, नीरस सूचना प्रसारण, भाषिक शैथिल्य, अनुपयुक्त औपचारिक कथ्यहरूको उपस्थितिले ‘आ कका ती पासि’–का केही कथांश दुरूह र अस्वीकार्य समेत बन्न पुगेको कुरा पनि भन्नैपर्छ। ‘कठपुतलीको मन’-का प्राज्ञप्रिय इन्द्रबहादुर राईभन्दा ‘विपना कतिपय’-का लोकप्रिय इन्द्रबहादुर राई बढी अनुकरणीय छन्। ‘आ कका ती पासि’ –स्थित अत्यधिक इलाकामै जुमेलीमा प्राज्ञप्रिय राईको छायाँ पर्न गएको अनुभव भएको पनि यहाँ फ्र्याङ्कली पाठकहरूसँग राख्दछु।

तर यी त भए कथा ‘आ कका ती पासि’ –को परिप्रेक्ष्यमा कथा-कथाकारमाथिको मेरो दृष्टि। जुमेलीले अन्तमा आफू पात्र बन्ने इच्छा जाहेर गरेका छन् एवं तपाईं (हामी) पाठकलाई कथा कथ्ने अनुरोध गरेका छन्। जुमेलीलाई पात्र राखेर कथा कथ्दै जुमेलीको कथा र तिनको कथाशिल्पमाथि तपाईंको विचार राख्नुसक्नुहुनेछ है अब। तर त्यो केवल ‘खेल’ (-जुमेली) हुनेछैन। न त थियो। किनभने - मान्छेको अस्तित्व उसको चेतनाद्वारा निर्दिष्ट हुँदैन, तर त्यसको ठीक उल्टा, उसको सामाजिक अस्तित्वले उसको चेतना निर्दिष्ट हुँदछ। त पाठकहरू, थाल्नुहोस् जुमेलीको कथाको पठन र चिन्तन अब। र पाठकको पाठको तिर्खा मेटिदिने तिर्खाले तिर्खाएका जुमेलीको तिर्खालाई पनि आफ्नो कथाको विषय बनाउनुहोला।

ए ... ‘जुकोकमातिकोको’ -को अर्थ नजानी विदा लिनुहुने मसँग? तपाईंहरूलाई यो लेख पढ्ने कौतुहल जाग्ला कि भनेर मैले पहिलेबाटै सोचेको शीर्षक ‘जुमेलीको कथामा तिर्खाको कोलाज’-को एब्रिभिएशन लिएर सम्भावनापूर्ण कथाकार जुमेलीको देखासिकी गरिटोपलेको नि।

सुकना, दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।