14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आमाको मोबाइल फोन

कविता मनोज बोगटी September 2, 2010, 6:17 am

1.

रायो सागमा पानी हाल्दै गर्दा बज्छ

छोराको सम्झना।

हेल्लो...अँ, सागमा पानी हाल्दैछु।

कसरी बिटा?

रू.दस?

छाक पनि पुग्दैन, यत्रो दाम?

सुनेकी छन्‌

प्रश्नै प्रश्न झुण्डिएको शहर आउँदा।

एकहातमा पानीको पाइप अर्को हातमा मोबाइल फोन

विहानैको आमा। आमाको विहानै।

सागपातलाई थाहा छ यो चलिबल्ने नाटक।

बीपीएलको राशिन थाप्ने लहरमा बज्छ आमाको मोबाइल फोन।

रातो बटन थिचेर हल्लो भन्छिन।

आवाज नआएपछि यो नेटवर्क पनि... भन्छिन्‌।

एक महिनामा बल्लबल्ल दिएको मट्टितेल थाप्न जॉंदा

गनगनाउँछिन्‌

...पैसै छैन फोनमा।

मिसकल पनि हुँदैन।

केक्के थिच्दा कलरट्यून पसेको छ। पैसा काट्‌छ।

पैसै नभएको फोन जस्तै हतारमा पनि बोक्न बिर्सन्नन्‌।

कम्पनीको म्यासेज आउँदा

पढ्ने मान्छे खोज्दै हिँड्छन्‌।

भन्छिन्‌-पढ़, पढ़ के लेखेको रहेछ मनोजले।

2.

छोराले घर छोड़ेर गएदेखि

आमाको मनमा पापैमात्र पसिबस्छ।

आमाको मनको फाइदा उठाएर

आइबस्छ नराम्रो सपना।

दिउँसो हातमा भाउचर बोकेर

मान्छे खोज्दै हिँड्छन्‌। गाउँमा।

धुर्तहरूले आफ्नै फोनमा हालेर

पसेन बज्यै -भन्छन्‌।

घर र छोरा

दुश्मन जस्तो भएको मनपर्दैन आमालाई।

गाउँ र छोरा

पराईजस्तो भएको पनि मनपर्दैन आमालाई।

आमालाई तर

टुमटुम पनि मनपर्दैन

पैसै नकमाएपनि

छोरा शहरमा भएको कुराकुन्नी केक्के दबाएर पनि हॉंसेरै सुनाउँछिन्‌।

मोट्टी बुहारी, भुक्कुल्ले नाती र दिनैपिच्छे बूढ़ो हुँदै गइरहेको छोरा

अनि इन्दिरा आवासको घर

अनि आमा

आमा।

आमासित डिजिटल संसार छैन

टिपिकल संसार छ

अनि संसार छ।

3.

जुन दिन नेटवर्क थिएन

त्यहीदिन घरमुनि पैह्रो गयो

फोन नै लागेन।

आमालाई पुर्‍यो पीरले।

आमाको पीरपनि विमार भइसकेको छ

सँधै ड्युटीमा लाग्दा।

कुन दिन नागा बस्छ कुन्नी त्यो।

सुनसानले आमालाई दिक्क पार्छ

त्यसबेला बज्नुपर्छ रिङटोन।

आमाले छानेको रिङटोन।

रिङटोन बज्न छोड़ेपछि केही पनि बज्दैन

यति सुनसान हुन्छ घर

आमा छैन जस्तो।

फोन गर है

घरिघरि केको डर हो फोनमा नै अह्राइबस्छिन्‌।

आमा नभएको घर नै हुँदैन

त्यसैकारण

छोरा शहरमा

आमा गाउँमा।

बीचमा

आमाको मोबाइल फोन।

4.

भन्न खोजेर पनि सकिनन्‌

टाउको दुखेको कुरा।

ससानो कुरा नभनेर घाउ नै भइसकेको छ।

अहिले आमाको मन पनि दुख्छ।

गाउँमा बिहे छ

पुरानो साड़ी छ

र छ त्यही गिलाससेटको सस्तो उपहार।

गाउँमा मरौ छ

छोराको महिना मरेको छैन।

गाउँको छिमेकीको छोराको बर्थडे पनि छ

आँटा सकिएको छ

राशिन दिएको छैन।

निम्नवर्गलाई लुट्‌न गाउँकै गुरूमाको बारीमा बसाइएको छ टावर।

आमा खुशी छन्‌।

फोन लाग्छ

सुन्दैन

पैसा काटिन्छ।

बल्लबल्ल फोन लाग्दा भन्छिन्‌

-मलाई त फोन नै गर्दैनस्‌ त।

5.

बारीको डल्ले खुर्सानी कसले टिपिदिएछन्‌।

बारीको घॉंस कसले काटिदिएछन्‌

एकछिन्‌ माथ्लो गाउँजॉंदा

उम्रँदै गरेको सागबारीमा

कसको कुखुराले भुत्भुते खेलेछन्‌।

आमालाई फोनमा अरू कुरा गर्न आउँदैन।

तल्लोघरको भाउजु कोसित भागिछन्‌।

बूढ़ोकन्ये हरीले बिहे गरेछन्‌।

राम्रो कुरा

गाउँमा स्कूलभवन बनिने भएछ।

त्यसैको निम्ति आमा गिटी कुट्‌न जॉंदैछिन्‌

खै, यो राम्रो कि नराम्रो कुरा।

बेलुकी फोनमा भनिन्‌

-साह्रै गलिएछ र दुइमग जॉंड़ खाएर अलिक आराम भो।

6.

आमाले हर्लिक्स मागिनन्‌

टनिक मागिन्‌

भनिन्‌-

यसपालि अलिक थपेर पठाइदे पैसा

वरिपरि बार लगाउनु पर्‍यो।

आमाले लगाएको बारले छोराछोरीलाई रोक्न सक्छ

अरूलाई पनि रोक्न सक्छ कि!

आमाले लगाएको बारले कसलाई सुरक्षा गर्छ

आमालाई?

कि

बदमास्‌हरूलाई?

बदमासी गर्न रोक्छ कि आमाको बारले।

सुरक्षाको अर्थ

आमाबाट नै खुल्छ।

एकदिन आमाले नै सुनाइन्‌

-शर्माबाउको टाउको काटेर बॉंसघारीमा फ्यॉंकिदिएछन्‌

त्यो पनि हाम्रै पार्टीको केटाहरूले।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।