फिक्का एउटै आकाश हेर्न अभ्यस्त
हाम्रा आँखाका गाँउहरू
डढेर खरानी भए
केवल एक घाम किरणले।
बाध्यतावश रोकिएको नाउझैं
बिसाउँछौं
खोजेर रहरझैं किनारहरू।
स्नायुहरू भएर कुदिबसेका छन्
निषेधाज्ञा र हुकूमका टिस्टाहरू।
हुरीले रातभरिमा
यो गाँउलाई, यो शहरलाई
कहीँको पनि छाडेको छैन-
हर साँझ कुनै निष्प्राण ढुङ्गामा
प्रेतझैं त्यही हुरीको आराधना हुन्छ।
नवविवाहित दुलहीको स्निग्ध स्यूँदो भरिनु भएर
जति कोरिए धर्साहरू सपनाका
उति धस्किए विपनाका छेउहरू।
बजाउन झिकेको हरेक पालो
चुँडिएकै भेटिन्छ
गिटारको कुनै न कुनै तार।
भूगोलैपछिको इतिहासमा
एक न एक पाइडपाइपरले
रित्याएको छ-छ गाँउ।
खुशीको कात्रो बेह्रेर बजार
आफ्नै स्वाभिमानको मलामी जान्छ
लाशलाई माटो दिन्छ
यो श्मशान दुनियाँमा।
युद्धका हाटहरूतिर बिक्री हुन्छ तातो रगत
र रित्ता नसाहरूमा इञ्जेक्ट गरिन्छ
पराजय र सम्झौताहरू।
हाम्रै मुटु र हड्डीहरूले बनाइएको बारुद
हाम्रै विवशताको गाँउमा पड्काइन्छ।
धुवाँ उडिरहेको
शताब्दीको अङ्ग-प्रत्यङ्गभरि
साँपझैं घस्रिन्छ
एउटा भयावह चिसो आभास।
विश्व बोक्दा-बोक्दा थाकेको हर्क्युलसलाई
आफ्नै ओजन पनि पहाड लाग्छ-
र धुलोपिठो पार्छु भन्छ
आफ्नै अस्तित्वलाई।
कानहरू एक पोका आवाजसम्म नछिर्ने
अँध्यारा प्वालहरूमा फेरिएका छन्
जहाँ गुँड हालेका छन् जङ्गली कमिलाहरूले।
छातीको टोड्कामा अण्डा पारेका छन् गिद्धहरूले।
सबै ‘ठिकै छ’ भन्दैछन्
जब केही पनि ठीकठाक छँदैछैन।
‘चुप भलो’ भनेर सुरक्षित ठान्नेहरूको
भलो नहुने पनि पक्कापक्की भइसकेको छ।
जर्जर जुनीहरू बोकेको
ऊँटको तिर्खा
मरूभूमिभरि
अप्राप्तिको चित्र कोरिन्छ।
पहिलो दिनदेखि नै हुल बाँधेर
तिर्खा मेट्न निस्कियौं आदिम गुफाहरूबाट
र
सब थोक गुमाइवरि
आज युगको यो सङ्घारमा निकम्मा साबित भयौं।
त्यस घुम्तीसम्म ल्याइपुऱ्यायौं
हामीले इतिहासलाई
ए सब थोक गुमाउने साथीहरू
जहाँबाट हामी फर्कियौं भने हारेर
मान्छेले कहिल्यै आफूलाई माफ गर्न सक्नेछैन।