19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ज्ञान उदास September 4, 2010, 11:40 am

कहिलेकाहीँ हिँड्न पनि साइत चाहिँदो रै'छ

कसो कसो बोल्न पनि साइत चाहिँदो रै'छ ।

सबैसँग सधैँभरि जिस्किरहने बानी

आँखाआँखा जुध्न पनि साइत चाहिँदो रै'छ ।

गाउँघरको समाज पनि कहिले काहीँ कस्तो

मनको फूल टिप्न पनि साइत चाहिँदो रै'छ ।

संसारमा देखेजति सबै आफ्नो भन्थेँ

तिनैसँग भेट्न पनि साइत चाहिँदो रै'छ ।

बनावटी मुस्कानमा बम हुनसक्छ

याद गर हाँस्न पनि साइत चाहिँदो रै'छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।