19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमीबिना

कविता दिपेन तामाङ September 5, 2010, 12:53 pm

अब त

बाँच्नै गाह्रो भएछ

तिमीबिना..!

आधुनिकीकरण तिम्रो रूप

बोली र चालले आफै

उठ्न-बस्न नसक्ने भएछु ।

त्यसैले

जिन्सको खल्तीमा

दङ्ग-दङ्ग गन्हाउने

तिम्रा ग्यालरी पेटका

पिक्चर-भिडियो र

एम.पी. थ्रीको सर्वस्व यातना बोकेर

बजार

गाउँ-बस्ती फनफनी घुमाउँदैछु।

हिजाज

नझस्काएसम्म, नब्यूँझाएसम्म

वीणमा लाठिएको साँप भाको छु

सातो हराएको मान्छे भाको छु।

सङ्घर्षमा

थोत्रे पत्र लेखनलाई पराजित गरि आएको तिमीलाई

बहभरिका

कानका जाली फुट्ने गरी

रातभर-दिनभर

सुनाएको प्रेमका कथाहरू

बिर्सन सक्छु कसरी !

तिम्रो आगमनले

जीवन परिधिभित्र

नपुंसकताको क्लिनिकमा

सय प्रतिशत ग्यारण्टीको साथ

हर्बलको काम गरेको छ।

अपरिचित सुन्दरीहरू

तिम्रो फ्री सिमकार्डको

म्यासेज् र बोली प्रवाहको भेलसँगै

बगेर आउँदैछन् कोठाभरि ! सडकभरि !!

अवसरवादी / सुविस्तावादी

भुक्तभोगीहरू

तिमी जस्तैहरूले गर्दा

नपुंसकताको सिँढी उक्लेर

यौन क्रीडामा डुबुल्की मार्दैछन्।

र .........त

डर छ मनभरि

कतै

हरण गरि लान्छन् कि तिमीलाई

अपरिचित बन्द कोठामा।

अनि...... त

तिम्रो पिक्सेल आँखाअघि

द्रौपतिहरू

बार नतर्कि जस्तै भएर

मिम्रो अङ्ग प्रत्यङ्गमा

औँला नचाई दिन्छन् कि !

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।