नसम्झ यहाँ खोलाको सुसेली गीत भनेर,
त्यो त प्रवाहको विरुद्ध ढुंगाको थप्पड जलकणलाई हो.
नसम्झ यो घर जहाँ तिमी छौ आफ्नो भनेर,
त्यो त तिम्रो विरुद्ध एक भ्रम र एक षडयन्त्र पो हो.
के खोलाको गीतमा जलकणहरुको मृत्यु छैन र?
घरको संस्कारमा पन्साई नसक्नु जाल माकुराको छैन र?
खोलाको गीत र सुसेलीमा-
प्रवाह र विरोधको युद्ध त हेरिदेउ,
घरको बचाईमा संस्कारले बेह्रेको-
असंस्कृत मान्छेलाई त सम्झाईदेउ.
घरको नियम दलदलमा भासिएको ए मान्छे,
नसम्झ तिमी बाँचेको अरुलाई थाहा छ भनेर.
त्यो त अरुको जीवन बोध भयो होला तिमीलाई.
तिमीलाई थाहा छ के?
आजकल यहाँ मायाहरु ‘शोकेश’-मा सजाएर राखिन्छन्,
काँचहरुमा बन्द गरेर सुरक्षाका भ्रममा पालिन्छन्.
नरमाउनु तिमी यहाँ,
तिम्रा मायाहरु काँचभित्र पो छन्...
सानो भुइँचालो अर्थात् ठूलो हल्ला-
सहन सक्दैन पातलो काँच,
आफूलाई छरपस्टयाउँछ त्यो अनि...
वाष्पीभूत बन्छन् तिमीले दिएका मायाहरु.
यसैले नसम्झ मान्छे यहाँ तिम्रो कोही छ भनेर,
त्यो त नहुनुको यथार्थमा तिम्रो डरमात्र हो.
त्यसैले त तिम्रो प्रितमसँग नाँच्ने इच्छाहरु-
केवल, केवल अनि केवल,
रहरमात्रै हो.
खोलाको सुसेलीमा एक प्रयोगमात्रै हो…|
गान्तोक, सिक्किम