19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल संगम सापकोटा September 8, 2010, 10:05 am

बर्षदिनको तीजमा म माईत जान्छु बजै

जान पाए आँफैलाई भाग्यमानी ठान्छु बजै

कुकुर पनि प्यारो हुन्छ भन्छन माईतीको

अनदीको मीठो दर आमासंगै खान्छु बजै

घाँस दाउरा काट्छु बरु तीन दिनलाई पुग्ने अरु

त्यो टौवाको पराल पनि पुग्ने जति तान्छु बजै

घरका कुरा लाउँछे कि गीत बनाइ गाउँछे कि

नसोच्नुहोला हजुर मनमा गाँठो बान्छु बजै

पन्चमीको भोलीपल्ट आउनेछु साँझपख

आएपछि जे भन्नुस धौ नमानि मान्छु बजै

केही आशा राख्दिन म नयाँ कुरा माग्दिन म

जान पाउँ माईत बरु पुरानै सारी छान्छु बरु

बारीको कान्लामुनि फल्या रैछ काँकरी त्यो

विदा पाए माईतीमा त्यै कोसेली लान्छु बजै

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।