19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो गाउँको बाटो

कविता रुपेश राई September 9, 2010, 2:39 pm

बर्खा लाग्छ... फेरि हिउँद...

क्रमशः फुल्ने, फल्ने, फक्रने अनि फलाउने

क्रमहरू अन्योलमा पर्छ, प्रकृति।

मेरो गाउँको बाटो...

हिलै छ, कताकता चुहेको छ। कहीँकहीँ फाटोको छ।

दर्जी अचेल गाउँमा छैन। फाटेको सिउनलाई।

एमसी अचेल दोकानमा छैन। चुहेको टाल्नलाई।

अनि...

यो बाटो उहिले पनि यस्तै थियो रे...

अहिले पनि यस्तै छ। परिचयहीन। परिचय खोज्दा खोज्दा

यो बाटोले त्यही खिही सकेको चप्पल

त्यही गम्बुट र पानी जुत्ताको आवाज सुनाउछ

आधारातमा, कहिले बिहानै ठिहीमा।

कहिले त्यही आवाज हिस्सी परेर

गन्गनाउदै डोको बिसाउछ, बिड़ी खानलाई

गरीबि डड़ाएर। तरै पनि त्यो बाटोको

खोकन्दी साह्रै गन्हाउछ, पर्फ्युम नपाएर

डेनिमहरूमा घोलिनु नपाएर।

यसै र यो बाटोको पनि कति

इच्छा होला! नाम्लोमै तुहेर गए...

कति सपना होला! डोकोमै रित्तिएर गए...

यो मेरो गाउँको बाटो...!!

मैसोर, कर्नाटक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।