म हिँडदै थिएँ, बजारको पेटीबाट ।
रक्सी पसलेले मतिर हेर्यो र मनमनै कामना गर्यो यसले पुरा बोतल रक्सी किने हुन्थ्यो नि !
अलिपर पगेपछि मासु पसलेले मतर्फ हेर्यो र आशा गर्यो दुईचार किलो मासु किनेर बहुनी गरेपनि हुन्थ्यो नि !
मैले बाटो काटेँ ।
औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो - यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि !
अलिपर पुगेँ । कानुनी केन्द्रमा बसेको मान्छेले मतिर हेरेर आशा गर्यो यसलाई ठ्लो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि !
म बाँयातर्फ लागें ।
ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उले मलाई हेरेर कल्पना गरी यसलाई मुर्गा बनाउन पाए पनि हुन्थ्यो नि !
म दाँयातर्फ मोडिएँ ।
होटेलवाला साहुले मलाई हेरेर इच्छाप्रकट गर्यो - यसले मेरो होटेलमा टन्न मासु र भात खाएपनि हुन्थ्यो नि !
उसको कामनाले दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चकारी भयो, पुलकित भयो अनि तत्काली दुर्घटनाग्रस्त भयो किनकि मसँग एक रुपियाँ पनि थिएन ।