17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छाती

कविता मनोज बोगटी September 14, 2010, 9:41 pm

छातीको मोहर लागेको ईमानदारिताको दाम हुँदैन।

बुझ्यौ?

दाम हुँदैन।

ईमानदारिता किन्न सकिन्न

तर बेच्न सकिन्छ।

किन्नै नसकिने ईमानदारिता बेच्न आउने कम्पनीका सेल्सम्यानहरू

छ्‌यापछ्‌याप्ति छन्‌ गाउँभरि।

दैलोमा नै उभिएर भन्छन्‌,

यसको गणवत्ता सोझै अनि सस्तोमा ग्राहकमा पुगोस्‌ भनेर मिडलम्यान राखेनौं

यसकारण सस्तो छ। किन्नुस्‌।

घरघरको यो सेवा कम्पनीको पोलिशी हो।

बजारमा पाइन्न।

हर्कबहादुरले त्यो पनि किन्यो

सबै छक्क परेका छन्‌।

यत्रो महङ्गो ईमानदारिता कसरी किन्यो त्यसले?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।