18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अक्षर र प्रेम

कविता कृष्ण बजगाईं September 15, 2010, 11:38 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

कलिला चिम्रा उसका आँखामा

जब तृष्णा देखे अक्षरहरुको

निरक्षर उसका आमा बुबाले

घोटी घोटी पिलाए

उनीहरुलाई कण्ठस्थ बाह्रखरी अक्षरहरु ।

झोलामा अक्षरको भारी बोकेर

हिँड्न सक्ने भयो ऊ

चपाएर निल्न सक्छ भन्ने ठाने सबैले

अनि कोच्याई कोच्याई खुवाए उसलाई

शिक्षकले कितावका अक्षरहरु ।

केही भन्नै परेन

अलि ठूलो भएपछि

आफै चाटन् थाल्यो

प्रोफेसरका पुराना नोटका अक्षरहरु ।

हेर्दा हेर्दै ऊ

अक्षरहरुसँगसँगै जवान हुँदै गयो

र अक्षरका छिप्पट शब्दहरुसँगै

दिनरात खेल्न थाल्यो ।

उसको दैनिकी–

रातभर

अक्षरका लिपिबद्ध ठेलीहरु

सिरानी लाएर सुत्नु

दिनभर

अक्षरकै रोहवरमा

अध्यन कक्ष र पुस्तकालयमा

आफूले आफैलाई

घण्टौ कैद गर्नु ।

अचानक एक दिन

अक्षरको अस्त्र चलाएको आरोपमा

फतवा जारी भयो उसको नाममा

अर्को दिन

पक्राउ पुर्जी जारी गरे अक्षरहरुले ।

तर,

केही दिनमै

अक्षरकै जुलुसहरुले नै मुक्त गर्यो उसलाई ।

फेरी एक दिन अक्षरहरुको बारेमा नै लेख्यो

थुप्रै लेख्यो

र अन्तिम वाक्य लेख्यो–

“म अक्षरहरुलाई माया गर्छु” – कवि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।