14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अचेल साइरन बजेको छैन

कविता प्रवीण खालिङ September 17, 2010, 5:39 am

आजभोलि

आमाहरू वोतलमा फिक्का चिया भर्दैनन्

मुखको गाँस घाँटीमै राखेर

संघर्षको तयारीमा लागेका छैनन्

अचेल साइरन बजेको छैन।

कुनै हप्ता

नागा हुने त्रास छैन

हक छुट्टीको लोभ पनि छैन

मुनाहरू त्यस्सै हुर्किन्दैछ

सुस्ताएरै विहान बित्छ,

टोलाएरै दिन

गोलाई टारमा तौलाईमा भेला हुनु पर्दैन

ठीक्का नपुगेर दुःखी हुनु पर्दैन

अचेल घुमौरी खेल्ने निँहु छैन

राशिन थाप्नुको हतार छैन

उनीहरूसित त्यस्तो केही छैन

बिघा लागेको छैन

त्यसैले अचेलल साइरन बजेको छैन।

(छैन र नै धैरे छ, नहुनु जस्तो साह्रो के पो छ र ?

सासकष्ट, जिन्दगीको अवधी भन्दा लामो छ।)

नानीहरू स्कूल गरेहेकै छन्

धुराभरि केटाहरू रङ्गालिन्दै छन्

छोराहरू क्रिकेटको ब्याट च्यापेर घुमिरहेकै छन्

कसैलाई केही भएको छैन

यत्ति हो अचेल साइरन बजेको छैन

साइरन के बजेको छैन भन्नु

प्रत्येक पहरमा बज्ने हुकुम बजेको छैन।

तर

अहिले साइरन नबज्दा

गाँउको हावा स्वच्छ भएको छ

प्रत्येक श्वास-प्रश्वासमा ह्वास्स चल्ने

शोषणको हुरी छैन

मान्छेहरु काम विहिन भएरै पनि

बाँचिदिन खोज्दैछन्

मालिकै बिना पनि हाँसिदिने सोच्दैछन्

गाँउमा अभाव छ

तर चेतनाको प्रभाव पनि छ

यत्ति हो अचेल काम लागेको छैन

घानी चलेको छैन

टाइम-टाइमा सातो खाने “त्यो” बजेको छैन

साँच्चै अचेल साइरन बजेको छैन।

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।