छोटो समयमै कथात्मकसन्तुष्टि दिने उद्देश्य राखेर लघुआकारका कथा नै लेख्ने भनेर लेखिएका छोटा मीठा कथाहरूलाई नै लघुकथा भनिन्छ । यस विधाको सिर्जना छुट्टै विधागत पहिचान र छुट्टै अस्तित्वबाट आरम्भ नभई आधुनिक कथा लेखनकै प्रयत्न र सूक्ष्म आख्यानको सोचबाट विकसित हुँदैआएको मानिन्छ । यस विधाको प्रयोग गर्ने निकै सर्जकहरू लागीपरेका देखिन्छन् ।
आजको विद्युतीय सञ्चारमाध्यमको तीव्रतम विकास घटनासँगै बदलिएको मानविय जीवनशैली, समयको अभाव र अस्तव्यस्त जीवनका बीचमा पाठकको रुचि एवम् सौन्दर्य अनुभूतिसँग एकाकार हुने विशेषगुण भएकै कारणबाट अहिले लघुकथाको लोकप्रियता निकै बढेको अनुमान लगाउन सकिन्छ ।
लघु आकारमा लेखिएका छोटा तिखा, चोटीला र कथाहरूलाई नै हामीले लघुकथा भनेर बुझ्ने गर्दछौँ । यस विधामा निरन्तर रूपमा कलम चलाउने स्रष्टाहरू निकै कम रहे पनि आज नेपाली साहित्यमा यस विधाले निकै ठूलो फड्को मार्न सफल रहेको छ । केही साहित्यकारहरूले भने यस विधालाई मुल विधा बनाएर निरन्तर लागिरहेका छन् । यसले गर्दा नै हालका दशकमा लघुकथा लेखनको सफलता चुलिइरहेको मान्नुपर्छ । यसै माँझमा दुई दशकदेखि नेपाली साहित्यको लघुकथा विधालाई मुल विधा बनाएर निरन्तर कलम चलाई रहेका युवा स्रष्टा डा.रवीन्द्र समिरले आफ्नो पाँचौ लघुकथा सङ्ग्रह ‘अर्जुनदृष्टि’ प्रकाशित गरेका छन् । पेशाले चिकित्सक अत्यन्त व्यस्त रहनुपर्ने तैपनि साहित्यमा निकै सक्रिय रूपमा लागिरहेका छन् ।
लगभग ओझेलमा परेको यस विधालाई प्रमुख विधाको रूपमा कलम चलाएर केहि स्रष्टाहरूले यस विधालाई बिउँझाएका छन् । ५०को दशकमा यो विधा निकै झाँङ्एिको छ । आजको व्यस्त परिवेशमा मानिसहरूले लामा र भद्दा रचनाहरू पढ्नको लागि समय निकाल्न कठिन पर्दछ । यसले गर्दा पनि यो विधा फस्टाउँदै गएको हो । यसै सिलसिलामा समिरले केहि पुराना र केहि नयाँ लघुकथाहरूलाई सम्मिश्रण गरेर ‘अर्जुनदृष्टि’ लघुकथा सङ्ग्रह बजारमा ल्याएका छन् । यस सङ्ग्रहमा एक सय आठ ओटा चोटिला लघुकथाहरू रहेका छन् ।
युवावर्ष मोती पुरस्कारबाट भर्खरै सम्मानित भएका युवा साहित्यकार समिरको साहित्यिक यात्रा पनि निकै सक्रिय रूपमा देखिएको छ । समिरका यी लघुकथाहरूले वर्तमान समयले दिएका उपहारहरूलाई बल्झाउने कोशिस गरेका छन् । हराउँदै गएको मानवताप्रति प्रहार गरेका छन् । हैकमवादप्रतिको बाहुल्यताप्रति प्रहार गरेका छन् । पुरुषवादी चिन्तनले ग्रसित बनाएको हाम्रो समाजको बनोटप्रति क्रुद्ध बनेका छन् । वर्तमान राजनीतिप्रति असन्तोष व्यक्त गरेका छन्, लघुकथाका माध्यमबाट । मान्छे्को मान्छेप्रति हराउँदै गएको विश्वासप्रति सजग गराउन खोज्दैछन् । बढ्दै गएको विलासी जीवनले मान्छेको अस्तित्वमाथि संकट थपिएकोमा चिन्तित बनेका छन् । विदेशी संस्कृतिको नक्कलले आफ्नो संस्कृती जोगाउन हम्मे पर्दै गएकोमा चिन्तित छन् लेखक । राजनीतिका रूपमा अजकल भैरहेको विकृतिप्रति तिखा प्रहार गरिएका समिरका यी लघुकथाहरू निकै मार्मिक छन् । जीवन र जगतमा अन्तर्निहित विकृति, विसंगति, द्वैधचरित्र, मानवीय मूल्य मान्यतामा देखिएका अपचलन राजनीतिक र सामाजिक विडम्वनाहरूलाई लघुकथामार्फत उजागर गरेका छन् समिरले । मान्छेद्वारा मान्छेप्रति गरिने भेदभावले समाजमा असन्तोषका काला वादलहरू उब्जिएकाले त्यसलाई निर्मूल पार्नू पर्ने धारणहरू पनि उनका लघुकथामा भेट्न सकिन्छ । आशावादी भएर समाजका विकृतिहरूलाई निर्मुल पारेर एउटा सुन्दर समाजको निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नको लागि यी कथाहरू सक्षम रहेका छन् । राजनीतिका नाममा बढिरहेका विकृतिहरूले लोकतन्त्र सङ्कटमा पर्दै गएको र अराजकवादीहरूको बाहुल्यता बढ्दै गएकोमा चिन्तित लेखक शहिदको अपमान भैरहेको निक्र्योल निकाल्छन् लघुकथा मार्फत । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकोले ऊ यो समाजबाट अलग हुन सक्दैन । यहि समाजमा रहेका सङ्गत विसङ्गत सबै कुराहरूसँग पौंठाजोरी खेल्नु नै पर्छ । कोही यसलाई बुझेर पनि बुझ पचाउँछन्, तर एउटा सर्जक भएको नाताले उसले सबैलाई लेखाजोखा गरिरहेको हुन्छ । त्यही समाजमा नराम्रा कुराहरूलाई निर्मूल पार्ने प्रयत्न गरिरहेको हुन्छ, साहित्यका विविध विधाहरू मार्फत । यसले गर्दा एउटा लेखकको दृष्टि आम मानिसहरूकोभन्दा पृथक हुन्छ, ‘अजुनदृष्टि’ जस्तै । यसैको परिणाम हो डा.समिरको यो नवीन कृति ‘अजुनदृष्टि’ । साहित्य नै हो जसले समाजलाई सहि दिशानिर्देश गर्न सक्छ ।
डा.समिरले लघुकथा विधानै रोजे, र सफल पनि भएका छन् । लघुकथासँगै नियात्रा विधामा पनि सफल रहेका समिरको ‘गे्रटवालको गे्रट अनुभूति’(नियात्रासङ्ग्रह,२०६६) पनि निकै चर्चित रहेको छ । रत्न प्रकाशनले प्रकाशन गरेको ‘अर्जुनदृष्टि’ लघुकथा सङ्ग्रह पठनीय र सङ्ग्रहनीय रहेको छ ।