19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म अझै दुख्दैछु

कविता जेकब खालिङ September 22, 2010, 10:06 am

आज २६/११/२००९

म मुर्छा परेको एक बर्ष भएछ ,

ठीक यही दिन हो-

पोहर साल स्वास फेर्ने मेरो मुटुमा नै घात परेको थियो

आजसम्म घाउ निको नभएर म दुखी रहेको छु |

म होटल ताजमहलमा रगतपच्छे भएको थिएँ,

म नरीमन हाउसमा गोलीले छिया-छिया भएको थिएँ,

म कामा हस्पीटलमा कोमामा पुगेको थिएँ,

ई, हेर, गोलीले छेंडेको मेरो मुटु

अझैँ पनि तातो रगत तप-तप चुहिंदैछ,

बैसाखीको सहारामा गाउ-घर घुम्दैछु,

अनेक उपचार गरे तर निको नहुने गाड़े घाउ बोकेर

म जिन्दगीको सुस्केराहरु बाँची रहेकोछु |

मैले मेरो आँखाले देखेको हो,

हामीमाथि त्यसरी गोली चलाउने-

बन्दुक बोकेका व्यक्तिहरु हामी जस्तै थिए ,

हाम्रो जस्तै शरीर थियो,

नाक, कान, मुख, हात-खुट्टा, आँखा अनि-

उनीहरुको बोलीको आवाज पनि हाम्रो जस्तै थियो|

तर भिन्नता बस यति थियो-

उनीहरु जस्तै हामी मान्छेहरुप्रति

तिनीहरुले गोली चलाई रहेका थिए|

गोली खाएर बेहोश नभइन्जेल मैले सोचें-

उनीहरुलाई जन्म दिने बाबु र आमा

उनीहरुलाई हुर्काउने र खेलाउने दिदी-बहिनीहरु,

उनीहरुले घरमा छोडी राखेको दाज्यु – भाई र श्रीमती

अनि उनीहरु हुर्किएको शहर-बजार , गाउँ-समाज

सबै –सबै त हाम्रो जस्तै थिए होलान्

तर भिन्नता बस यति थियो-

उनीहरुले आफू जस्तै हामी मान्छेहरुलाई मारी रहेका थिए|

मलाई गोलि हान्नेको-

दाँत नै थियो , दाह्रा थिएन

त्यसको केश नै थियो, सिंग थिएन

त्यसको अनुहार सुन्दर थियो – राक्षस जस्तो थिएन

त्यसको बोली मधुर थियो – मेघ जस्तो गर्जेन त्यो

तर भिन्नता बस यति थियो

त्यसले उ जस्तै सुन्दर जीवनहरुलाई हत्या गरी रहेको थियो|

मैले सुन्दै आएको आतंकवादी,

मैले पढ्दै आएको आतंकवादी,

मान्छेकै सुन्दर आकृतिभित्र कति भयानक रहेछ –

मैले थाह पाएँ,

त्यो त रक्त-पिसाच जस्तो

मान्छेको रगत पिएर तृष्णा मेट्ने

मान्छेको मासु खाएर भोक मेट्ने

मान्छेको दर्दनाक मृत्युमा अट्टाहास हाँस्ने,

नर्कमा पनि नअटाउने महाराक्षस रहेछ|

यिनीहरुले मान्छेको रगत बहाएर स्वर्ग पुग्ने बखान गर्दा रहेछन्,

तर मान्छेको रगत बगाउनेहरु स्वर्ग नपुग्ने सत्य लुकाउँदा रहेछन्|

यिनीहरुले बन्दुकको गोलीले विश्व जित्ने सपना देख्दा रहेछन्,

तर प्रेमले मात्र विश्व जित्ने सत्यदेखि टाडो भाग्दा रहेछन्|

यिनीहरु घृणामा बाँच्छन् र घृणा नै रोप्छन्-

अनि घृणा नै कटनी गर्दा रहेछन्,

यिनीहरु प्रेमदेखि भाग्छन्, प्रेमदेखि डराउँछन्-

अनि प्रेमबिना जीवन निरर्थक बाँच्दा रहेछन्,

मान्छेको रगत चुसेको मुखले लाज पचाउन

इश्वरको नाम बदनाम गर्दा रहेछन्|

स्वत्रंतताको कुरा गरेर तर आफ्नै मनको कठोरताभित्र

आफै परतन्त्र बाँच्दा रहेछन्|

हो, आज म दुखी रहेको छु -

गोलीले छेंडेको मेरो घाउले भन्दा

यिनीहरुको जीवनको दुर्दशा देखेर म धेर आहत छु,

यी आतंकवादीहरुको गोलीहरुसंग भन्दा

यिनीहरुको जीवनको निरर्थक बचाईसंग म त्रसित छु|

यिनीहरुको एउटा गोली खाएर एउटा मृत्यु मर्न म तयार छु,

एक जनालाई मारेर यिनीहरु आफै कतिपल्ट मर्ने ?

उफ!! यिनीहरुले दिनहूँ मरी रहेको मृत्यु देखेर म विचलित छु,

हो, २६/११ – म यसरी आज मेरो घाउभन्दा बेसी दुख्ने भएर

उनीहरुको जीवन दुखी रहेकोछु |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।