आज २६/११/२००९
म मुर्छा परेको एक बर्ष भएछ ,
ठीक यही दिन हो-
पोहर साल स्वास फेर्ने मेरो मुटुमा नै घात परेको थियो
आजसम्म घाउ निको नभएर म दुखी रहेको छु |
म होटल ताजमहलमा रगतपच्छे भएको थिएँ,
म नरीमन हाउसमा गोलीले छिया-छिया भएको थिएँ,
म कामा हस्पीटलमा कोमामा पुगेको थिएँ,
ई, हेर, गोलीले छेंडेको मेरो मुटु
अझैँ पनि तातो रगत तप-तप चुहिंदैछ,
बैसाखीको सहारामा गाउ-घर घुम्दैछु,
अनेक उपचार गरे तर निको नहुने गाड़े घाउ बोकेर
म जिन्दगीको सुस्केराहरु बाँची रहेकोछु |
मैले मेरो आँखाले देखेको हो,
हामीमाथि त्यसरी गोली चलाउने-
बन्दुक बोकेका व्यक्तिहरु हामी जस्तै थिए ,
हाम्रो जस्तै शरीर थियो,
नाक, कान, मुख, हात-खुट्टा, आँखा अनि-
उनीहरुको बोलीको आवाज पनि हाम्रो जस्तै थियो|
तर भिन्नता बस यति थियो-
उनीहरु जस्तै हामी मान्छेहरुप्रति
तिनीहरुले गोली चलाई रहेका थिए|
गोली खाएर बेहोश नभइन्जेल मैले सोचें-
उनीहरुलाई जन्म दिने बाबु र आमा
उनीहरुलाई हुर्काउने र खेलाउने दिदी-बहिनीहरु,
उनीहरुले घरमा छोडी राखेको दाज्यु – भाई र श्रीमती
अनि उनीहरु हुर्किएको शहर-बजार , गाउँ-समाज
सबै –सबै त हाम्रो जस्तै थिए होलान्
तर भिन्नता बस यति थियो-
उनीहरुले आफू जस्तै हामी मान्छेहरुलाई मारी रहेका थिए|
मलाई गोलि हान्नेको-
दाँत नै थियो , दाह्रा थिएन
त्यसको केश नै थियो, सिंग थिएन
त्यसको अनुहार सुन्दर थियो – राक्षस जस्तो थिएन
त्यसको बोली मधुर थियो – मेघ जस्तो गर्जेन त्यो
तर भिन्नता बस यति थियो
त्यसले उ जस्तै सुन्दर जीवनहरुलाई हत्या गरी रहेको थियो|
मैले सुन्दै आएको आतंकवादी,
मैले पढ्दै आएको आतंकवादी,
मान्छेकै सुन्दर आकृतिभित्र कति भयानक रहेछ –
मैले थाह पाएँ,
त्यो त रक्त-पिसाच जस्तो
मान्छेको रगत पिएर तृष्णा मेट्ने
मान्छेको मासु खाएर भोक मेट्ने
मान्छेको दर्दनाक मृत्युमा अट्टाहास हाँस्ने,
नर्कमा पनि नअटाउने महाराक्षस रहेछ|
यिनीहरुले मान्छेको रगत बहाएर स्वर्ग पुग्ने बखान गर्दा रहेछन्,
तर मान्छेको रगत बगाउनेहरु स्वर्ग नपुग्ने सत्य लुकाउँदा रहेछन्|
यिनीहरुले बन्दुकको गोलीले विश्व जित्ने सपना देख्दा रहेछन्,
तर प्रेमले मात्र विश्व जित्ने सत्यदेखि टाडो भाग्दा रहेछन्|
यिनीहरु घृणामा बाँच्छन् र घृणा नै रोप्छन्-
अनि घृणा नै कटनी गर्दा रहेछन्,
यिनीहरु प्रेमदेखि भाग्छन्, प्रेमदेखि डराउँछन्-
अनि प्रेमबिना जीवन निरर्थक बाँच्दा रहेछन्,
मान्छेको रगत चुसेको मुखले लाज पचाउन
इश्वरको नाम बदनाम गर्दा रहेछन्|
स्वत्रंतताको कुरा गरेर तर आफ्नै मनको कठोरताभित्र
आफै परतन्त्र बाँच्दा रहेछन्|
हो, आज म दुखी रहेको छु -
गोलीले छेंडेको मेरो घाउले भन्दा
यिनीहरुको जीवनको दुर्दशा देखेर म धेर आहत छु,
यी आतंकवादीहरुको गोलीहरुसंग भन्दा
यिनीहरुको जीवनको निरर्थक बचाईसंग म त्रसित छु|
यिनीहरुको एउटा गोली खाएर एउटा मृत्यु मर्न म तयार छु,
एक जनालाई मारेर यिनीहरु आफै कतिपल्ट मर्ने ?
उफ!! यिनीहरुले दिनहूँ मरी रहेको मृत्यु देखेर म विचलित छु,
हो, २६/११ – म यसरी आज मेरो घाउभन्दा बेसी दुख्ने भएर
उनीहरुको जीवन दुखी रहेकोछु |